१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o६:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

क्यानबाट दैनिक दुई सय डलर भत्ता बुझ्ने गरी अध्यक्ष चन्द र सचिव पाठक आइसिसी बैठकमा

खेलाडीलाई पारिश्रमिक खुवाउन धौधौ भएका वेला दुई पदाधिकारी विदेश गएकोमा विरोध

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:२५:oo

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय विश्वकप ग्लोबल छनोट प्रतियोगितापछि एसिसी इमर्जिङ टिम्समा सहभागी हुन श्रीलंका गइसकेको छ । तर, ग्लोबल छनोट खेल हेर्न पुगेका नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव दुर्गाराज पाठक भने दक्षिण अफ्रिका पुगेका छन् । चन्द र पाठक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को बोर्ड बैठकमा सहभागी हुन त्यसतर्फ लागेका हुन् । 

आइसिसीको नियमअनुसार सम्बन्धित क्रिकेट संघका अध्यक्ष र महासचिव बोर्ड बैठकमा सहभागी हुन पाउँछन् । आइसिसीकै नियमअनुसार क्यानका दुवै पदाधिकारी बैठकमा सहभागी हुन गए । निर्वाचित सचिव अशोकनाथ प्याकुरेलको राजीनामापछि क्यानमा कार्यवाहक सचिवले नै कार्यभार सम्हाल्दै आइरहेका छन् । त्यही कारण पाठक पनि अध्यक्षसँगै दक्षिण अफ्रिकामा छन् । क्यानभित्र यी दुई पदाधिकारीको भ्रमणमाथि व्यापक विरोध भइरहेको छ । दुईजना नै क्यानबाट दैनिक दुई सय अमेरिकन डलर भत्ता बुझ्ने गरी गएका हुन् । 

बैठकमा सहभागी हुने नियमित प्रक्रिया भए पनि क्यानकै खर्चमा दैनिक दुई सय अमेरिकन डलर बुझ्ने गरी जाने निर्णयले अहिले क्यानभित्र ठूलो विवाद निम्त्याएको छ । जिम्बावेमा छनोट प्रतियोगिताको खेलसमेत हेर्न पुगेका चन्द र पाठकले क्यानबाटै दैनिक भत्ता बुझेका थिए । ढुकुटी सकाउन अनावश्यक खर्च गर्दै विदेश भ्रमण गरेको उनीहरूमाथि क्यानका पदाधिकारीले आरोप लगाएका छन् । १५ असारमा क्यानको बैठकले चन्द र पाठकको विदेश भ्रमण स्वीकृत गरेको थियो । 

बैठकको निर्णयमा जिम्बावे भ्रमण र दैनिक दुई सय अमेरिकन डलर भत्ता बुझ्ने नभएको केन्द्रीय सदस्य ऋषिराम गौतमले नयाँ पत्रिकालाई बताएका छन् । ‘अध्यक्ष र कार्यवाहक सचिव दक्षिण अफ्रिकाको डर्बनमा हुने आइसिसी वार्षिक सम्मेलनमा सहभागी हुने निर्णय भएको थियो, तर दुवै ग्लोबल छनोट हेर्न पनि पुगे, जुन बोर्डको निर्णयमा समावेश थिएन,’ गौतमले भने, ‘जिम्बावे भ्रमणको दैनिक भत्ता केही उल्लेख छैन ।’ 

 आफूखुसी निर्णय
गौतमले बोर्ड बैठकमा आफूखुसी निर्णय लिँदै अध्यक्ष र कार्यवाहक सचिव जिम्बावे पुगेको र भत्ता पनि लिएको बताए । ‘हामीले भत्ता खर्च धेरै उठ्ने भएकाले अध्यक्षज्यूलाई एक्लै जान अनुरोध गरेका थियौँ, कार्यवाहक सचिव पठाउन मिल्दैन पनि भन्यौँ,’ उनले भने, ‘तर, उहाँले मान्नुभएन । १६ दिनका लागि दुईजना जानुभयो ।’ गौतमले आइसिसीको बैठकमा क्यानका पदाधिकारी जानु कुनै समस्या नभएको बताए । तर, क्यानभित्र आर्थिक समस्या रहँदारहँदै दुईजना पदाधिकारी जानु उचित नभएको गौतमको भनाइ छ । 

आइसिसी विश्वकप छनोटमा ६ मध्ये ४ खेलमा पराजित भएको नेपालले नयाँ वरीयतामा एक स्थान गुमाएको छ । अघिल्लो पटक १४ औँ स्थानमा रहेको थियो । 

