
मंगलबार बरामद करिब सय केजी सुन तस्करीमा चिनियाँ र भारतीय नागरिकसहितको ठूलै गिरोह सक्रिय रहेको र नेपालमा त्यसको नेतृत्व व्यवसायी दीपक मलहोत्राले गरेको सूचना राजस्व अनुसन्धान विभागले पाएको छ । अहिले पक्राउ परेकाबाहेक गिरोहका नाइकेहरूमाथि विभागले अनुसन्धान केन्द्रित गरेकाे छ ।
- तीन महिनाअघि दर्ता भएको रेडी ट्रेडले ३४ पटक वस्तु आयात गर्दा २२ पटक तस्करीको सुन ल्यायो
- एयरपोर्टबाट सामान छुटाउने कार्गो सञ्चालक तीनजनासहित पक्राउ पर्नेको संख्या १० पुग्यो
- भन्सार कार्यालयका कर्मचारी निलम्बित, भन्सार विभागले गठन गर्यो छानबिन समिति
- चिनियाँ नागरिकको बालुवाटारस्थित गोदाममा मध्यरातमा छापा, ब्रेकसु र सेभर मात्रै बरामद
मलहोत्रा अनुसन्धानमा तानिने चार आधार
१. सुन कारोबारमा बदनाम विगत
व्यवसायी दीपक मलहोत्रा विगतदेखि नै अवैध सुन कारोबारमा जोडिँदै आएका छन् । ०५६ मा संसदीय विशेष समितिले नै उनीसहितका व्यापारी सुन तस्करीमा संलग्न रहेकाले थप छानबिन गरी कारबाही गर्न सिफारिस गरेको थियो । ०७४ मा गृह मन्त्रालयले गठन गरेको विशेष समितिले पनि अवैध सुन कारोबारमा मलहोत्राको संलग्नता रहेको प्रतिवेदन तयार गरेको थियो । पछिल्लोपटक चूडामणि उप्रेती ‘गोरे’को समूहसहितको संलग्नतामा भएको करिब ३८ सय किलो सुन तस्करीमा पनि मलहोत्राको नाम जोडिएको थियो ।
२. प्रहरीदेखि राजनीतिज्ञसम्म बलियो पहुँच
सानातिना व्यापारीले एकैपटक यति ठूलो परिमाणमा सुन तस्करी गर्न सक्दैनन् । उच्च तहको राजनीतिक पहुँच, प्रहरी र निजामतीमा निकटताका आधारमा सबैतिर सेटिङ मिलाउन सक्ने क्षमता भएकाले पनि मलहोत्रामाथि छानबिन केन्द्रित छ । उनको सबै दलका उच्च तहका नेतृत्वसँग पहुँच छ । कतिसम्म भने गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष समितिले मलहोत्रा पनि तस्करीमा संलग्न रहेको प्रतिवेदन तयार गरेको थियो । तर, उनको पहुँचकै बलमा प्रतिवेदन अहिलेसम्म थन्किएको छ । कतिपय अवस्थामा त मलहोत्राले भन्सारलगायतका कार्यालयमा आफूअनुकूल कर्मचारी पठाउनेसमेत गरेको जानकारहरू बताउँछन् ।
३. यति धेरै सुन ल्याउन सबैले पैसा जोहो गर्न सक्दैनन्
एकैपटकमा त्यति ठूलो परिमाणमा सुन ल्याउन सामान्य व्यवसायीले पैसा जुटाउन सक्दैनन् । राजस्व विभागका एक अनुसन्धान अधिकृतका अनुसार पैसाको जोहो गरिहाले पनि पहुँच नभएको र सेटिङ मिलाउन नसक्ने व्यवसायीले सुन ल्याउने जोखिम मोल्दैनन् । पुराना अनुभवी कारोबारीले मात्रै त्यस्तो आँट गर्छन् । यसकारण पनि मलहोत्रा अनुसन्धानको दायरामा छन् ।
४. अन्तर्राष्ट्रिय विमानस्थलभित्र मलहोत्राको सञ्जाल
विमानस्थलभित्रैसम्म व्यवसायी मलहोत्राको कम्पनीको रजगज छ । उनको कम्पनी आइएमएस एयरपोर्ट सर्भिसले विमानस्थलको नयाँ आगमन कक्ष, पार्किङ नै लिजमा चलाउँदै आएको छ । यसले विमानस्थलको सुरक्षामा जोखिम पुगेको रिपोर्ट विगतदेखि नै सुरक्षा निकायले दिँदै आएका छन् । तर, मलहोत्राको राजनीतिक पहुँचका कारण त्यसमा सुनुवाइ नै हुँदैन । यसबाहेक अन्तर्राष्ट्रिय विमानस्थलको स्टेराइल क्षेत्रमा पनि उनीनिकट व्यवसायीले पहुँचका भरमा पसल चलाउँदै आएका छन् । संवेदनशील क्षेत्र विवादास्पद व्यवसायीलाई लिजमा दिएको विषयमा विगतदेखि नै प्रश्न उठ्दै आएको छ ।
... ...
