
भन्सार छलीमा मिलेमतोको आशंकामा राजस्व अनुसन्धान विभागले विभिन्न भन्सार कार्यालयका कर्मचारीमाथि छानबिन अघि बढाएको छ । केही कर्मचारीसँग बयान लिइसकेको छ भने थप केहीलाई बयानका लागि पत्राचार गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका ४२ कर्मचारीलाई बयानका लागि विभागले गत साता मात्र पत्राचार गरेको छ । तीन वर्षदेखि नक्कली एरोबिल (हवाई भाडाको बिल)का आधारमा सामानको जाँचपास गरी भन्सार छली गरेको प्रकरणमा कर्मचारीहरू पनि छानबिनमा तानिएका हुन् ।
एक कम्पनीले ०७७ देखि वास्तविकभन्दा फरक बिल बनाएर भन्सार छल्दै आएको खुलेको छ, जसमा कर्मचारीको समेत मिलेमतोको आशंकामा विभागले सबैलाई बयानमा बोलाएको हो । सो कम्पनीका सामान जाँचपासमा संलग्न कर्मचारीलाई बोलाइएको विभागका एक अधिकारीले बताए । कम्पनीका सञ्चालकहरूसँग विभागले बयान लिइसकेको छ । यद्यपि, सो कम्पनीले पछि भन्सार कार्यालयमा थप भन्सार शुल्क बुझाइसकेको छ ।
त्यस्तै, चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसँग पनि विभागले हालै बयान लिएको छ । ती भन्सारबाट छुटेका केही गाडी नियन्त्रणमा लिएर छानबिन गर्दा न्यून भन्सार लिइएको खुलेपछि कर्मचारीको पनि बयान लिइएको हो ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार भन्सार छलीमा कर्मचारीको मिलेमतो पुष्टि भएमा उनीहरूविरुद्ध समेत मुद्दा चलाउन सकिने प्रावधान छ । सोहीअनुसार विभागले विगतमा विभिन्न भन्सार कार्यालयका कर्मचारीविरुद्ध मुद्दा दायर गरिसकेको छ ।
अहिले पनि भन्सार कार्यालयका दर्जनौँ कर्मचारी छानबिनमा तानिएका हुन् । अनुसन्धानको क्रममा कमजोरी देखिएपछि विभिन्न भन्सार कार्यालयका कर्मचारीलाई बयानमा बोलाइएको विभागका महानिर्देशक नारायण सापकोटाले बताए ।