‘उहाँहरू जानु ठूलो कुरा हैन, तर खेलाडीले मासिक पारिश्रमिक र भत्ता नपाइरहेको समयमा प्रतिदिन दुई सय अमेरिकन डलर भत्तासहितको खर्च गर्नु राम्रो हैन,’ उनले भने, ‘क्यानलाई आर्थिक भार धेरै हुन सक्ने भनी उहाँहरूलाई हामीले धेरै सम्झाएका थियौँ ।’ निर्धारित कार्यक्रमको नौ दिनअघि नै पदाधिकारी भ्रमणमा निस्केको उनले बताए । ‘हामीलाई जिम्बावेको निमन्त्रणामा गएको भन्नुभयो, तर क्यानलाई निमन्त्रणापत्र आएको छैन,’ उनले भने, ‘उहाँहरूसँग आइसिसीको वार्षिक सम्मेलनमा बोलाइएको निर्णय माग गर्‍यौँ, तर बोर्ड बैठकमा देखाउन सक्नुभएन ।’ धनगढीमा भएको बोर्ड बैठकमा पदाधिकारीको दैनिक दुई सय अमेरिकन डलर भत्ताको अधिकांश पदाधिकारीले विरोध गरेका थिए । चन्दले अन्तिममा माइन्युट गरेको आरोप गौतमले लगाएका छन् । 

 थप एक कर्मचारी समावेश
यसैबीच, चन्द र पाठकसँगै एक कर्मचारी दक्षिण अफ्रिका पुगेका छन् । ग्लोबल छनोटका क्रममा नेपाली टोलीसँगै रहेका क्यानका तीन कर्मचारीलाई आफ्नो सहयोगीका रूपमा दक्षिण अफ्रिका लगेको क्यानका एक पदाधिकारीले दाबी गरेका छन् । ‘अध्यक्षले आफ्नो साथीका रूपमा कार्यवाहक सचिवलाई लानुभएको छ, तर एक कर्मचारीलाई पनि जिम्बावेबाटै उता बोलाउनुभएको रहेछ,’ उनले भने, ‘ती क्यान कर्मचारीको दक्षिण अफ्रिकामा बस्दाको सम्पूर्ण खर्च कसले बेहोर्ने हो ? उनको दक्षिण अफ्रिकाको भ्रमण निर्णय कसले गरेको हो ?’ दक्षिण अफ्रिकामा थप एक क्यान कर्मचारी पुगेको सम्बन्धमा आगामी बोर्ड बैठकमा प्रश्न उठाउने उनले बताए । 

 नेपालको एकदिवसीय वरीयता खस्कियो
ग्लोबल एकदिवसीय छनोटमा आठौँ स्थान प्राप्त गरेको नेपाल आइसिसीको नयाँ एकदिवसीय वरीयतामा एक स्थान खस्किएको छ । आइसिसीले मंगलबार जारी गरेको नयाँ वरीयतामा नेपाल १५औँ स्थानमा छ । भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान सुरक्षित गरेको नेदरल्यान्ड्स १४औँ स्थानमा उक्लेको छ । जिम्बावेमा उत्कृष्ट प्रदर्शन गरेको नेदरल्यान्ड्सले एक स्थान सुधार गरेको हो ।

 आइसिसी विश्वकप छनोटमा नेपाल ६ मध्ये ४ खेलमा पराजित भएको थियो । नेपाल समूह चरणमा वेस्ट इन्डिज, नेदरल्यान्ड्स र जिम्बावेसँग पराजित भएको थियो । नेपालले समूह ‘ए’मा अमेरिकालाई हराएको थियो । प्लेअफमा नेपालले युएईलाई हरायो । सातौँ स्थानका लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग पराजित भयो । 

विश्वकप छनोट खेलेको अमेरिका १७औँ, सुपर सिक्समा सबै खेल गुमाएको ओमान १८औँ र युएई १९औँ स्थानमा छन् । सुपर सिक्समा कमजोर प्रदर्शन गरेको आयरल्यान्ड १३औँ स्थानमा छ । सुपर सिक्समा तेस्रो स्थान हात पारेको स्कटल्यान्ड १२औँ स्थान र जिम्बावे ११औँ स्थानमा छन् । दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज १०औँ स्थानमा छ । अस्ट्रेलिया शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् । 
 

ad
ad