‘ब्रेकसु’भित्र लुकाएर दुई महिनादेखि हङकङबाट नेपालमा सुन तस्करी गर्ने चिनियाँ व्यापारीसम्म पक्राउ परेपछि राजस्व अनुसन्धान विभागले नेपाली गिरोहमाथि अनुसन्धान केन्द्रित गरेको छ । चिनियाँले ल्याएकोमध्ये केही सुन नेपालमा सुन पसलमा खपत हुने र धेरै भारत तस्करी हुने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
यसरी तस्करी भएर आएको सुन बिक्री–वितरणमा नेपालमा भारतीय नागरिकसहितको ठूलै समूह सक्रिय रहेको सूचना विभागले पाएको छ । स्रोतका अनुसार यसको नेतृत्व व्यवसायी दीपक मलहोत्राले गरेको आधार भेटिएका छन् । विभागको पछिल्लो अनुसन्धान त्यसतर्फ केन्द्रित छ । ‘यो अन्तरदेशीय संगठित अपराध हो, यसमा धेरै तह हुन्छ,’ अनुसन्धानमा आबद्ध एक अधिकारीले भने, ‘हामी पहिलो तहका धेरै व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएका छौँ, एक तहबाट अर्काे तहसम्म पुग्न धेरै मिहिनेत गर्नुपर्ने हुन्छ, अब त्यसतर्फ केन्द्रित भएका छौँ ।’
विभागलाई करिब सय किलो सुन तस्करीको सुराकी दिनेले पनि यसमा मलहोत्रा र उनीनिकट व्यवसायीको लगानी गरेको बताएका छन् । एक तहबाट अर्काे तहसम्मको सम्बन्ध नदेखियोस् भनेर निकै चतुरताका साथ तस्करीको सेटिङ मिलाइएको थियो ।
व्यवसायी मलहोत्रा विगतदेखि नै अवैध सुन कारोबारमा जोडिँदै आएका छन् । ०५६ मा संसदीय विशेष समितिले नै उनीसहितका व्यापारी सुन तस्करीमा संलग्न रहेकाले थप छानबिन गरी कारबाही गर्न सिफारिस गरेको थियो । ०७४ मा गृह मन्त्रालयले गठन गरेको विशेष समितिले पनि अवैध सुन कारोबारमा मलहोत्राको संलग्नता रहेको प्रतिवेदन तयार गरेको थियो । पछिल्लोपटक चूडामणि उप्रेती ‘गोरे’को समूहसहितको संलग्नतामा भएको करिब ३८ सय किलो सुन तस्करीमा पनि मलहोत्राको नाम जोडिएको थियो । तर, उच्चतहमा राजनीतिक पहुँच तथा प्रहरी र निजामती कर्मचारीसितको मिलेमतोमा उनी जोगिँदै आएको स्रोत बताउँछ ।
अनुसन्धान तार्किक निष्कर्षमा पुर्याइछाड्छौँ : नवराज ढुंगाना, महानिर्देशक, राजस्व अनुसन्धान विभाग
चिनियाँ नागरिक पक्राउ परेसँगै अनुसन्धान दोस्रो चरणमा प्रवेश गरेको छ । अनुसन्धान जारी छ । यसका धेरै पक्ष छन् । एउटा तस्करीको सुनको कुरा छ, अर्को यससँग आर्थिक विचलन र अपराधका घटनाहरू पनि छन् । त्यसलाई सँगै राखेर अनुसन्धान अघि बढाउँछौँ । अनुसन्धानलाई हामी तार्किक निष्कर्षमा पुर्याइछाड्छौँँ ।
