१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १४ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o असार १४ बिहीबार १५:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अदालतबाट न्याय नपाएको भन्दै मृतक बालकका आफन्तद्वारा प्रदर्शन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १४ बिहीबार १५:१५:oo

मृतक बालक परिवारले न्याय नपाएको भन्दै रौतहटको चन्द्रपुरका स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्। चन्द्रपुर– ४ स्थित चन्द्रनिगाहपुरमा गत ७ महिनाअघि भएको सवारी दुर्घटनामा १० वर्षीय बालक सम्राट तिमल्सिनाको ज्यान गएको थियो। 

सम्राटलाई तिमल्सिनाका छिमेकी रमेश घिमिरेले चलाएको मोटरसाइकलले घरनजिकैको सडकमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। 

गत ३ मंसिर भएको दुर्घटनामा मृतक बालकले ज्यान गुमाएका थिए । मृतक परिवार, छरछिमेक तथा मावली र आफन्तले बिहीबार न्याय दिनुपर्ने निकायले मुद्दामा विपक्षीलाई उन्मुक्ति दिएको भन्दै विरोध जनाएका हुन्। 

जिल्ला अदालत रौतहटमा सन्तोष तिमल्सिनाले गत मंसिर २९ गते रमेश घिमिरेलाई प्रतिवादी बनाई सवारी ज्यान मुद्दा दर्ता गरेका थिए। सो मुद्दामाथि जिल्ला अदालत, रौतहट गौरले गएको जेठ ३० गते फैसला गरेको थियो। जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले आंशिक अभियोग दाबी पुग्ने भन्दै फैसला सुनाएको थियो। प्रतिवादी घिमिरे ६ महिना जेल सजाय तथा दुई हजार रुपैयाँ बुझाएर थुनामुक्त भएका थिए।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा व्यवस्था भएअनुसार दफा १६१ (१)मा पाँच वर्षदेखि १२ वर्षसम्म कैद व्यवस्था छ । त्यसैगरी सो दफा (२) मा अधिकतम दुईदेखि १० वर्षसम्म कैद र सोही दफाको (३) एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

यसरी हेर्दा घिमिरेको मोटरसाइकल दुर्घटना प्रकरणमा मुद्दा अभियोजन हुँदा सो दफाको ३ नम्बर लगाएर मुद्दा किनारा गरेको देखिएको छ।

दुर्घटनाबाट सवारी ज्यान मुद्दाका अभियुक्त छुटेपछि न्यायालयबाट पीडित परिवारले न्याय नपाएको भन्दै मृतक बालककी आमा सरस्वती तिमल्सिनाले यसअघि नै भावविह्वल हुँदै सामाजिक सञ्जालमा भिडियो राखेपछि यस विषयले चर्चा पाएको थियो। 

मुद्दा फिर्ता लिने सहमति नगरेको र हाम्रो जानकारीविना अदालतबाट हाम्रो अनुपस्थित मै फैसला सुनाएपछि न्याय खोज्न कहाँ जाने भन्दै मृतक बालककी आमा सरस्वतीले दुःखेसो पोखेकी थिइन्। रौतहट क्षेत्र नम्बर चारका संघीय सांसद देवप्रसाद तिमिल्सिनाको पहलमा दोषीलाई उन्मुक्ति दिइएको पीडित परिवारको आरोप छ।