Skip This
नक्कली भिसामा सक्कली श्रम स्वीकृति 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ७ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण ७ आइतबार o७:२९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नक्कली भिसामा सक्कली श्रम स्वीकृति 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ७ आइतबार o७:२९:oo

वैदेशिक रोजगार कार्यालयको निर्णयमा अध्यागमन कार्यालयले थाल्यो छानबिन

नक्कली भिसामा समेत वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति दिइएको पाइएपछि अध्यागमन कार्यालयले यसमा विस्तृत छानबिन थालेको छ । वैदेशिक रोजगारमा जान लागेका करिब एक दर्जन व्यक्तिको नक्कली भिसा पाइएको विभागले जनाएको छ । 

विदेश पुगेर विमानस्थलबाटै फर्काइएका तथा नेपालकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका व्यक्तिहरूको कागजपत्र नियन्त्रणमा लिई विभागले अनुसन्धान गरिरहेको छ । जसमा धेरैजनाको भिसा नक्कली भेटिएको विभागका महानिर्देशक झलकराम अधिकारीले बताए । ‘श्रम स्वीकृति लिएर विदेश जान लागेका कतिपयको भिसा र विदेशको परिचयपत्र नै नक्कली भएको पुष्टि भएको छ,’ उनले भने, ‘यस विषयमा हामीले प्रहरीको सिआइबीसँग मिलेर अनुसन्धान गरिरहेका छौँ ।’ 

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी भन्छन्–

श्रम स्वीकृति लिएर विदेश जान लागेका कतिपयको भिसा र विदेशको परिचयपत्र नै नक्कली भएको पुष्टि भएको छ । यस विषयमा हामीले सिआइबीसँग मिलेर अनुसन्धान गरिरहेका छौँ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जान लागेकालाई रोकेको भन्दै गत साता अध्यागमनविरुद्ध वैदेशिक रोजगार व्यवसायीले नाराजुलुस गरेका थिए । अध्यागमनले भने कैफियत देखिएपछि छानबिनका लागि रोकिएको र सक्कली कागजपत्र भएकालाई छानबिन गरी जान दिइएको जनाएको छ । 

श्रम स्वीकृति लिएर क्यानडा जान लागेका तीनजनालाई गत ३१ असारमा जापानको अध्यागमनले फिर्ता गरिदिएको थियो । उनीसँग सक्कली श्रम स्वीकृति भए पनि भिसा भने नक्कली भएको भनेर जापानबाटै फिर्ता भएका हुन् । टेकबहादुर थापालगायतले नक्कली भिसाकै आधारमा वैदेशिक रोजगार कार्यालयबाट भिसा लिएका थिए । 

त्यस्तै, नक्कली भिसामै श्रम स्वीकृति लिएर जान लागेकालाई कतारको अध्यागमनले पनि फर्काएको विभागका महानिर्देशक अधिकारीले बताए । कतारको नक्कली रेसिडेन्सी पर्मिटसमेत बरामद गरी यस विषयमा प्रहरीसँग सहकार्य गरी अनुसन्धान अघि बढाएको छ । कुवेत र ओमानमा पनि धेरै समस्या देखिएको र यसमा मेनपावर कम्पनीको बदमासी देखिएको महानिर्देशक अधिकारीको भनाइ छ । 

ओमानमा क्लिनिङमा भिसामा पठाउने र उता गएर हाउसमेडमा महिलालाई लगाउने पाइएको छ । त्यस्तो गतिविधिमा संलग्न मेनपावरमाथि कारबाही गर्न त्यहाँको नेपाली दूतावासले समेत पत्राचार गरेको छ । खाडी देशमा घरेलु कामदारका रूपमा महिलालाई पठाउन प्रतिबन्ध भएकाले यसरी क्लिनिङ भिसामा मानव तस्करी हुने गरेको छ । कतिपय भने भिजिट भिसामा समेत त्यहाँ पुग्ने गरेका छन् । त्यसरी ओमान पुगेका महिलामाथि चरम शोषण हुने भएकाले दूतावासले बारम्बार उद्धार गर्नुपरेको छ । श्रम स्वीकृतिमा कुवेत जानेहरूले पनि त्यहाँको नक्कली सिभिल आइडी कार्ड अध्यागमनमा पेस गरेको पुष्टि भएको छ । कतिपयको भिसा ‘वेटिङ’मै रहेको अवस्थामा समेत श्रम स्वीकृति जारी भएको तथा एउटै आवेदन नम्बरका धेरैवटा नक्कली भिसा बनाएकोसमेत प्रारम्भिक छानबिनमा खुलेको छ ।

वैदेशिक रोजगारमा हुने बेथितिका कारण पछिल्लो समय वैदेशिक रोजगार विभाग र अध्यागमन विभागबीच समेत असमझदारी बढेको छ । अध्यागमनले कागजपत्रको आधिकारिता जाँच्नु आफ्नो कर्तव्य भएको जनाएको छ भने वैदेशिक रोजगार विभागले भने अध्यागमनले अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । 

एक वर्षमा चार हजार सात सय विमानस्थलबाट फर्काइए 
भिजिट भिसामा विदेश जान लागेका चार हजार सात सय २० जनालाई प्रहरीले फिर्ता गरेको छ । यो आर्थिक वर्ष ०७९/८० को तथ्यांक हो । बेचबिखनको उच्च जोखिममा रहेकाहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको हो । भिजिट भिसामा हुने मानव बेचबिखन रोक्न ब्युरोको टोली नै गत वर्षदेखि खटिँदै आएको छ । नक्कली कागजपत्र भएका र आफूहरू जान लागेको ठाउँका बारेमा पनि राम्रो ज्ञान नभएका व्यक्तिहरूलाई फर्काइएको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठ बताउँछन् । फर्काइएकामध्ये धेरैजसो महिला छन् । जसलाई भिजिट भिसामा लगेर घरेलु कामदारका रूपमा बिक्री हुने गरेको छ । 

‘अहिले मानव बेचबिखनको स्वरूप फेरिँदै गएको नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको छ,’ एसएसपी श्रेष्ठले भने, ‘भिजिट भिसादेखि विद्यार्थी भिसामा समेत मानव ओसारपसार र बेचबिखन भइरहेको छ, यसको नियन्त्रणका लागि ब्युरोले सक्रियताका साथ काम गरिरहेको छ ।’ एक वर्षको अवधिमा ब्युरोमा मानव बेचबिखनसम्बन्धी ४३ जना मुद्दा दर्ता भएको छ । जसमा एक सय ७० जना पीडित रहेकोमा एक सय ६६ महिला र चारजना पुरुष छन् । बेचबिखनमा परेर उजुरी गर्नेमा ९५ प्रतिशतभन्दा धेरै महिला छन् । एक वर्षको अवधिमा एक सय ५२ जनालाई ब्युरोको पहलमा उद्धारसमेत भएको छ ।