तस्करीमा लगानी गरेको अन्य प्राविधिक कुरासमेत भेटिएपछि मलहोत्रालगायत व्यक्तिमाथि थप अनुसन्धान गरी कारबाही गर्न ०७४ मा गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष समितिले प्रतिवेदन दिएको थियो । तर, राजनीतिक पहुँचकै कारण उनको स्वार्थअनुसार प्रतिवेदन अहिलेसम्म थन्किएको सो समितिका एक अधिकारी बताउँछन् । ‘मलहोत्रालगायत करिब तीन सय व्यापारीमाथि छानबिन गरी कारबाही गर्न सिफारिस गरेका थियौँ,’ समितिका ती अधिकारीले भने, ‘तर, प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएको सुनिन्छ ।’
चूडामणि उप्रेती ‘गोरे’को समूहसँग मिलेर विमानस्थलबाट सुन तस्करीको आरोपमा पक्राउ परेका व्यापारी विमल पोद्दारले समितिसमक्ष विगतमा सुनको अवैध कारोबार र हुन्डीमा मलहोत्रासँग साझेदारीमा काम गरेको बयान नै दिएका थिए । आफूहरूले मिलेर इबिसु ज्वेलर्स चलाएको बताएका थिए । सो सुन पसल पनि त्यतिवेला अनुसन्धानमा तानिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास गराएर बाहिर ल्याउँदै गर्दा बरामद भएको सुन (१५४ केजी कच्चा पदार्थ, सुनको अंश यकिन गर्न राष्ट्र बैंकमा) तस्करीमाथिको अनुसन्धान दोस्रो चरणमा प्रवेश गरेको छ । राजश्व अनुसन्धान विभागले उक्त सुन तस्करीमा महत्वपूर्ण मानिएका चिनियाँ नागरिक लिसहित पहिलो तहका १० जनालाई समातेसँगै अब दोस्रो तहका व्यक्तिमा अनुसन्धान प्रवेश गरेको जनाएको छ ।
‘चिनियाँ नगरिक पक्राउ परेसँगै अनुसन्धान दोस्रो चरणमा प्रवेश गरेको छ । अझै अनुसन्धान जारी छ । यसमा विभिन्न पक्ष छन् । एउटा तस्करीको सुनको कुरा छ, अर्को यससँग आर्थिक विचलन र अपराधका घटनाहरू पनि छन् । अनुसन्धानलाई हामी तार्किक निष्कर्षमा पुर्याउँछौँ,’ विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘सम्माननीय प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग पनि हामीले कुराकानी गरेका छौँ । अनुसन्धानका लागि विभागले जे गर्नुपर्छ गर्नुुस्, आवश्यक परेको साथ, सहयोग र स्रोतसाधन उपलब्ध गराइन्छ भन्ने प्रतिबद्धता सरकारबाट आएको छ ।’
तर, ०५६ मै संसदीय समितिले भनेको थियो– मलहोत्रा सुन तस्करीमा संलग्न छन्, छानबिन गरी कारबाही गर्नू
पछिल्लो सुन तस्करी प्रकरणमा मुछिएका व्यवसायी दीपक मलहोत्रालाई सुन तस्करीमै छानबिन गरेर कारबाही गर्न २४ वर्षअघि नै संसदीय समितिले सिफारिस गरेको थियो । राजस्व चुहावटको छानबिनसम्बन्धी संसदीय संयुक्त समिति, २०५६ को प्रतिवेदनले मलहोत्राले विदेशी मुद्रा निकासी गरेर अवैध रूपमा सुन ल्याउने गरेको ठहर गर्दै छानबिन गर्न सिफारिस गरेको हो ।
