१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल भित्रियो रमडा : इटहरीमा पाँचतारे होटेल सञ्चालन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:१५:oo

अमेरिकी चेन होटेल ब्रान्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्रान्ड सेन्ट्रल होटेल ‘रमडा’का रूपमा सञ्चालनमा आउने भएको हो ।रमडाको मातृ कम्पनी विन्डहाम होटेल्स एन्ड रिसोर्ट र ग्रान्ड सेन्ट्रल होटेल प्रालिका अध्यक्ष बस्नेतबीच भारतको दिल्लीमा होटेल सञ्चालनका लागि सम्झौता भएको जनाइएको छ ।

सम्झौतापछि बस्नेतले नेपालको पर्यटन प्रवर्द्धन र होटेल व्यवसायको प्रवर्द्धनमा नयाँ खुड्किलो भएको बताए । उनले विन्डहाम होटेल्स कम्पनीसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको साझेदारी गर्ने जनाएका छन् । विन्डहाम होटेल्स एन्ड रिसोर्ट युरेसियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माले नेपालमा आफ्नो ब्रान्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगन्तुकलाई विश्वस्तरीय आतिथ्यता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

निर्माणाधीन पाँचतारे उक्त होटेल कुल आठ तलाको रहेको र यसमा ८० वटा कोठा रहने जनाइएको छ । सन् २०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटेलमा रेस्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुलजस्ता सुविधा रहेको उल्लेख छ । होटेलमा विवाह, पार्टी, सेमिनारका लागिसमेत कोठा व्यवस्थापन गरिने जनाइएको छ ।

भारतीय सीमा जोगबनी तथा विराटनगर एयरपोर्टबाट आधा घन्टाको समयमा पुग्न सकिने होटेलले धेरै मात्रामा भारतीय पर्यटकलाई विश्वस्तरीय होटेलको सुविधा दिने दाबी गरिएको छ । पूर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवसायीलाई आरामदायी र सुरक्षित आवासका साथै व्यावसायिक कार्यक्रमसमेत गर्ने वातावरण होटेलले प्रदान गर्ने अध्यक्ष बस्नेतले बताए । 

होटेलले एक सयजनाभन्दा बढीलाई रोजगारी दिनुका साथै विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा समेत योगदान दिने विश्वास व्यक्त गरेको छ । विन्डहाम होटेल्स एन्ड रिसोर्टस्लाई विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा आफ्ना फ्रेन्चाइजी वितरण गरिरहेको चेन होटेल कम्पनी मानिन्छ । यो अमेरिकी कम्पनीले ९५ देशका नौ हजारभन्दा बढी होटेलको व्यवस्थापन हेरिरहेको जनाइएको छ । एसियामै मात्र पनि २० वटा देशका एक हजार ६ सयभन्दा बढी होटेल रमडाले सञ्चालन गरिरहेको दाबी गरिएको छ ।  

ad
ad