Skip This
चिप उत्पादनमा फक्सकन–वेदान्ताबीचको सम्झौता भंग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २८ बिहीबार
  • Saturday, 27 July, 2024
बिबिसी
२o८o असार २८ बिहीबार o८:५५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चिप उत्पादनमा फक्सकन–वेदान्ताबीचको सम्झौता भंग

गुजरातमा सेमिकन्डक्टर प्लान्ट लगाउन फक्सकनले वेदान्ता ग्रुपसँग मिलेर १९ अर्ब ५० करोड डलरको सम्झौता गरेको थियो

Read Time : > 2 मिनेट
बिबिसी
नयाँ पत्रिका
२o८o असार २८ बिहीबार o८:५५:oo

ताइवानको फक्सकन टेक्नोलोजीले भारतमा गर्ने भनेको १९ अर्ब ५० करोड डलरको सम्झौता रद्द गरेको छ । फक्सकनले वेदान्ता ग्रुपसँग मिलेर गुजरातमा सेमिकन्डक्टर उत्पादन प्लान्ट लगाउन सो रकम लगानी गर्ने भनेको थियो । फक्सकनको यो अप्रत्याशित निर्णयले भारतीय प्रधानमन्त्रीलाई झट्का लाग्ने देखिन्छ । कारण उनले भारतलाई सेमिकन्डक्टर निर्माण हब बनाउने महत्वाकांक्षी योजना बनाएका थिए । 

फक्सकनले हात झिके पनि आफ्नो सेमिकन्डक्टरको लक्ष्यमा कुनै परिवर्तन नआउने भारतको प्रतिक्रिया छ । इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरले दुवै कम्पनीले स्वतन्त्र रूपमा आफ्नो रणनीतिमा काम गर्न सक्ने प्रतिक्रिया दिएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘भारतले प्रधानमन्त्री मोदीको नेतृत्वमा पछिल्लो नौ वर्षमा इलेक्ट्रोनिक्स उत्पादन र १८ महिनायता सेमिकन उत्पादनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।’

ताइवानको प्रमुख कम्पनी फक्सकनले भारतमा धातुदेखि तेलसम्म कारोबार गर्ने वेदान्ता ग्रुपसँग मोदी नगर गुजरातमा सेमिकन्डक्टर प्लान्ट लगाउने सम्झौता गरेको थियो । १९ अर्ब ५० करोड डलरको यो सम्झौता सेमिकन्डक्टर क्षेत्रमा विश्वकै सर्वाधिक ठूलो मानिएको थियो । तर, फक्सकनले सोमबार एक विज्ञप्ति जारी गर्दै भारतमा वेदान्तासँगको सहकार्य अगाडि नबढाउने निर्णय लिएको उल्लेख गरेको छ । 

‘हामीले वेदान्तासँग मिलेर सेमिकन्डक्टर आइडियालाई वास्तविकतामा ल्याउन काम गर्‍यौँ ।’ तर, अब दुवैले आपसी सहमतिमा अगाडि काम नगर्ने भएका छन् । यता, वेदान्ता ग्रुपले सेमिकन्डक्टर उत्पादनलाई लिएर जुन लक्ष्य राखेको छ, त्यसलाई पूरा गर्न प्रतिबद्ध रहेको जनाएको छ । ‘भारतको पहिलो सेमिकन्डक्टर उत्पादन एकाइ स्थापना गर्न अन्य सहयोगीसँग छलफल भइरहेको छ,’ वेदान्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री मोदीको लक्ष्य हासिल गर्न हामीले हाम्रो प्रयासलाई दोब्बर बनाएका छौँ ।’

फक्सकनले हात झिके पनि आफ्नो सेमिकन्डक्टरको लक्ष्यमा कुनै परिवर्तन नआउने भारतको प्रतिक्रिया छ । इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरले दुवै कम्पनीले स्वतन्त्र रूपमा आफ्नो रणनीतिमा काम गर्न सक्ने प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री मोदीले इलेक्ट्रोनिक उत्पादनको नयाँ युग सुरु गर्न भारतको आर्थिक रणनीतिमा सेमिकन्डक्टर उत्पादनलाई प्राथमिकतामा राखेका थिए । साथै, भारत सरकारले यो क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन कोसिससमेत गरेको थियो । तर, फक्सकनको अचानकको यो निर्णय भारतको महत्वाकांक्षी योजनालाई झट्का भएको बताइएको छ । 

फक्सकन कस्तो कम्पनी हो ? :  फक्सकन विश्वको ठूलो इलेक्ट्रोनिक उत्पादक कम्पनीमध्ये एक हो । यो कम्पनी एप्पलको आइफोन निर्माणका लागि चिनिन्छ । केही वर्षयता ताइवानी कम्पनीले सेमिकन्डक्टर निर्माण क्षेत्रमा पनि काम गर्ने प्रयास गरेको देखिन्छ । विश्वभरलाई अत्यावश्यक पर्ने सेमिकन्डक्टर चिपको उत्पादन ताइवानजस्ता देशसम्म मात्रै सीमित छ । भारतले निकै ढिलो गरी यो क्षेत्रमा पाइला चाल्ने कोसिस गरेको छ । 