परी थापा नेतृत्वको संसदीय छानबिन समितिले गरेको कारबाही सिफारिस
परी थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा ‘राजस्व अनुसन्धान विभागको राजस्व चुहावट र तस्करीमा संलग्न व्यक्तिहरू’ भनेर मलहोत्राको नाम राखिएको छ । विवरणमा अवैध निकासी–पैठारी गरी राजस्व चुहावट कार्यमा संलग्न भनिएको छ । मलहोत्रासँगै अनिल जाटिया, प्रकाश वेगानी, शंकर गोल्यान, आइएल प्रधान, टेकबहादुर गुरुङ, जमिम शाह, ताहिर शाह, प्रकाश टिवडेवाला, धोजेन्द्र गौचन, विष्णु जोशी, छविलाल भुसाल, अशोक सुरेखा, हरि न्यौपाने र दीपक स्वाँरको नाम पनि विवरणमा छ ।
प्रतिवेदनमा भनिएको छ, ‘राजस्व चुहावटको छानबिनसम्बन्धी कार्यको प्रतिवेदनको मुख्य खण्डहरूमा खास रूपमा व्यक्ति तथा क्रियाकलाप यकिन किटान भएकोमा सोहीअनुसार थप छानबिन र अनुसन्धान गरी कारबाही गर्नुपर्ने देखिन्छ । यसअलावा यस प्रतिवेदनका विभिन्न खण्डमा उल्लेख भएका क्रियाकलापमा संलग्न र संलग्न रहेको अनुमान गर्न सकिने व्यक्तिहरूलाई प्रचलित ऐनअनुसार कारबाही गर्नुपर्दछ ।’
प्रतिवेदनमा अगाडि भनिएको छ, ‘तस्करी र राजस्व चुहावटमा संलग्न हुन सक्ने तथा अनियमित क्रियाकलाप गर्ने भनी सूचना प्राप्त भएका व्यक्तिहरूको नामावली समावेश गरिएको छ । यी नामावली अनुसन्धानबाट यकिन भएका नामावली नभएकाले रेफरेन्सका रूपमा लिई छानबिन निकायले छानबिन गरी दोषी प्रमाणित भएमा कानुनबमोजिम कारबाही गर्नुपर्दछ ।’ समिति बन्नुअघि ०७४ देखि ०५४ सम्म सुन पैठारीसम्बन्धी चार सय ५१ जनाबाट आएको १८२०.२६ किलो सुन जफत भई मुद्दा चलेको तथ्यांक पनि प्रतिवेदनमा उल्लेख छ ।
समिति सदस्य खगराज अधिकारीले आफूहरूले दिएको प्रतिवेदन कार्यान्वयन नहुँदा भ्रष्टाचार मौलाएको बताए । ‘प्रतिवेदन कार्यान्वयन गरिएन । बरु त्यहाँ छानबिन गर्न नाम उल्लेख भएकालाई दलहरूले टिकट दिएर पुरस्कृत गरे । अहिले ठूलो स्वरले कराउने मान्छेको नाम पनि त्यहाँ छ । कारबाहीको साटो संरक्षण गरियो,’ उनले भने । प्रतिवेदन कार्यान्वयन गर्न संसद् सक्रिय नरहेको र लेखा समिति पनि तयार नभएको उनको गुनासो छ । ‘धेरै ठूला कुरा गर्नेहरू सभामुख, समिति सभापति, मन्त्री भए । तर, कार्यान्वयन गर्न ध्यान दिइएन,’ अधिकारीले भने । राजस्वमा गम्भीर अपचलन र भन्सारमा अर्बाैँ घोटाला भएपछि समिति बनेको उल्लेख गर्दै अधिकारीले प्रतिवेदन कार्यान्वयन भएको भ्रष्टाचार अन्त्य हुने र देशको अवस्था सुदृढ हुने, तर बेथिति मात्रै बढेको बताए । ‘भ्रष्टाचारका कुरा आउँदैनथे । व्यवस्था सुदृढ हुन्थ्यो । देशलाई क्लिन चिट हुन्थ्यो । अन्तर्राष्ट्रिय समुदायमा हाम्रो विश्वसनीयता बढ्थ्यो,’ उनले भने ।
