१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिराहाका पाँच पालिकाले दीर्घ राेगबाट पीडितलाई अझै दिएनन् मासिक भत्ता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:o८:oo

सिराहा नगरपालिका–१९ सन्हैठाका रामविलास यादव ब्लड क्यान्सरले ग्रस्त छन्। लामो समयदेखि जेनतेन औषधि उपचार गराउँदै आएका यादवले सरकारले घोषणा गरेको दीर्घरोगीलाई दिने मासिक भक्ता आफूले नपाएकाे गुनासो गरे।

सिराहा नगरपालिकामा पटक-पटक आग्रह गरे पनि सरकारले घोषणा गरेको भत्ता पाउनबाट वञ्चित भएको उनले गुनासाे गरे। 

सिराहा नगरपालिका–७ का गंगा कामती पनि क्यान्सर रोगबाट उपचाररत छन्। कामतीले पनि सरकारले घोषणा गरेको मासिक पाँच हजार सुविधा पाउन सिराहा नगरपालिका दौडधूप गरेपछि बैंक खाता खोल्न लगाएको छ। बैंक खाता खोलेको दुई महिना बढी भइसक्दा पनि दीर्घरोगीलाई दिइने सुविधा पाउन नसकेको कामतीले गुनासो गरेका छन्।

लक्ष्मीपुर पतारी गाउँपालिका–६ का कृष्णा दासको दुवै मिर्गौला काम गर्दैन। अहिले उनी प्रादेशिक अस्पताल सिराहामा डायलासिस गराइरहेका छन्। 

आर्थिक अवस्था कमजोर रहेका दासलाई गाउँबाट सिराहा आउन र जान खर्चको कठिनाई हुन्छ। लक्ष्मीपुर गाउँपालिकाले दासलाई दीर्घरोगीलाई दिने मासिक सुविधा अझै रोकिराखेको छ।

सिराहा नगरपालिकामा ४० जना दीर्घरोगी रहेका छन्। सिराहा नगरपालिकाले प्राइम बैंकमा सबैलाई बैंक खाता खोल्न लगाएको छ। 

बैंक खाताको खोलेको दुई महिना बढी भइसक्दा पनि नगरपालिकाले दीर्घरोगीलाई दिने मासिक भत्ता निकासा गरेको छैन। जसले गर्दा सिराहा नगरपालिकाभित्रका दीर्घरोगीहरू जिल्ला प्रशासन कार्यालय गुहार्न पुगेका छन्।

नगरपालिकाले बेवास्ता गर्दा जिल्ला प्रशासनमा

सिराहा नगरपालिकाले नगरक्षेत्रभित्र रहेका क्यान्सर, मिर्गौला रोगबाट पीडित दीर्घरोगीलाई मासिक भत्ता दिने भन्दै सदरमुकाममा रहेको प्राइम बैंकमा खाता खोल्न लगाएका छन्। 

नगरक्षेत्रमा ४० जना दीर्घरोगी रहेको तथ्यांक सिराहा नगरपालिकाको स्वास्थ्य शाखासँग छ। बैंक खाता खोल्न लगाएर औषधी उपचार खर्चबापतको रकम पठाउन आलटाल गरेपछि आफूहरू जिल्ला प्रशासन कार्यालय सिराहा गुहार्न पुगेको सिराहा नगरपालिका–११ का दिलीप कामतीले बताए। ‘नगरपालिकामा दौडधुप गरे पनि बेवास्ता भयो,’ कामतीले भने, ‘त्यही भएर सिडियो साहबलाई निवेदन दियौँ।’

सिडियो राजेन्द्रदेव पाण्डेले दीर्घरोगीलाई दिने भत्ताको निम्ति आफूले नगरपालिकासँग पहल गर्ने आश्वासन दिएको सिराहा नगरपालिका–६ का सुरेन्द्र यादवले बताएका छन्। ‘बैंक खाता खोलिएको छ,’ स्वास्थ्य शाखा प्रमुख इद्रिश राइनले भने,‘सबै तयारी भए पनि रकम निकासा हुन सकेको छैन।’

औषधि खर्च पाँच हजार दिन मन्त्रालयको परिपत्र

सरकारले क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौलाको बिरामीलाई मासिक रु ५ हजार औषधि खर्च उपलब्ध गराउने निर्णय गरेको छ। बिरामीहरूको औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई हुने आर्थिक भार कम गर्न औषधि उपचारबापत खर्च उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।

०७८ मा संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले क्यान्सर, मिर्गौला, मेरुदण्डको पक्षघातजस्ता रोगका गम्भीर बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका थिए। 

यसका निम्ति गम्भीर प्रकारका रोगको औषधि उपचारबापत खर्च उपलब्ध गराउने कार्यविधि २०७८ पनि पारित गरिएको थियो। २०७८ चैत १३ गते स्वीकृत गरेको कार्यविधि कार्यान्वयनमा ल्याउन स्वास्थ्य मन्त्रालयले स्थानीय तहहरूमा परिपत्र गरिसकेको छ।

विसं २०७८ भदौ २५ गते सरकारले गरेको निर्णय कार्यविधि नबनेकै कारण कार्यान्वयन हुन सकेको थिएन। यसअघि २०७४ सालमा क्यान्सर, मेरुदण्ड र मिर्गौलाका बिरामीलाई जीविकोपार्जनका लागि पाँच हजार रुपैयाँ दिने निर्णय भएको थियो।

सिराहा जिल्लाका पाँच पालिकाले अझै दिएन

सिराहा जिल्लाका १७ स्थानीय तहमध्ये पाँच स्थानीय तहले दीर्घरोगीलाई मासिक पाँच हजार दिने निर्णय अझै कार्यान्वयन गरेको छैन। 

आफूसँग रकम नभएको बहाना बनाउँदै दीर्घरोगीलाई दिने सुविधाबाट वञ्चित गर्दै आइरहेका छन्। सिराहा नगरपालिका, सुखिपुर नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र भगवानपुर गाउँपालिकाले भत्ता उपलब्ध गराएको छैन।

लहान नगरपालिकाले ४३ जना, मिर्चैया नगरपालिकाले १८ जना, गोलबजार नगरपालिकाले ४५ जना, कल्याणपुर नगरपालिकाले २६ जना, धनगढीमाई नगरपालिकाले २८ जना, कर्जन्हा नगरपालिकाले २८ जना, विष्णुपुर गाउँपालिकाले ११ जना, बरियारपट्टी गाउँपालिकाले २१ जना, अर्नामा गाउँपालिकाले ११ जना, नवराजपुर गाउँपालिकाले १० जना, औरही गाउँपालिकाले १२ जना, सखुवानन्कारकट्टी गाउँपालिकाले ८ जनालाई मासिक पाँच-पाँच हजार बैंकमार्फत पठाउँदै आएको छ।

ad
ad