१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ७ आइतबार
  • Saturday, 10 May, 2025
अपूर्वानन्द
२o८o श्रावण ७ आइतबार १o:o५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मणिपुर हिंसा र मोदीको छल 

Read Time : > 2 मिनेट
अपूर्वानन्द
नयाँ पत्रिका
२o८o श्रावण ७ आइतबार १o:o५:oo

मोदी सत्तामा रहिरहनु भनेको मनुष्यत्वका लागि जे आवश्यक पर्ने हो, ती सबैको हत्या गर्न दिनु हो

प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एकपटक आफूले अभ्यास गर्दै आएको निच राजनीतिको प्रदर्शन गरेका छन् । मणिपुरमा भइरहेको बहुसंख्यकवादी हिंसामा मोदीले आफ्नो मौनता तोडेका छन् भन्नु सर्वथा गलत हुन जान्छ । उनले वास्तवमा फोहोरी प्रतिक्रिया मात्र जनाएका छन्, जहाँ उनले राजनीतिक वक्रोक्ति (डग ह्विसल) का माध्यमबाट विपक्षी दललाई निसाना बनाएका छन् र यी दल शासित राज्यमा यौनहिंसाविरुद्ध कुनै कारबाही गरिएको छैन भन्दै आफ्ना अनुचरलाई उक्साएका छन् । उनले आफ्ना समर्थकलाई मणिपुरमा हिंसा भएकै छैन भन्ने पारिदिएका छन् वा हिंसा भए पनि त्यसमा कुनै ग्लानि वा पश्चात्ताप महसुस गर्नुहुन्न भन्ने पारिदिएका छन् । बरु उनले समर्थकलाई विपक्षीमाथि धाबा बोल्न उक्साएका छन् । 

मोदीको प्रतिक्रियापछि भारतीय जनता पार्टी (भाजपा) का नेता र उनका समाजिक सञ्जालका सेनामेनाले कांग्रेसका नेतामाथि आक्रमण गर्न थालेका छन् । यी नेता र सेनामेनाले कांग्रेस शासित राज्यमा महिलामाथि हुने हिंसामा कांग्रेस नेता किन नबोलेको भन्दै आक्रमण गरिरहेका छन् । यो आक्रमण त्यतिवेला भइरहेको छ, जब भाजपा शासित राज्य मणिपुरमा विश्वलाई नै स्तब्ध पार्ने गरी कुकी समुदायका दुईजना महिलामाथि यौनहिंसा भएको भिडियो सतहमा आएको छ । 

अहिले मणिपुरमा कुकी समुदायले व्यहोरिरहेको तीन महिनादेखिको बहुसंख्यकवादी हिंसालाई लुकाउने प्रयास गरिँदै छ र यसलाई महिला हिंसामा मात्रै सीमित गर्न खोजिँदै छ । महिलाविरुद्ध हुने हिंसा भारतमा मात्रै होइन, विश्वकै सबै हिस्सामा देख्न सकिन्छ । तर, मणिपुर मामिला महिला हिंसामा मात्रै सीमित छैन । मणिपुरमा भिडको एक जत्थाले दुई कुकी महिलालाई निर्वस्त्र पार्दै र लुछ्दै सडकमा सरेआम हिँडाइएको तीन महिना पुरानो घटना भिडियोका रूपमा बाहिरिएको छ । पहिलो प्रहरी उजुरी (एफआइआर) मा सो घटनामा तीनजना पीडित महिला रहेको जनाइएको छ । यो भिडियोले मानिसलाई विचलित बनाएको थियो । यसले स्वभावतः स्तब्धता र क्रुद्धताको सार्वजनिक प्रतिक्रिया पनि निम्त्यायो । तर, के हाम्रा प्रधानमन्त्री त्यसरी नै विचलित, स्तब्ध एवं क्रुद्ध भए ? वा मणिपुरका मुख्यमन्त्रीले यस्तै प्रतिक्रिया जनाए ? वा कर्णाटक चुनावका वेला तीन रात मणिपुरमा काटेका केन्द्रीय गृहमन्त्रीले यस्तै प्रतिक्रिया जनाए ? के हामी सर्वसाधारणले झैँ यी नेताले यो घटनाबारे भिडियोबाट मात्रै जानकारी पाएका हुन् वा कुकी समुदायमाथि भइरहेको हिंसाबारे बेखबर थिए ? यदि यसो हो भने हामीले केन्द्र र राज्य सरकारको औचित्यबारे प्रश्न गर्नुपर्छ । मणिपुरमा भएको महिलाविरुद्धको हिंसामा प्रहरी र राष्ट्रिय महिला आयोगमा गरिएको उजुरीबारे यी नेतालाई राम्रैसँग जानकारी थियो । यसले हिंस्रक मेती समुदायको समर्थनमा बनेका मणिपुरका मुख्यमन्त्रीले सक्रियतासाथ बहुसंख्यकवादी हिंसालाई प्रोत्साहन गरेका थिए र अहिले पनि त्यसलाई जारी नै राखेका छन् भन्ने प्रस्ट हुन्छ । 

