१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दाइजो नल्याएको भन्दै श्रीमती र छोरीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:१३:oo

दाइजोको निहुँमा रौतहटमा बालिकासहित एक महिलाको हत्या भएको छ। जिल्लाको मौलापुर नगरपालिकामा श्रीमानसहित परिवारका सदस्यहरू मिलेर आमाछोरीको हत्या गरेको मृतक महिलाका माइती पक्षले आरोप लगाएका छन्।

मौलापुर नगरपालिका वडा नम्बर ४ बौधा पतौरा धीरेन्द्र साहको २४ वर्षीय माला भन्ने कविता साह र उनकी दुई वर्षकी छोरी आरोही साहको शुक्रबार राति परिवारका सदस्यहरूले निर्घात कुटपिट गरेर हत्या गरेका हुन्।

तीन वर्षअघि सामाजिक रीतिरिवाजअनुसार माधवनारायण नगरपालिका ५ मिठुअवाका विजयशंकर साहले आफ्नो छोरीको बिहे मौलापुर नगरपालिका ४ बौधा पतौरा गाउँका नागेन्द्र साहको छोरा धीरेन्द्र साहसँग गरिदिएका थिए।

बिहेअघि कबोल गरेको दाइजो दिन नसकेका कारण आफ्नी छोरी र नातिनीको हत्या गरेको मृतकका बाबु विजयशंकर साहले बताए। मोटरसाइकल, पलङ, भैँसी, सिक्री माइतीबाट लिएर आइज भन्दै ज्वाइँले छोरीमाथि दबाब दिँदै आएको र आफूले दिन नसकेका कारण नातिनीसहित छोरीलाई कुटीकुटी मारेको साहको भनाइ छ।

ज्वाइँ धीरेन्द्रको परिवारले शुक्रबार राति १२ बजेको समयमा छोरीलाई निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेपछि भर्‍याङमा झुन्ड्याइएको र दुईवर्षे नानीलाई घरको पंखामा झुन्ड्याएर मारेको उनले बताए।

मृतकका बुवा विजयशंकरका अनुसार बिहान ३ बजेको समयमा छिमेकीले फोन गरेर छोरीलाई ज्वाइँका परिवारले कुटेर हत्या गरेको जानकारी दिएको साहको भनाइ रहेको छ ।

आफूले त्यसपछि प्रहरीलाई खबर गरेर मौलापुर पुगेको साहले बताए। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढामगर घटना भएको स्विकार्दै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको तथा मृतकको श्रीमान् र ससुराको खोजी कार्य जारी रहेको बताए।

श्रीमती र छोरीको हत्या पछि धीरेन्द्र साह र उनको परिवारका सदस्य फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख बुढामगरले जानकारी दिए।

 

ad
ad