१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ७ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण ७ आइतबार o९:५o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

३८.६६ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, १७ हजार रोजगारी सिर्जना हुने 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ७ आइतबार o९:५o:oo

गत आर्थिक वर्ष ०७९/८० मा नेपालमा ३८ अर्ब ६६ करोड ९० लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । उद्योग विभागबाट प्राप्त गत आर्थिक वर्ष ०७९/८० को प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो । योसँगै नेपालमा आएको कुल वैदेशिक लगानी प्रतिबद्धताको आकार चार खर्ब ५६ अर्ब ३८ करोड १० लाख रुपैयाँ पुगेको छ ।

यद्यपि, गत आवमा वैदेशिक लगानी प्रतिबद्धता २२ प्रतिशतले घटेको छ । अघिल्लो आव ०७८/७९ मा ४९ अर्ब ४३ करोड २७ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । तर, समीक्षा वर्षमा त्यस्तो प्रतिबद्धता १० अर्ब ७६ करोड ३४ लाखले घटेको विभागको तथ्यांकले पुष्टि गरेको छ । 

कोरोना कालबाहेक आवहरूमा वैदेशिक लगानी प्रतिबद्धता बढ्दो क्रममा थियो । तर, गत आवमा त्यो घटेको हो । विशेष गरी पछिल्लो समय देखिएको विश्वव्यापी आर्थिक संकटका कारण वैदेशिक लगानी प्रतिबद्धतामा संकुचन आएको हो । कोरोना महामारीका कारण यसै पनि विश्व अर्थतन्त्र संकटग्रस्त थियो । तर, त्यसलगत्तै भएको रुस–युक्रेन युद्धलगायतका कारण विश्व अर्थतन्त्र संकटमा गएको छ । विशेष गरि पेट्रोलियम पदार्थको मूल्य बढ्दा विश्वव्यापी रूपमा आर्थिक संकट परेको छ । त्यसबाट नेपाल पनि अछुतो हुन सकेको छैन । त्यसको असरले नेपालमा वैदेशिक लगानी प्रतिबद्धता घटेको अर्थविद् चन्द्रमणि अधिकारी बताउँछन् । 

विश्वव्यापी आर्थिक संकटका कारण अहिले विश्वका ठूला–ठूला देशहरूले आफ्नै देशमा लगानी प्रोत्साहन गर्ने नीति ल्याएका छन् । त्यसको असरले पनि लगानी प्रतिबद्धता घटेको उनको भनाइ छ । 

त्यसमाथि विभिन्न कारणले नेपालमा लगानीको वातावरण पनि राम्रो छैन । तरलता अभाव, उच्च ब्याजदर, विद्युत् कटौतीको समस्या, मागमा आएको कमीलगायतका कारण नेपालमा अहिले व्यापार–व्यवसाय गर्ने अवस्था छैन । स्थापना भइसकेका उद्योग पनि कम क्षमतामा सञ्चालन भइरहेका छन् । अहिले लगानी गर्दा राम्रो प्रतिफल आउने सम्भावना पनि न्यून छ । यी यस्ता कारण पनि वैदेशिक लगानी प्रतिबद्धता घटेको व्यवसायी बताउँछन् । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका पनि नेपालमा अझै लगानी गर्ने वातावरण नभएको बताउँछन् । ‘वैदेशिक लगानी भित्र्याउनका लागि वातावरण राम्रो चाहिन्छ । तर, नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण छैन । सरकारले वैदेशिक लगानीका लागि राम्रो वातावरण बनेको छ भन्छ, तर खोइ त वैदेशिक लगानी आएको ?’ उनले भने, ‘अन्तर्राष्ट्रिय लगानीकर्ताले हेर्ने भनेको लगानीको प्रतिफल नै हो । जुन नेपालमा भन्दा अन्य देशमा राम्रो छ । विदेशी लगानीकर्ताले युरोप, अमेरिकातिर लगानी बढाउन चाहेका छन् । किनकि, त्यहाँ प्रतिफल दर राम्रो छ । काम गर्ने वातावरण पनि छ । तर, नेपालमा नीतिगत रूपमै द्विविधा छ । त्यो अवस्थामा कसरी नेपालमा विदेशी लगानी प्रतिबद्धता आउँछ ?’ वैदेशिक लगानी ल्याउन सरकारले वातावरण राम्रो बनाउनुपर्ने उनको भनाइ छ । 

यद्यपि, समीक्षा अवधिमा वैदेशिक लगानी ल्याउने गरी दर्ता भएका उद्योगको संख्या भने बढेको छ । अघिल्लो आवमा ०७८/७९ मा दुई सय ९६ उद्योग वैदेशिक लगानी ल्याउने गरी स्थापना भएका थिए । तर, समीक्षा वर्षमा तीन सय २७ वटा उद्योग तथा कम्पनी दर्ता भएका छन् । त्यसमा साना आकारका दुई सय ९७, मझौला आकारका २५ र ठूला आकारका पाँच कम्पनी छन् । त्यसअन्तर्गत सेवा क्षेत्रमा एक सय ३४, पूर्वाधारमा १०, आइसिटीमा १६, उत्पादनमा २९ वटा कम्पनी दर्ता भएका छन् । यसका अलावा ऊर्जामा एक, कृषिमा एक, पर्यटनमा एक सय ३४ र मिनिरल्समा दुई उद्योग तथा कम्पनी दर्ता भएको विभागको भनाइ छ । त्यसबाट १७ हजार १२ जनालाई रोजगारी दिने बताइएको छ । 

कुन महिना, कति प्रतिबद्धता ? 
समीक्षा वर्षमा चैतमा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । चैत महिनामा सात अर्ब ५५ करोड १८ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । दोस्रो स्थानमा भने जेठ महिना रहेको छ, त्यो महिनामा चार अर्ब ९६ करोड ५३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।