गत वर्ष वेदान्ता र फक्सकनले गुजरातमा सेमिकन्डक्टर उत्पादन प्लान्ट लगाउन सम्झौताको घोषणा गरेका थिए । सम्झौतापछि मोदीले यो कदम भारतमा सेमिकन्डक्टर निर्माण दिशामा महत्वपूर्ण कदम भएको बताएका थिए । साथै, भारतले यसलाई पिएलआई अर्थात् उत्पादनसँग जोडिएको प्रोत्साहन योजना भनी सुरु गरेको थियो । 

योजनाबारे केन्द्रीय मन्त्री अश्विनी वैष्णवले इलेक्ट्रोनिक्समा मुख्य चिज सेमिकन्डक्टर हुने बताएका थिए । उनले प्रधानमन्त्री मोदीले ऐतिहासिक निर्णय लिएको र उक्त फैसलाले सेमिकन्डक्टर चिप निर्माणको इकोसिस्टम भारतमा विकसित हुन सक्ने तथा यसमा ७६ हजार करोड रुपैयाँ लगानी स्वीकृत भएको उल्लेख गरेका थिए । त्यसो त केन्द्रीय सरकारको यो प्रोत्साहन योजना करिब १० अर्ब डलरको हो । रोयटर्सको एक समाचारअनुसार भारत सरकारले पिएलआई दिन ढिलाइ गरेका कारण पनि फक्सकन–वेदान्ता सम्झौता भंग भएको हुन सक्छ । सरकारले सन् २०२६ सम्म सेमिकन्डक्टर उत्पादनलाई ६३ अर्ब डलरसम्म पुर्‍याउने लक्ष्य राखेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई सेमिकन्डक्टर निर्माण हब बनाउने महत्वाकांक्षी योजना बनाएका थिए । फक्सकनको यो अप्रत्याशित निर्णयले मोदीलाई झट्का लाग्ने देखिन्छ ।

रोयटर्स भन्छ– भारत सरकारको प्रोत्साहन योजनाअन्तर्गत गत वर्ष प्लान्ट लगाउन तीन कम्पनी फक्सकन–वेदान्ता संयुक्त उत्पादन, सिंगापुरस्थित आइजिएस भेन्चर्स र वैश्विक उद्योग समूह आइसिएमसीले आवेदन दिएका थिए । आइसिएमसीको प्राविधिक सहयोगी कम्पनी टावर सेमिकन्डक्टर इन्टेलद्वारा अधिग्रहण भएपछि आइसिएमसीको तीन अर्ब डलरबराबरको योजना अहिले स्थगित छ । यसैगरी, आइजिएसको योजना पनि स्थगित भएको छ । तर, उसले पुनः आवेदन दिन सक्ने बताइएको छ । 

भारतले सेमिकन्डक्टर प्लान्ट लगाउनका लागि पुनः आवेदन माग गरेको छ । त्यसो त भारतसँग चिप उत्पादनमा कुनै अनुभव छैन । मोदीको यो महत्वाकांक्षी योजनाको डर भनेकै प्लान्ट लगाउने योजना बनाएका फक्सकन–वेदान्ता दुवैसँग चिप उत्पादनको अनुभव नहुनु थियो । अन्ततः यो अहिले टुंगिएको छ । वाल स्ट्रिट जर्नलसँगको संवादमा काउन्टर प्वाइन्ट रिसर्चका उपाध्यक्ष नील शाहले दुवै कम्पनी यो क्षेत्रमा नयाँ भएकाले पनि कुनै उत्साह नदेखिएको बताएका छन् । ‘यो योजना सुरुमै असफल हुनु फाइदाजनक हो,’ उनी भन्छन्, ‘अब अन्य प्रयासका लागि बाटो खुलेको छ ।’

भारतले माइक्रोनजस्ता अनुभवी सेमिकन्डक्टर उत्पादकमा आफ्नो प्रोत्साहन कार्यक्रम केन्द्रित गर्नुपर्ने शाहको भनाइ छ । गत महिना अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री मोदीलाई भेट्दै चिप निर्माता कम्पनी माइक्रोनले भारतमा ८२ करोड ५० लाख डलर निवेश गर्ने बताएको थियो । यद्यपि, यो लगानी चिप टेस्टिङ र प्याकेजिङको क्षेत्रमा हुनेछ, न कि उत्पादनमा । भारतीय सरकार र गुजरात राज्य सरकारको आर्थिक सहयोगमार्फत यो लगानी बढेर दुई अर्ब ७५ करोड डलर पुग्ने बताइएको छ ।