समितिका अर्का सदस्य लीलामणि पोखरेलले प्रतिवेदनमा मलहोत्रामाथि छानबिन गरेर कारबाही गर्न सिफारिस गरिए पनि राज्यबाट कारबाही नहुँदा मनोबल बढेको देखिएको बताए । ‘हिजो राज्य जिम्मेवार नहुँदा भ्रष्टाचार नियन्त्रण हुन सकेन । स्वयं भ्रष्टाचार नियन्त्रण गर्ने निकायका पदाधिकारी भ्रष्ट भएर निस्के । जेल जाने स्थिति बन्यो । भ्रष्टहरूलाई जिम्मेवारी दिएका कारण बेथिति बढ्यो,’ उनले भने । हिजो राज्य जिम्मेवार नभए पनि अहिले नियन्त्रणका लागि कामको सुरुवात भएको पोखरेलले बताए । ‘त्यतिवेला कुनै पनि व्यक्तिमाथि कारबाही गरिएन, छानबिन गरिएन । अहिले धमाधम बाहिर आइरहेको छ । कुनै मोलाहिजाविना कारबाही गर्नुपर्छ । अपराधलाई राजनीतिक संरक्षण दिनुहुँदैन,’ उनले भने ।
मलहोत्राका पार्टनर विमल पोद्दारको बयान–हामी सुन र हुन्डी कारोबारमा साझेदार थियौँ
विगत पाँच वर्षमा विमानस्थलबाट प्रहरी र अन्य कर्मचारीसँगको सेटिङमा करिब तीन हजार आठ सय किलो सुन तस्करीमा पनि व्यवसायी दीपक मलहोत्रा मुछिएका थिए । त्यसमा पक्राउ परेका उनका पार्टनर विमल पोद्दारले नै आफूहरूले सुन तथा हुन्डीको कारोबार गरेको बयान दिएका थिए ।
चूडामणि उप्रेती ‘गोरे’को समूहसँग मिलेर विमानस्थलबाट सुन तस्करीको आरोपमा पक्राउ परेका व्यापारी पोद्दारले विगतमा सुनको अवैध कारोबार र हुन्डीमा मलहोत्रासँग मिलेर काम गरेको बताएका थिए । गृह मन्त्रालयले गठन गरेको विशेष समितिसँगको बयानमा उनले भनेका छन्, ‘दीपक मलहोत्राले मसँग व्यापारिक साझेदारी हुनुभन्दा पहिला सुनको आयात पनि गर्ने गर्दथे ।
निजले कानुनले तोकेको प्रक्रियाबाट सुन आयात गर्दा सँगसँगै अवैध सुन आयात गरी कारोबार गर्छन् भन्ने सुनेको थिएँ ।’ हुन्डीमा पनि आफूले सघाएको उनको भनाइ थियो । बयानमा भनेका छन्, ‘०७४ वैशाखदेखि असारसम्म दीपक मलहोत्राकै आग्रहमा करिब ६०–६५ लाख हुन्डी गरी भारतको दिल्ली बस्ने दिलीप अग्रवाललाई पठाइदिएको थिएँ । उनी मेरा व्यापारिक साझेदार भएकाले नि:शुल्क गरिदिएको हुँ ।’
मलहोत्राले पत्रकार सम्मेलनमा भने–यस्तो धन्दामा कहिल्यै संलग्न छैन
