१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
सुवास भट्ट काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:१२:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको करिब सय केजी सुन ट्याक्सीबाट बरामद

Read Time : > 3 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:१२:oo

एक अर्बभन्दा बढी पर्ने तस्करीको यो सुन व्यवसायी दीपक मलहोत्राको रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ । मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानमा सो सुन व्यवसायी दीपक मलहोत्राको भएको देखिएको अनुसन्धानमा खटिएका अधिकृतहरूको भनाइ छ, तर अनुसन्धान जारी रहेकाले उनीहरू औपचारिक रूपमा बोल्न चाहँदैनन् । 

मंगलबार साँझ विभागले गरेको गोप्य अप्रेसनमा सुनसहित चारजना पनि पक्राउ परेका छन् । सुनको यकिन परिमाण आइनसके पनि (जोख्न बाँकी) करिब सय केजीहाराहारीमा रहेको अनुसन्धान विभागका अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार सुनका एक सय ६० टुक्रा बरामद भएका छन्, जसको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो । यसअघि एकैपटक ८८ केजीसम्म बरामद भएको थियो । 

विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दिलीपको बयानका आधारमा रामकुमार पक्राउ परेका हुन् । रामकुमार दिलीपका मामा हुन् । ‘मैले मामाले भनेअनुसार सो सामान पास गराएको हुँ,’ उनले बयानमा भनेका छन् । मामा–भान्जा बुधबार पक्राउ परेका हुन् भने अन्य दुई मंगलबार नै पक्राउ परेका थिए ।

यसअघि पनि यसैगरी सुन तस्करी भएको आशंका छ : नवराज ढुंगाना, महानिर्देशक राजस्व अनुसन्धान विभाग
सुन बरामद गरिएको छ । केही मानिस पक्राउ पनि परेका छन् । यसअघि पनि यसरी सुन आएको आशंका छ । यद्यपि, अहिले अनुसन्धानकै क्रममा छौँ । अब यस विषयमा गम्भीर रूपले अनुसन्धान हुन्छ । अनुसन्धानबाट तस्करी गर्ने गिरोहबारे धेरै कुरा थाहा हुँदै जालान् ।

विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा.२ज २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । यो तस्करीमा ठूलै व्यापारीको संलग्नताको आशंका गरिएको छ । मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरि विभागले अप्रेसन चलाएको हो । 

क्याथे प्यासिफिकको विमानबाट आएको सुन मंगलबार दिउँसो करिब २ बजे नै भन्सार पास भएको थियो । त्यसको तीन घन्टापछि बरामद भएको हो । रामकुमारको बयानबाट यसमा संलग्न ठूलै अर्थात् मुख्य व्यापारीसम्म पुग्न सकिने विभागका अधिकारीको भनाइ छ । ‘यसमा विगतदेखि नै सुन कारोबारमा संलग्न नाम चलेकै व्यवसायी संलग्न छन् भन्ने प्रारम्भिक बयानबाट देखिन्छ, अहिले अनुसन्धानकै क्रममा रहेकाले धेरै बोल्न मिल्दैन,’ ती अधिकारीले भने । तिनै व्यवसायीले यसअघि पनि पटक–पटक यसरी नै सुन ल्याएको सुराकसमेत मिलेको उनको भनाइ छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अनुसन्धान भर्खरै सुरु भएकाले धेरै पाटा खुल्न बाँकी रहेको बताए । उनले भने, ‘सुन बरामद गरिएको छ । केही मानिस पक्राउ परेका छन् । यसअघि पनि यसरी सुन आएको आशंका छ । यद्यपि, अहिले अनुसन्धानकै क्रममा छौँ । अब यो विषयमा गम्भीर रूपले अनुसन्धान हुन्छ । अनुसन्धानबाट धेरै कुरा थाहा हुँदै जालान् ।’ 

भन्सार जाँचपासबाट बाहिरिएको सुन भएकाले यसमा भन्सारका कर्मचारी पनि छानबिनमा छन् । अन्य सामानमा सुन मोरेर ल्याइएकाले भन्सार जाँचपासमा पत्ता नलागेको हुन सक्ने भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । ‘पुराना मेसिन भएकाले त्यसले सुन डिटेक्ट नगरेको पनि हुन सक्छ,’ उनले भने ।

स्रोतका अनुसार विभागले सामान आयात गर्ने नाम चलेका ती व्यवसायीको पहिचान गरिसकेको छ । ‘विभागको इन्टेलिजेन्सका आधारमा महानिर्देशकज्यूकै नेतृत्वमा यो अप्रेसन भएको हो,’ विभागका एक अधिकृतले भने, ‘सुनमा लगानी गर्ने व्यक्तिहरू अनुसन्धानको केन्द्रमा छन्, सुन कारोबारमा विगतदेखि नै नाम मुछिने व्यवसायी छन् ।’ यस विषयमा व्यवसायी दीपक मलहोत्रासँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

विमानस्थलबाट भएको सुन तस्करीको यसरी गरिएको थियो अप्रेसन 
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले विभागमा आउनुभन्दा अघिदेखि नै विमानस्थलबाट हुने सुन तस्करीको विषयमा अपुष्ट सूचना पाएका थिए । गत १२ असारमा उनी विभागको महानिर्देशक बने । अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भइरहेको सूचनाका आधारमा उनले सूक्ष्म निगरानी बढाएका थिए । प्रारम्भिक विश्लेषणमा तस्करी भइरहेको उनले पाए ।

यसक्रममा मंगलबार विमानस्थलबाट ठूलो परिमाणमा कार्गाेमार्फत सुन आउँदै गरेको सूचना विभागको इन्टेलिजेन्सले महानिर्देशक ढुंगानालाई दियो । तस्करीलाई उनी जसरी पनि रोक्न चाहन्थे । इन्टेलिजेन्सको त्यही सूचनाका आधारमा उनले विभागका कर्मचारीलाई अप्रेसनमा खटाए र झन्डै सय किलो सुन बरामद भयो ।

यो घटनाले सामान्य तस्करी मात्रै होइन, कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराजले भनेजस्तै ‘नेपालका विमानस्थलबाट हात्ती पनि सजिलै छिर्छ’ भन्ने पुष्टि भएको छ । यसअघि पनि पटक–पटक विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी हुने गरेका घटना सार्वजनिक हुँदै आएका छन् । अनुसन्धानमै खटिएका अधिकृतहरूका अनुसार पछिल्लो दुई महिनामा मात्रै अहिले सुन ल्याउने तस्कर गिरोहले नै कम्तीमा २५ पटक सुन ल्याएको छ ।

अहिलेकै गिरोहले दुई महिनामा २५ पटक सुन तस्करी गरेको आशंकामा छानबिन हुँदै 
अहिले सुन ल्याउने गिरोहले पछिल्लो दुई महिनामा २५ पटकभन्दा धेरै त्यसैगरी सुन तस्करी गरेको देखिएको छ । त्यतिवेला पनि सुन ल्याएको हुन सक्ने भएकाले त्यसतर्फ विभागले अनुसन्धान अघि बढाएको छ ।  सो समूहले विमानस्थलबाट सयौँ केजी सुन तस्करी गरेको आशंका गरिएको छ । विभागका एक अधिकारी भन्छन्, ‘यस्तै कन्साइनमेन्ट विगतमा पनि आएको छ, तस्करीको शैली हेर्दा त्यतिवेला पनि झन्डै दुई दर्जनपटक सुन आएको आशंका छ ।’

 

ad
ad