१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
अपूर्वानन्द
२o८१ जेठ ८ मंगलबार १o:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

विश्वविद्यालयमा प्राज्ञिक स्वतन्त्रतालाई रेट्ने प्रयास 

Read Time : > 2 मिनेट
अपूर्वानन्द
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १o:१३:oo

विश्वविद्यालय तब मात्र जीवित हुन्छ, जब शिक्षक र विद्यार्थीको सम्बन्ध जीवन्त रहन्छ, तर अहिले विश्वविद्यालयका शिक्षकलाई सरकारी जागिरे बनाउने दुष्प्रयास हुँदै छ

दक्षिण एसियाली विश्वविद्यालय (साउथ एसियन युनिभर्सिटी) बाट निष्कासित भीमराज एमले अक्सफोर्ड विश्वविद्यालयमा छात्रवृत्तिसहित भर्ना पाए । विश्वविद्यालयबाट निकालिएपछि मात्रै उनको भर्ना चर्चाको विषय बन्यो । यो अवस्थामा भीमराजजस्ता जेहेनदार विद्यार्थी किन निष्कासित भए र त्यसपछि के भयो भन्नेबारे जान्न जरुरी छ । भीमराज निष्कासित भएर अक्सफोर्डमा भर्ना पाइरहँदा सो विश्वविद्यालयले चारजना शिक्षकलाई पनि निलम्बन गरेको छ । यो निलम्बन भीमराजको निष्कासनसँग जोडिन आइपुग्छ । यस विषयलाई केही अनलाइन मिडिया र पत्रपत्रिकाले समाचार बनाए पनि मामिला सार्वजनिक बहसको विषय नै बनेन । विद्यार्थीमाथि विश्वविद्यालयले गरेको अमानवीय व्यवहारविरुद्ध बोलेकै कारण शिक्षक दण्डित हुन्छन् भने यो हाम्रा लागि चिन्ताको विषय बन्नुपर्छ । विद्यार्थीका पक्षमा बोल्नुलाई विश्वविद्यालयले विद्यार्थीलाई प्रशासनविरुद्ध भड्काउने अपराधका रूपमा लिएको छ । यो तथाकथित अपराधका लागि शिक्षक दण्डित भएका छन् । ती शिक्षक विद्यार्थीमाथि भइरहेको अन्यायविरुद्ध किन बोले होलान् ? 

सेप्टेम्बर २०२२ देखि विद्यार्थीले एकाएक कटौती गरिएको छात्रवृत्तिबारे आन्दोलन गर्दै आएका थिए । विद्यार्थीका अनुसार बढ्दो मुद्रास्फीतिलाई हेर्दा छात्रवृत्ति वृद्धि हुनुपर्नेमा उल्टै कटौती भएको छ । विश्वविद्यालयका लैंगिक एवं यौन दुव्र्यवहार हेर्ने समितिमा विद्यार्थीले आफ्नो प्रतिनिधित्व खोजेका थिए । यो माग नाजायज होइन । अन्य सार्वजनिक विश्वविद्यालयमा कमसेकम उल्लिखित दुई समितिमा विद्यार्थी प्रतिनिधित्व हुने गर्छ । माग पूरा नहुँदा विद्यार्थीले धर्ना दिए र घेराउ गरे । प्रशासनले प्रहरी बोलायो । १३ जना शिक्षकले अन्तर्राष्ट्रिय विश्वविद्यालय परिसरमा प्रहरी बोलाउन हुन्थेन भनेर एक पत्र लेखेका थिए । उत्पन्न परिस्थितिलाई शान्त गर्न थुप्रै शिक्षकले विश्वविद्यालयका अधिकारीसँग संवाद गरेका थिए । शिक्षकको सल्लाह सुन्नुको सट्टा प्रशासनले पाँच विद्यार्थी निष्कासनदेखि भर्ना खारेजीसम्मका सजाय दियो । विद्यार्थीसँग संवाद गर्न आग्रह गर्दै शिक्षकले पुनः प्रशासनसँग भेटे । कुनै निष्कर्ष ननिस्केपछि विद्यार्थीले आमरण अनशन सुरु गरे । थुप्रै विद्यार्थी बिरामी भए र एकजना विद्यार्थी अम्मरलाई अस्पतालमा पटक–पटक भर्ना गर्नुपर्ने परिस्थिति आयो । क्रुद्ध विद्यार्थीले रजिस्ट्रारसामु बिरामी विद्यार्थीको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने माग राखे । अनशन जारी रह्यो । विश्वविद्यालय विद्यार्थीलाई दण्ड दिने निर्णयबाट पछाडि हट्यो तर नयाँ कारण देखाऊ आदेश माग गर्‍यो । र, दुई विद्यार्थी उमेश जोशी र भीमराजलाई विश्विद्यालयबाट निष्कासन गरियो । छात्रवृत्तिको माग गर्दा दण्डित भएका भीमराजले अक्सफोर्ड विश्वविद्यालयमा छात्रवृत्तिसहित भर्ना हुँदा चर्चामा आए । 