मैले गलत गरेको छु भने समाचार लेख्दा समस्या छैन । तर, नभएको कुरा समाचार लेख्दा प्रतिष्ठामा आँच आउने देखेर स्पष्ट गर्न लागेको हुँ । म काममा विश्वास गर्छु । बिहानदेखि साँझसम्म काममै व्यस्त हुन्छु । कुनै आपराधिक घटनामा संलग्न छैन । गलत गरेको भए डराउने हो । गलत गरेको छैन, किन डराउनु ? अहिलेको घटना (एक क्विन्टल सुन तस्करी)मा म छु भन्ने कहीँ पुष्टि हुन्छ भने कानुनबमोजिम भोग्नुपर्ने सबै सजाय भोग्न तयार छु । यस किसिमको धन्धामा कहिल्यै संलग्न छैन ।
यस विषयमा अहिलेसम्म कुनै निकायबाट कुनै सम्पर्क भएको छैन । व्यक्तिगत रूपमा प्रहरी वा कतैबाट सोधखोज पनि भएको छैन । मलाई लाग्छ, जुन गिरोहले त्यो सामान (सुन) ल्याएको छ, उसले घटनालाई अर्कोतिर डाइभर्ट गर्नका लागि मलाई मुछेको हुन सक्छ ।
०५५/५६ सम्म विदेश जाँदा आफूले कमाएको पैसाबाट १० किलोसम्म सुन किनेर आउन पाइन्थ्यो । त्यो सुन भन्सार तिरेर ल्याउन पाउने प्रावधान थियो । त्यतिवेला मैले पनि विदेशमा काम गरेर फर्किनेलाई ‘तिमीहरूले कमाएको पैसाबाट सुन किनेर लैजानु, त्यो सुन बिक्री गर्दा नगद बोकेर लैजानभन्दा फाइदा हुन्छ’ भनेर भन्थेँ । उनीहरूले त्यसरी बोकेर ल्याएको सुन बिक्री गर्ने काम हामीले नै गर्दिन्थ्र्यौँ । ०५५/५६ सम्म म त्यो व्यापारमा आबद्ध थिएँ । पछि सुनको बजार नै कम भयो । अनि ५६ तिर सुनको व्यापार छाडेर अन्य व्यापारमा लागेँ । त्यतिवेलादेखि मलाई जहिल्यै सुनसँग जोडेर हेर्ने गरिन्छ ।
हामीले २५ वर्षअघि भन्सार तिरेर सुन ल्याउँदा तोलामा ५० रुपैयाँ फाइदा हुन्थ्यो । आज कति फाइदा हुन्छ थाहा छैन । २५ वर्षपछि त्यो व्यापारमा फर्किएर हेरेको छैन । त्यतिवेला सुन व्यापारमा संलग्न थिएँ भनेर होला मलाई जतिवेला पनि जोडेर हेर्ने । तर, मैले पछिल्लो समय सुनको व्यापार गरेकै छैन ।
अस्तिको ३३ किलो सुनकाण्डमा पनि मेरो नाम मुछिएको थियो । त्यसवेला पत्रकार सम्मेलन त गरिनँ । त्यसवेला पनि नचाहिने आरोप लाग्यो । तर, पछि को–को संलग्न थिए, थाहा भइहाल्यो ।
त्रिभुवन विमानस्थलको खाल्डोमा पार्किङ गर्नका लागि टेन्डर निस्किएको थियो । त्यहाँ सर्टेज थियो पार्किङको । मैले टेन्डर हालेँ र पाएँ । आइएमएस सर्भिसेजको नामबाट पार्किङ बनाएँ, अराइभल हल बनाएको छु । कमसर्सियल कम्प्लेक्स बनाएको छु । त्यसको विरुद्धमा पनि बारम्बार समाचार आयो । त्यहाँ टेन्डर हाल्दा मैले हाई बिड गरेँ र पाएँ । अहिले अन्तर्राष्ट्रिय एयरपोर्ट बल्ल हेर्नलायक बनेको छ ।
मेरो नाम चर्चित भएको र मेरो नाम मुछ्दा घटना डाइभर्ट गर्न सहज हुने तथा जनतालाई पनि भ्रममा राख्न सकिने हुँदा मलाई मुछ्ने गरिन्छ । सम्भवतः नेपालमा दीपक मलहोत्रा भन्ने नाम मेरो मात्रै हो । कसैको नाम मेरोसँग मिल्छ जस्तो लाग्दैन ।