१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १६:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बेपत्ता नगरप्रमुखविरुद्ध सात सय ६८ उजुरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o४:oo

केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भिडभाड छ। कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारीपीडितका गुनासो सुन्नमै व्यस्त छन्।  

पीडितले दिएका निवेदन लिने र दर्ता गर्ने उनीहरूको दैनिकी बनेको छ। बागलुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध हालसम्म सात सय ६८ वटा उजुरी परेका छन्। 

ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका नेपाली जेठ ५ देखि सम्पर्कमा छैनन्। इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृह मन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो। हालसम्म उनीहरू बेपत्ता छन्। 

‘नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानले खोजी गरिरहेको छ, तर कोही भेटिएका छैनन्,’ प्रहरी नायब उपरीक्षक मदन केसीले भने, ‘उजुरी गर्नेहरू राति ८ बजेसम्म लाइनमा हुन्छन्, केही दिन भयो हाम्रो कार्यालय भिडले भरिएको छ।’ 

बचतकर्ताको रु. दुई अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप नेपालीमाथि छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जेठ १६ गते उनीसहित पदाधिकारीले बचतकर्ताको अर्बौँ रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरूविरुद्व उजुरी लिन पत्राचार गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । जसअनुसार सोमबार बेलुकासम्म सात सय ६८ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै चार हजारभन्दा बढी संख्यामा बचतकर्ताको उजुरी आउन सक्ने अनुमान गरिएको केसीले जानकारी दिए।  

उनका अनुसार हालसम्म रु. ८९ करोड ६६ लाख  बचत रकम पाउनुपर्ने दाबी गरिएको छ। इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी तीनवटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ। 

बागलुङमा मात्र रु  दुई अर्बभन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ। पोखरा सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ता पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन्। बागलुङ र पोखरा दुवै ठाउँका बचतकर्ताले संघर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन्। रासस