आन्दोलन गत डिसेम्बरमा रोकियो, तर डिसेम्बरको अन्त्यमा प्रशासनले चारजना शिक्षकमाथि कारण देखाऊ आदेश जारी गर्‍यो । यी शिक्षकलाई विद्यार्थीलाई आन्दोलन गर्न उक्साएको–भड्काएको, बिरामी अम्मरलाई अस्पतालमा भेटेको र प्रशासनलाई पत्र लेखेको आरोपमा कारण देखाऊ आदेशको माग राखियो । यी शिक्षकमध्ये केहीलाई विश्वविद्यालयको माक्र्सवादी अध्ययन वृत्तसँग जोडिएको भनेरसमेत अभियोग लगाइयो । लगत्तै उच्चस्तरीय सत्यतथ्य छानबिन समिति गठन गरियो र चारैजना शिक्षकलाई समितिको सामना गर्न भनियो । 

समितिमा शिक्षकलाई दिइएका लिखित प्रश्नको उत्तर दिन भनियो । छानबिनको यो उपाय देखेर शिक्षक स्तब्ध भए र अपमानित महसुस गरे । विरोध जनाउँंदै शिक्षकले प्रश्न विद्युतीय माध्यमबाट साझा गर्न माग गरेका थिए । समितिले माग अस्वीकार गर्‍यो र अवज्ञा गरे अवज्ञालाई प्रमाणका रूपमा लिने धम्की दियो । यो उच्चस्तरीय समितिमा वरिष्ठ शिक्षक पनि थिए । यी शिक्षक सदस्यले आफ्ना सहकर्मीलाई अपमान गर्न कुनै कसर बाँकी राखेनन् । जवाफमा चारजना शिक्षकले विश्वविद्यालयका अध्यक्षलाई पत्र लेखे । नतिजा चारैजना शिक्षक स्नेहाशिष भट्टाचार्य, श्रीनिवास बुर्रा, इर्फानुल्लाह फारुकी र रवि कुमार निलम्बित भए ।              

यो सबै घटनाक्रमले प्रशासनको असंवेदनशील रबैया झल्काउँछ । दक्षिण एसियाली विश्वविद्यालय प्रशासनले कुनै पनि विद्यार्थी र शिक्षकको मर्यादाको सम्मान गर्दैन । विश्वविद्यालयमा अन्य शिक्षक र विद्यार्थी पनि प्रताडित भइरहेका छन् । यी शिक्षक चुपचाप जागिर मात्रै खान सक्थे । के कक्षाकोठामा गएर पाठ्यक्रमअनुसार पढाउने काम मात्रै होइन र शिक्षकको ? शिक्षक कुनै पनि अभियानसँग किन जोडिनुपर्‍यो ? यथार्थमा यी शिक्षकले आफ्नो कर्तव्य पूरा गरेका मात्र हुन् । विश्वविद्यालय भनेकै शिक्षक र विद्यार्थीबीचको समतामूलक आदानप्रदान न हो । शारीरिक, मानिसक रूपमा विद्यार्थी जे–जस्तो हालमा होऊन्, तिनलाई लेक्चर दिने न हो भन्न सजिलो छ तर के त्यो उपयुक्त हो ? विद्यार्थी आमरण अनशनमसा बसिरहँदा शक्ति र अन्यायको सम्बन्धबारे शिक्षकले कक्षामा प्रवचन दिनुजत्तिको विडम्बना के हुन सक्छ ?  

भारतमा शिक्षकको निगरानी र पहरेदारी गर्ने प्रवृत्ति एकदमै बढी छ । यो आलेख लेख्दै गर्दा प्रेसिडेन्सी विश्वविद्यालय कोलकाताले शिक्षक र विद्यार्थीका लागि नियमनकारी आचारसंहिता जारी गरेको छ । शिक्षकलाई बोल्न, लेख्न र सार्वजनिक अभियान चलाउनबाट रोक्ने प्रयास भइरहेका छन् । जवाहरलाल नेहरू विश्वविद्यालयदेखि जामिया मिलिया इस्लामियासम्मका शिक्षक संघर्षरत छन्, तर यी कुनै सार्वजनिक स्मृतिमा अटाएका छैनन् । विश्वविद्यालय तब मात्र जीवित हुन्छ, जब शिक्षक र विद्यार्थीको सम्बन्ध जीवन्त रहन्छ, तर अहिले विश्वविद्यालयका शिक्षकलाई सरकारी जागिरे बनाउने दुष्प्रयास हुँदै छ । यो अवस्थामा हामी मौन हुनुले विश्वविद्यालयका स्वतन्त्र मतको मृत्यु भएको संकेत गर्छ ।

(अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा हिन्दी पढाउँछन्) 
डेक्कन हेराल्डबाट

 

ad
ad