१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

कुन हो वास्तविक बस्ती ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१२:oo

एक साधु सहरको कोलाहलदेखि पर एकान्तमा कुटी बनाएर बस्थे । सहर र आसपासको इलाकामा उनको नाम निकै चलेको थियो । त्यसैले, टाढा–टाढाबाट पनि मानिसहरू उनको कुटीमा आएर साधुसितको सत्संगमा रमाउँथे । उनको कुटीको बाटो हुँदै कैयौँ अपरिचित मानिस पनि यात्रा गर्थे । कैयौँ यात्री कुटीमा आराम गरेर आफ्नो बाटो लाग्थे । उनको आश्रममा आइपुग्ने कैयौँ अपरिचित उनीसित बस्ती पुग्ने बाटो सोध्थे । उनी अगाडिको मार्गतिर संकेत गरिदिन्थे । 

कसैले कुनै अर्को बाटो पनि बस्तीतिर जान्छ कि भनेर सोध्दा उनी होइन, यही बाटो बस्तीतिर जान्छ भनिदिन्थे । जब मानिस उनले बताएको मार्गबाट अघि बढ्थे, उनीहरू मसानघाट पुग्थे । मानिस भित्रभित्रै मुर्मुरिन्थे । साधुलाई गाली गर्दै अर्को बाटो खोजेर बस्तीतिर अघि बढ्थे । बस्तीको साटो मसानघाट पुगेपछि एकपटक एक यात्रीलाई निकै रिस उठ्यो । उनी फर्केर साधुको कुटीमै आइपुगे । आफूलाई गलत बाटो बताइदिएको भन्दै उनी साधुसित निकै रिसाए ।

उनले साधुलाई गाली गरुन्जेल साधु मौन रहे । जब यात्री थाकेर शान्त भए, तब साधुले भने– मित्र, तपाईं त निकै रिसाउनुभयो । के मसान बस्ती होइन र ? तपाईंं जसलाई बस्ती भन्नुहुन्छ, त्यहाँ हरेक दिनजसो कसै न कसैको मृत्यु भई नै रहेको हुन्छ । परिवारका सदस्यको मृत्यु भएपछि त्यो घर उजाड हुन्छ । र, तिनै उजाड घरका मृतकका कारण मसान बस्तीमा परिणत हुँदै जान्छ ।

तपाईंले भनेको बस्तीमा मानिसहरू आउँछन्, जान्छन् । तर, मसानमा त मानिसहरू एकपटक पुगेपछि कहिल्यै त्यहाँबाट अन्यत्र जाँदैनन् । मसान त झनै स्थायी बस्ती हो । भोलि तपाईं पनि त्यही बस्तीको सदस्य बन्नुहुन्छ, होइन र ? त्यसैले, मैले तपाईंहरूलाई सही बस्तीको बाटो देखाइदिएको हुँ ।साधुको तर्क सुनेर यात्रुको रिस शान्त भयो । उनी साधुसित बिदा भएर आफ्नो बाटो लागे ।

ad
ad