
नेकपा (एमाले) अध्यक्ष केपी ओलीबाट सोमबार राति अन्तर्राष्ट्रिय विमानस्थलको पत्रकार सम्मेलनमा ‘नयाँ पत्रिका’माथिको आरोपपूर्ण अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । देशको दोस्रो ठूलो राजनीतिक दलका अध्यक्षको अभिव्यक्तिमा विवेक, मर्यादा र सूचनाको अभाव देखेर हामी चिन्तित छौँ ।
गत बिहीबार प्रकाशित ‘भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको करिब सय केजी सुन ट्याक्सीबाट बरामद’ शीर्षक समाचारमा पटक–पटक सुन तस्करीमा जोडिएका विवादास्पद दीपक मलहोत्रा अनुसन्धानको दायरामा भएको उल्लेख छ । तर, त्यसमा न ओलीको कुनै तस्बिर छ, न नाम । त्यसमा जम्मा मलहोत्रा अनुसन्धानमा भएको उल्लेख छ, आरोप छैन ।
त्यो समाचारमा ओलीको आक्रोश, आरोप र गाली–गलौजले मलहोत्रासँग उनको अतिरिक्त प्रेम त देखिएला, तर राजनीतिक विवेक र मर्यादा देखिँदैन । अमूक पार्टीसँग जोडेर देशकै लोकप्रिय दैनिकलाई उनले लगाएको लाञ्छना पत्रिकालाई होइन, कतै न कतै उनैतिर फर्किन सक्छ । हामी ओलीको भाषा त प्रयोग गर्न सक्दैनौँ, तर यत्ति भन्न सक्छौँ– नेताहरूले तस्करहरूका लागि भन्दा देशका लागि केही गर्छौ“ भन्नेहरूका लागि आधा उभिइदिए साँच्चिकै फरक पर्ने थियो, तर तिनले न चन्दा उठाउन सक्छन्, न नेता पाल्न सक्छन् ।
३३ किलो सुन तस्करी प्रकरणबाट मलहोत्रा कसरी र किन जोगिए ? पूर्णपाठ आउन बाँकी नै छ र ओलीको आक्रोशबाट सजिलै बुझ्न सकिन्छ ।
हामी माननीय ओलीलाई आफ्ना आरोप प्रमाणित गर्न चुनौती दिन्छौँ । लाखौँ मान्छे सहभागी भएको, हजारौँले बलिदान दिएको आन्दोलन तस्करहरूको प्रतिरक्षामा नसिध्याउन विनम्रतापूर्वक अनुरोध गर्दछौँ । यो देश उहाँको पार्टीजस्तो पनि छैन, जहाँ कसैले प्रश्न उठाउन नसकोस् । संगत तीसँग गर्नोस्, जोसँग सार्वजनिक प्रश्न नउठोस् ।
देशको दोस्रो ठूलो दल र त्यसको निरंकुश अध्यक्ष नभएको भए हामी यो सम्पादकीय टिप्पणी लेख्दैनथ्यौँ । राजनीतिमा सामान्य आरोप–प्रत्यारोप र त्यसका लागि सहिदको खोजी सामान्य नियम हुन् । तर, हामी अध्यक्ष ओलीलाई यत्ति भन्न चाहन्छौँ– तपाईंको राजनीतिका लागि राजनीतिबाहिरका सहिदको खोजी नगर्नुस् । दीपक मलहोत्रालाई माया गरिरहनुहोस्, तर त्यसका लागि हामीलाई आरोपित नगर्नुहोस् । तस्करहरूप्रति यत्ति नाङ्गो प्रेम आफ्ना कार्यकर्तालाई कतै दुख्ला भन्ने विवेक प्रयोग गरिदिनोस् ।