१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १७ आइतबार
  • Friday, 09 May, 2025
नवीन अर्याल काठमाडाैं
२o८o असार १७ आइतबार o९:३१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्री एयरलाइन्सले आज सबै उडान स्थगित गरी जहाजको प्राविधिक परिक्षण गर्दै

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १७ आइतबार o९:३१:oo

उडिरहेकै जहाजमा समस्या देखिन थालेपछि श्री एयरलाइन्सले आज सबै उडानहरु स्थगित गरेर जहाजको प्राविधिक परीक्षण सुरु गरेको छ । शनिबार काठमाडौंबाट धनगढीका लागि उडेको श्रीको उडान नम्बर २२५ जहाजमा प्राविधिक समस्या देखिएपछि क्याप्टेनले काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराएका थिए ।

आगामी दिनमा प्राविधिक समस्या नदोहोरियोस भनेर सबै विमानको सम्पूर्ण प्राविधिक परिक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए । ‘यात्रु महानुभावलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनु हाम्रो प्राथमिकता हो,’ उनले भने, ‘भोलीका दिनमा यस्ता समस्या नदोहोरिउन भन्ने हेतुले नै एक दिन सबै उडान स्थगित गरेर जहाजहरुको प्राविधिक चेकजाँच गर्न लागिएको हो ।’

यसअघि श्री एयरलाइन्सको ड्यास क्यू४०० जहाज काठमाडौंबाट भैरहवाका लागि उडान गर्दा इन्जिनबाट फायर वार्निङ आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नुपरेको थियो । लगत्तै नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले (क्यान)ले श्रीका सबै जहाज ग्राउन्डेड गरेर प्राविधिक जाँच गरेको थियो । क्यानका प्राविधिक टोलीले जाँच गर्दा सबै जहाज उडानयोग्य भेटिएपछि अर्को दिन नै उडान प्रतिबन्ध फुकुवा गरिदिएको थियो ।

आइतबार श्रीकै इञ्जिनियरको टोलीले जहाजको प्राविधिक परिक्षण गर्ने कार्यक्रम रहेको प्रवक्ता मानन्धरले जानकारी दिए । श्रीले काठमाडौंबाट विराटनगर, भैरहवा, पोखरा र धनगढीमा दैनिक १७–१८ उडान गर्दै आइरहेको थियो । आइतबार श्रीबाट उडान गर्न लागेका यात्रुलाई टिकटको पैसा रिफन्ड गर्नेदेखि सोमबारको उडानमा एडजस्ट गरिरहेको मानन्धरले बताए । 

श्री एयरलाइन्ससँग आठवटा जहाज रहेका छन् । तर, लामो समयदेखि चारवटा जहाजबाट मात्रै उडान गर्दै आइरहेको छ । अहिले श्रीले एउटा सीआरजे र तीनवटा क्यू ४०० जहाजले मात्र उडान भरिरहेको छ । अरू जेट इन्जिन जहाजले लामो समयदेखि उडान गरेका छैनन् । यी जहाजको आम्दानीभन्दा सञ्चालन खर्च धेरै हुँदा थन्क्याएर राखेको हो ।