भिडियो सतहमा आएपछिको भाषणमा मुस्कुराउँदै प्रधानमन्त्री मोदी साउन महिनाको बखान गरिरहेका थिए र युवालाई डिजिटल भारतसँग जोड्ने विषयमा बोलिरहेका थिए । भाषणको अन्त्यमा उनले मणिपुर हिंसाबारे छुस्स बोलेका थिए । यसले मुलुकलाई नै गम्भीर रूपमा असर पारिरहेको र मुलुकको बदनामी गरिरहेको मुद्दामा मोदीको उपेक्षाभाव जनाउँथ्यो । मोदीको भाषणले अहंकार र आत्मविश्वासको भावनालाई झल्काइरहेको थियो किनभने उनी आफुले मतदाताका भावनालाई सफलतापूर्वक परिवर्तन गरेर आफ्ना कपटी र निच कामलाई अँगाल्ने बनाएको छु भन्नेमा विश्वास गर्छन् । मणिपुरमा हिंसाका चपेटामा परेका महिला कुकी थिए र आक्रमणकर्ता मेती समुदायका थिए । यी महिलाले व्यहोरेको यौनहिंसा राज्यको परोक्ष समर्थनमा बहुसंख्यक मेती समुदायले अल्पसंख्यक कुकी समुदायमाथि गरेको बहुसंख्यकवादी हिंसाको एक हिस्सा मात्रै थियो । मेती महिलाको बलात्कार र हत्याको झुटो समाचारले मेती समुदायका मानिसलाई कुकी महिलामाथि आक्रमण गरेर बदला लिन उक्साएको दाबी गलत हो । कुकी महिलामाथि भएको यौनहिंसाको औचित्य पुष्टि गर्न मिथ्या समाचार प्रकाशित गरिएको भन्ने नै देखिन्छ । तसर्थ, मिथ्या समाचार र कुकी महिलामाथि आक्रमण गर्ने सम्भवतः एकै किसमका मानिस थिए । अर्थात् ती हिंसात्मक मेती समूह, जसले कुकीविरुद्धको हिंसामा आममेती मानिसलाई हिंसामा भागीदारी जनाउन उक्साएका थिए ।

इन्डियन एक्सप्रेसका अनुसार कुकी महिलाविरुद्ध गरिएको हिंसामा भिडको भागिदारी मात्रै थिएन, त्यसमा प्रहरी पनि जिम्मेवार थियो । मणिपुर राज्यको प्रहरीले नै ती कुकी महिलालाई भिडको हातमा सुम्पेका थिए । केहीका अनुसार यी महिलालाई प्रहरीबाट जबर्जस्ती घसिटिएको पनि थिएन । यस अवस्थामा आफू सम्मिलित हिंसा र आफूले गर्दै आएको हिंसाको राजनीति गर्ने प्रधानमन्त्री मोदीले हिंसाविरुद्ध बोलून् भन्ने अपेक्षा गलत एवं मूर्खतापूर्ण हुन्छ । मणिपुर राज्यका मुख्यमन्त्री वीरेन सिंह अहिले गुजरातमा दुई दशकअघि मुसलमान नरसंहार हुँदाका मुख्यमन्त्री नरेन्द्र मोदीको जस्तै स्थानमा उभिएका छन् । मोदीले जिम्मेवारीबाट भाग्नेमा निपुणता हासिल गरेका छन् र त्यसभन्दा पनि बढी उनले न्यायको माग गर्नेलाई हिंसात्मक जत्था खडा गरेर आक्रमण गर्नमा पारंगतता हासिल गरेका छन् । मोदी सत्तामा रहिरहनु भनेको मनुष्यत्वका लागि जे आवश्यक पर्ने हो, ती सबैको हत्या गर्न दिनु हो ।

(अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा हिन्दी पढाउँछन्) 
द वायरबाट