१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

प्रधानमन्त्रीको दौडमा रहेका थाई नेताको सांसद पद निलम्बन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:१८:oo

थाइल्यान्डका सुधारवादी नेता पिता लिम्जारोएनरतको प्रधानमन्त्री बन्ने प्रयास बुधबार समाप्त भएको छ । ४२ वर्षीय पिता उनको उम्मेदवारीबारे छलफलमा रहेका वेला नाटकीय रूपमा संसद्बाट निलम्बित गरिएको थियो । पिताको निलम्बनपछि संसद्मा उनको दोस्रो मतदानका लागि विचार गर्न सकिने वा नसकिने पक्षमा मतदान भएको थियो । थाई कानुनअनुसार सांसद नभएका व्यक्ति पनि प्रधानमन्त्री हुन सक्छन् । तर, मतदानमा पिता दोस्रोपटक उम्मेदवार हुन नपाउने पक्षमा बहुमत सांसदले मत दिए । यससँगै उनको सरकारको नेतृत्व गर्ने प्रयास तत्कालका लागि अन्त्य भएको देखिन्छ । 

थाइल्यान्डको राजावादी संवैधानिक अदालतले सञ्चार कम्पनीमा सेयर भएको भन्दै पितालाई संसद्बाट पूर्ण रूपमा अयोग्य ठह¥याउन सक्ने गरी मुद्दा अघि बढाउने बताएपछि उनलाई निलम्बन गरिएको हो । थाइल्यान्डको संविधानअनुसार सांसदलाई सञ्चारमाध्यमको स्वामित्व लिन निषेध गरिएको छ । यद्यपि पिताले उनीसँग रहेको टेलिभिजन स्टेसनको सेयर सन् २००७ देखि प्रसारण सेवा बन्द भएको बताएका छन् । पिता लिम्जारोएनरतले नेतृत्व गरिरहेको मुभ फरवार्ड पार्टी (एमएफपी)ले गत मे महिनामा भएको चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको थियो, तथापि उसले बहुमत भने हासिल गर्न सकेको थिएन । गठबन्धनमार्फत सरकार गठनको प्रयास पनि अहिलेका लागि असफल भएको छ । 

पिता मुठी उठाएर अभिवादन गर्दै संसद् भवनबाट बाहिरिएका थिए । ‘हामी फेरि भेट्नेछौँ । त्यतिवेलासम्म म सांसदका रूपमा बिदाइ हुन चाहन्छु,’ पिताले भने । उनी बाहिरिरहँदा विधानसभाको हलबाट सहयोगी दलहरूका सांसदले उनीप्रति सम्मान देखाएका थिए । हारवार्ड विश्वविद्यालय पढेका र परिवारले चलाएको एग्रिफुड व्यवसायबाट धनी बनेका पिताले सञ्चारमाध्यमको सेयर आफ्नो बुबाबाट विरासतमा पाएको बताएका छन् । उनलाई सेयरबारे १५ दिनभित्र जवाफ दिन समय दिइएको छ । उनले संसद् छाडेपछि भएको मतदानमा सांसदहरूले ठूलो मतान्तरले उहाँलाई दोस्रोपटक प्रधानमन्त्रीका लागि विचार गर्न नमिल्ने पक्षमा बहुमत दिएका थिए । मतदान नतिजा सुनाउँदै सभामुख वान मोहम्मद नुर माथाले भने, ‘यो संसद्को अधिवेशनमा पितालाई दोस्रोपटक निर्वाचनमा सहभागी गराउन सकिँदैन ।’

पिताको निलम्बनको खबर सार्वजनिक भएपछि संसद्को गेटमा बसिरहेका दर्जनौँ समर्थक रोएका थिए । पछि प्रदर्शनकारी बैंककको ‘प्रजातान्त्रिक स्तम्भ’नजिकै सार्वजनिक र्‍यालीका लागि जम्मा भए । प्रहरीहरू सम्भावित झडप रोक्न सुरक्षार्थ तयार रहेका थिए । पिता गत हप्ता थाई संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री पदका लागि भएको निर्वाचनका एकल उम्मेदवार थिए । उनले जितका लागि आवश्यक मत पाएनन् । थाइल्यान्डको सिनेटमा सेनामा नियुक्त भएका २४९ सिनेटरमध्ये १३ जनाले मात्र पिताको पक्षमा मतदान गरेका थिए । 

सञ्चारमाध्यमको सेयरसम्बन्धी मुद्दाबाहेक पनि पितामाथि अर्को एक गम्भीर मुद्दा छ । थाइल्यान्डको शाही मानहानि कानुनलाई संशोधन गर्ने एमएफपीको चुनावी वाचा संवैधानिक राजतन्त्रलाई ‘अपदस्थ’ गर्ने योजनासरह भएको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ । पिताको पार्टीले चुनावमा राजसंस्थाको आलोचना गर्नेहरूलाई १५ वर्षसम्म जेल सजाय हुने एक कानुन संशोधन गर्ने वाचा गरेको थियो । विभिन्न दबाबबीच मुभ फरवार्ड पार्टीले यस प्रतिबद्धतामा सम्झौता गर्न अस्वीकार गरेको छ । एमएफपीले देशको एकाधिकार तोड्ने पनि बताएकाले कैयौँ व्यापारिक घराना आत्तिएको बताइएको छ ।

ad
ad