१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o९:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पूर्वी नेपालको बाढीले ३० आयोजनामा साढे आठ अर्ब क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:o२:oo

पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा साढे आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले चार सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रारम्भिक अध्ययनले देखाएको हो ।

उत्पादनमा रहेका १३२ मेगावाटका १३ आयोजनामा करिब ६ अर्बको क्षति
पूर्वी नेपालमा आएको अप्रत्याशित बाढीका कारण १३२ मेगावाट विद्युत् उत्पादन गरिरहेका १२ आयोजनामा करिब ६ अर्ब रुपैयाँबराबरको क्षति भएको इप्पानले जनाएको छ । विद्युत् उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी–१ मा ५० करोड रुपैयाँबराबरको क्षति भएको छ । उत्पादनमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत् आयोजनामा एक अर्ब रुपैयाँबराबरको क्षति भएको आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिए ।

भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा–२ जलविद्युत् आयोजनामा ९० करोडबराबरको क्षति भएको मेन्छियाम हाइड्रोपवारका अध्यक्ष एवं संखुवासभाबाट प्रतिनिधिसभा सदस्य दीपक खड्काले बताए । उनका अनुसार उक्त आयोजनामा हेडवक्र्स, पाइप अलाइनमेन्ट, पावर हाउसलगायतका भौतिक संरचना पूर्ण रूपमा क्षति भएर आयोजनाको पुनर्निर्माणका लागि दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको छ । त्यस्तै, १४.९ मेगावाट क्षमताको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनामा ९५ करोड रुपैयाँबराबरको क्षति भएको आयोजनाका प्रवद्र्धक पुष्पज्योति ढुंगानाले जानकारी दिए ।

निर्माणाधीन ३२७ मेगावाटका १७ आयोजनामा साढे दुई अर्बभन्दा बढीको क्षति 
बाढीका कारण पूर्वी नेपालका चार जिल्लामा निर्माणाधीन १७ जलविद्युत् आयोजनामा साढे दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । निर्माणाधीन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत् आयोजनामा ८० करोड रुपैयाँबराबरको भएको छ । उक्त आयोजना निर्माणमा खटिएका १८ जना मजदुरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । त्यसमध्ये अहिलेसम्म चार जनाको मात्र शव भेटिएको छ । 

९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा आयोजनाको पुनर्निर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताए । त्यस्तै, ९७.५ मेगावाटको इसुवा खोला जलविद्युत् आयोजनामा ५० करोड रुपैयाँबराबरको क्षति भएको आयोजनाका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेले जानकारी दिए । ९.७ मेगावाटको इंग्वा खोलामा पनि ५० करोडबराबरको क्षति भएको आयोजनाका प्रवद्र्धक सतिश न्यौपानेले जानकारी दिए ।

प्रभावित आयोजनाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै इप्पान
इप्पानले बाढीले प्रभावित आयोजनाबारे प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, राष्ट्र बैंकका गभर्नर र बिमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर जानकारी दिने तयारी गरेको छ । इप्पान अध्यक्ष गणेश कार्कीले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै सम्बद्ध सबै मन्त्रालयका मन्त्री र कार्यकारी प्रमुखलाई एक ठाउँमा राखेर प्रभावित आयोजनाबारे प्रस्तुतीकरणका लागि समय माग गरेका छन् ।

ad
ad