
भारतको बेंग्लोरमा १४औँ संस्करणको दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप बुधबारदेखि सुरु हुँदै छ । समूह ‘ए’मा साबिक उपविजेता नेपालले कठिन प्रतिद्वन्द्वी कुवेतसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । साफ च्याम्पियनसिपमा लेबनान र कुवेत आमन्त्रित राष्ट्रका रूपमा रहेका छन् । तीन वर्षअघि माल्दिभ्समा उपविजेता बनेको र अहिलेको नेपाली टोलीबीच धेरै परिवर्तन भएको छ । माल्दिभ्समा उपविजेता बनेको अधिकांश सिनियर खेलाडी अस्ट्रेलिया पलायन भएका छन् । प्रशिक्षक भिसेन्जो अल्वर्टो धेरै युवा तथा सिनियर खेलाडीका साथ बेंग्लोर पुगेका छन् ।
यसका कारण प्रशिक्षक भिसेन्जोमाथि राम्रो नतिजा निकाल्न चुनौती छ । फेरि नेपालले साफका लागि सामान्य प्रशिक्षण मात्र गरी सहभागिता जनाएको हो । नेपालले फिलिपिन्समा केवल एउटा मात्र अभ्यास खेल खेल्दै सीधै भारत लागेको हो । लगातार तीन महिना सहिद स्मारक ‘ए’ डिभिजन लिग चल्दा अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लोज क्याम्प राख्न सकेन । एन्फाले क्लोज क्याम्प राख्दा पनि ‘ए’ डिभिजन लिगमा आबद्ध क्लबले खेलाडी रिलिज नगर्ने धम्की दिएका थिए ।
घरेलु भूमिमा नेपाली खेलाडीले अभ्यास नै गर्न पाएनन् । एसियाली फुटबलमा बलियो मानिने कुवेतसँगको नेपालको प्रदर्शन राम्रो छैन । कुवेतसँग अहिलेसम्म नेपालले ९ खेल खेलेको छ । नेपाल आठ खेलमा कुवेतसँग पराजित भएको छ । सन् २०१९ मार्चमा भएको मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो । कुवेतविरुद्धको उत्कृष्ट नतिजा नै यही नै हो । नेपाललाई समूह चरण पार गर्न नै कठिन छ । यस समूहमा साबिक विजेता भारतसँगै फिफा निलम्बनबाट फर्केको पाकिस्तान पनि छ ।
नेपालको थोरै तयारी
आयोजक भारतले बेंग्लोरमा मंगलबार च्याम्पियनसिप सुरु हुनुअघि आयोजना गरेको प्रिम्याच कन्फरेन्समा नेपालका प्रशिक्षक भिसेन्जोले तयारीका लागि थौरै समय भएको बताएका छन् । खेलाडीले थोरै तयारी गरे पनि उनीहरू सकारात्मक रहेको प्रशिक्षक भिसेन्जोको भनाइ रह्यो । ‘हाम्रो अभ्यास सेसन धेरै भएन, अहिले हामीसँग जे छ, त्यसैमा काम गर्नुपर्छ,’ प्रि–पोस्ट म्याचमा भिसेन्जोले भने, ‘खेलाडी राम्रो नतिजा निकाल्न सकारात्मक छन्, हामीले नयाँ अनुभवमा विश्वास गर्नुपर्छ ।’ फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलबाट खेलाडीले धेरै फाइदा लिएको उनले बताएका छन् ।
फिलिपिन्सविरुद्धको खेलमा भिसेन्जोले लाकेन लिम्बू र विमल पाण्डेलाई डेब्यु गरेका थिए । ‘नयाँ पुस्ताका खेलाडी र प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुल्ने आशा छ,’ उनले भने । प्रशिक्षक भिसेन्जोले वर्तमान टोलीमा धेरै खेलाडीले साफको पहिलोपटक अनुभव लिनु नै महत्वपूर्ण पक्ष भएको बताएका छन् । ‘धेरै खेलाडीले साफमा पहिलोपटक खेल्दै छन्, मैले पनि साफको हिस्साका रूपमा सहभागी हुन पाउँदा महत्वपूर्ण मानेको छु,’ उनले भने । नेपालले १४औँ संस्करणसम्म एकपटक फाइनल खेलेको थियो । नेपालले उपाधि जित्न सकेको छैन ।