१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:४१:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कान्ति लोकपथको ठाउँ–ठाउँमा पहिरो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४१:oo

सडक निर्माण चाँडै सक्न भौतिकमन्त्री प्रकाश ज्वालाको निर्देशन 

सरकारले हेटौँडा तथा तराई क्षेत्रबाट काठमाडौं उपत्यका प्रवेश गर्ने वैकल्पिक र छोटो सडकखण्डका रूपमा अघि सारेको कान्ति लोकपथ सडक पहिरोका कारण जोखिमपूर्ण बनेको छ । यो सडक हुँदै हेटौँडा तथा दक्षिण ललितपुरबाट काठमाडौं छिटो आइपुगिने भए पनि बर्खा लागेसँगै पहिरोले अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती भोग्न थालेका छन् । 

यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मन्त्रालयका सचिव केशवकुमार शर्मालगायतको टोलीले शुक्रबार कान्ति लोकपथको अवलोकन निरीक्षण गरेका छन् । उक्त टोलीले कान्ति लोकपथमा रहेका जोखिमपूर्ण चट्टान र भिरपाखा व्यवस्थित पार्नुपर्ने निष्कर्ष निकालेको छ । मन्त्री ज्वालाले भने, ‘यो सडक लामो समयदेखि निर्माण सम्पन्न हुन सकेको छैन, उपत्यका र तराई जोड्ने छोटो मार्ग भएकाले सरकारले प्राथमिकतामा राखेर काम गर्छ ।’ उनले ठेकेदार कम्पनीलाई अब छिट्टै काम सक्न निर्देशन दिने बताए । बर्खा लागेसँगै सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुने गरेको छ । यहाँको भूबनोटका हिसाबले यो सडकखण्ड जोखिमपूर्ण मानिन्छ । सडकछेउ अग्ला पहाड र चट्टान भएकाले भट्टेडाँडा क्षेत्र अझ बढी जोखिमपूर्ण छ ।

अझै पाँच किलोमिटर कालोपत्रे गर्न बाँकी
कान्ति लोकपथको ०१३ सालमा राजा महेन्द्र शाहका पालामा नेपाली सेनाले ट्र्याक खोलेको थियो । यसपछिका सरकारको प्राथमिकतामा नपर्दा र ठेकेदार कम्पनीको ढिलासुस्तीले ६६ वर्षसम्म पनि निर्माणाधीन अवस्थामै छ । आर्थिक वर्ष ०८०/८१ मा पनि सरकारले यो सडक स्तरोन्नति, कालोपत्रे र ढलानका लागि बजेट विनियोजन गरेको छ । कुल ९२ किलोमिटरमध्ये पाँच किलोमिटर कालोपत्रे गर्न अझै बाँकी छ । कान्ति लोकपथ विस्तार आयोजनाका अनुसार ललितपुरतर्फ टीकाभैरव–भट्टेडाँडा साढे दुई किलोमिटर, छपेली–काल्चेभिरमा एक किलोमिटर खन्न बाँकी छ ।

यस्तै, मकवानपुरतर्फ लेनडाँडा, सिमातखोला क्षेत्र र बगुवा क्षेत्रमा दुई किलोमिटर सडक खन्न बाँकी छ । उक्त आयोजना पूरा हुन तीन अर्ब ३१ करोड ७० लाख खर्च हुने अनुमान छ । हाल कान्ति लोकपथ विस्तारमा तीनवटा ठेकेदार कम्पनीमार्फत काम भइरहेको छ । बिरुवा एसएस सुनकोसी जेभी (०७३), सूर्य वाइबा जेभी (०७५) र नागार्जुन सर्वशक्ति जेभी (०७५) ले कालोपत्रे, वाल लगाउने र ढलानको काम गरिरहेका छन् । आयोजना निर्माणमा बजेट अपुग देखिएकाले थप बजेट मागेर काम भइरहेको आयोजना प्रमुख सुरेश आचार्यको भनाइ छ । उनका अनुसार ०८०/८१ मा आयोजना पूरा हुने देखिन्छ । यो वर्ष विनियोजित बजेट पनि सन्तोषजनक रहेको उनको भनाइ छ । ‘आगामी वर्ष निर्माण सकेर सडक व्यवस्थित हुन्छ,’ उनले भने । यो सडक काठमाडौं–हेटौँडाका लागि वैकल्पिक सडक भएकाले ०६५ मा ‘कान्तिलोकमार्ग’ नाम दिएर आयोजना अघि बढाएको थियो । 

सडकको ९२ किमिमध्ये ७९ किमि आयोजना र अन्य सडक निर्माण सडक डिभिजनको जिम्मामा रहेको छ । कान्ति लोकपथको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर छ । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्डका निर्माण जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । हाल टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा गरिसकेको छ ।

त्यहाँदेखि सातदोबाटोसम्म भने निजी घरटहरा रहेका कारण चौडा पारिएको छैन । घरटहरा, बिजुलीका तार र सडकका अन्य अवरोध हटाउने कार्य ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाको हो । तर, यो काम केन्द्र सरकारले नै गर्नुपर्ने गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए । ‘ठूलो सडक हामीले बनाउन सक्दैनौँ, यस क्षेत्रमा ठूलो मुआब्जा रकम पनि चाहिन्छ,’ उनले भने, ‘यसमा स्थानीयसँग समन्वय गरेर र केन्द्र सरकारको सहयोगमा मात्रै काम गर्न सकिन्छ ।’

आयोजनाका अनुसार हालसम्म कान्ति लोकपथको भौतिकतर्फ ९२ र आर्थिकतर्फ ८९ प्रतिशत प्रगति भएको छ । हालसम्म दुई अर्ब ८५ करोड रुपैयाँ खर्च भइसकेको छ । आर्थिक वर्ष ०८०/८१ मा सरकारले आयोजनाका लागि २० करोड बजेट विनियोजन गरेको थियो । त्यस्तै, कान्ति लोकपथमा पर्ने चापागाउँ टाहाखेल सडकनजिकका घर भत्काउन गोदावरी नगरपालिकाले सूचना जारी गरिसकेको छ । 

ad
ad