१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
सडक अनुगमन गर्दै कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई
Invalid date format १३:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

असारे विकास : एक सातामै उप्कियो कालोपत्रे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

असारमा हतारमा काम गर्ने प्रवृत्तिका कारण झापामा कालोपत्रे गरेको एउटा सडक एक हप्ता नबित्दै उप्किएको छ। सडक डिभिजन कार्यालय दमकले ठेक्का लगाएको कमल गाउँपालिकाको गुहारीदेखि गौरादह नगरपालिकाको दाम्म्राभिट्टा जोड्ने सडक पक्की गरेको एक हप्तामै कालोपत्रे उप्किएको हो।

सडक डिभिजन कार्यालय दमकले १३ किलोमिटरको यो सडक ०७९ असारमा १८ करोडमा ठेक्का लगाएको थियो। ०८१ असारमा सक्ने गरी यो सडक निर्माणको जिम्मा गीताञ्जली जे एन्ड जे जेभीले लिएको थियो। यो सडकको पहिलो खण्डअन्तर्गत कमल गाउँपालिका– ७ मा पर्ने करिब ६ किलोमिटर सडकको गुणस्तरमाथि प्रश्न उठेको छ। बर्खाको मौसममा हतारमा कालोपत्रे गर्दा केही दिनमै कालोपत्रे उप्किएको हो।

‘राति कालोपत्रे गर्न नपाइने हुँदाहुँदै रातारात कालोपत्रे गरेको सडक एक हप्ता पनि नभई उप्किएको छ। हामीले गएर हेर्‍यौँ। यो सडक गुणस्तरहीन बनेको छ,’ कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भने, ‘सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलमाथि नै शंका उब्जिएको छ। सडक पुनः कालोपत्रे वा मर्मत नभए डिभिजन प्रमुखलाई विभागीय कारबाही गर्नुपर्छ।’

गत वर्ष नै ठेक्का लागेको यो सडक निर्माणको काम निर्माण कम्पनीले मध्य असारको झरीमा रातारात गरेका कारण कालोपत्रे उप्केको स्थानीयको भनाइ छ।

यद्यपि, सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले भने सानो कुरालाई ठूलो बनाइएको भन्दै बचाउ गरे। उनले काम गुणस्तरीय भएको दाबी पनि गरे। ‘काम गर्दा–गर्दै दुई ठाउँमा अलिकति बिग्रिएको रहेछ। निर्माण कम्पनीले चार किलोमिटर पिच गरिसक्यो। दुई मिटर सेक्सनमा पनि काम बिग्रिएको छैन। फेरि बेलुका गरेको बिहान खोतल्न थाल्नुभएको छ,’ उनले भने, ‘यो बाक्लो पिच पनि होइन। सस्तो प्रविधिको हो, सेट हुन पाएको भए समस्या हुने थिएन। बिग्रेको ठाउँमा सुधार नै गर्नुहुन्छ। लापरबाही पनि होइन, हेलचेक्र्याइँ पनि होइन। सानो कुरालाई ठूलो बनाइयो।’

पौडेलले काम गर्ने समय नै कम भएकाले असारमा काम गर्नुपर्ने अवस्था आएको बताए। ‘नेपालमा काम गर्ने समय नै कम हुन्छ। असारदेखि असोजसम्म पानी पर्छ। कहिले क्रसर बन्द हुन्छ, माल निकाल्न पाइँदैन। सबै कुराले वातावरण मिलेको वेला काम गर्ने हो,’ उनले भने, ‘यो राति काम गर्ने भन्ने उद्देश्यले गरेको पनि होइन। उहाँको कम्पनीमा दिउँसो बनेको माल काम गर्दागर्दै केही ढिला भयो होला। त्यसै खेर फाल्ने कुरा पनि भएन। राति काम गर्न हुँदैन भन्ने होइन।’ 

गुनासो आएपछि प्राविधिकको टोलीले जाँच गर्ने क्रममा केही समस्या नदेखिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख पौडेलले दाबी गरे।