१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नवराज मैनाली काठमाडाैं
Invalid date format o५:५७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कार्यालयभित्र र कार्यालय पोसाकमा टिकटक बनाउन प्रतिबन्ध

टिकटकमा झुम्मिने कर्मचारीमाथि सरकारको अंकुश

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५७:oo

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल टिकटकमा सक्रिय छन् । उनले कार्यालयमा भोज गरेकोदेखि आफ्नो नेतृत्वमा भएका सुधारका काम टिकटक भिडियो बनाएर पोस्ट गर्दै आएका छन् । झापाको कचनकवल नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवमा पनि टिकटक मोह अत्यधिक देखिन्छ । कार्यालयमा काम गरिरहेकोदेखि सीमा क्षेत्रमा अनुगमनसम्मका गतिविधि नियमित रूपमा टिकटकमा अपलोड गर्दै आएकी छिन् । 

पोखरेल र यादव मात्र होइनन्, निजामती सेवामा रहेका सयौँ कर्मचारीलाई सामाजिक सञ्जाल टिकटकले तानेको छ । कर्मचारीको औपचारिक पोसाकमै, कार्यालयसँग सम्बन्धित गतिविधिहरू उनीहरूले निर्वाध रूपमा टिकटकका सामग्री बनाइरहेका छन् ।

तर, अब सरकारले कर्मचारीका त्यस्ता गतिविधिमाथि अंकुश लगाउन थालेको छ । टिकटकमा रमाउने कर्मचारीलाई मन्त्रालयहरूले लगाम लगाउन थालेका छन् । राष्ट्रसेवक कर्मचारीहरूले कार्यालयभित्रै अशोभनीय र उच्छृंखल किसिमका टिकटक पोस्ट गर्न थालेको भन्दै गुनासो आउन थालेपछि विभिन्न मन्त्रालयले कार्यालयभित्र टिकटक बनाउन रोक लगाएका हुन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालयलगायतले हालै परिपत्रमार्फत कार्यालयभित्र र कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएका छन् । सर्वसाधारणको गुनासो सुन्न सरकारले खडा गरेको संयन्त्र ‘हेलो सरकार’मा परेका उजुरीका आधारमा हाल विभिन्न मन्त्रालयले मातहतका कर्मचारीका लागि टिकटक प्रयोगसम्बन्धी निर्देशन नै जारी गरेका हुन् । 

‘कार्यालयभित्र टिकटक नबनाउन हामीले कर्मचारीलाई निर्देशन दिएका छौँ,’ संघीय मामिला मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भने, ‘केही कर्मचारीले बनाएका टिकटकका विषयवस्तुबारे गुनासो आएपछि यस्तो निर्देशन दिएका हौँ ।’ 

गृहको सातबुँदे निर्देशन
गृह मन्त्रालयले पनि गत १९ जेठमा यस्तै निर्देशन दिएको छ । सचिवस्तरीय निर्णयअनुसार गृहले सातबुँदे निर्देशन जारी गरेको हो । ‘गृह मन्त्रालयमातहत कार्यरत केही वरिष्ठ अधिकारीले अनुपयुक्त, अव्यावसायिक गतिवधि तथा पदको गम्भीरता र महत्वलाई ध्यान नदिई टिकटकमा अनावश्यक र उच्छृंखल किसिमका भिडियोहरू पोस्ट गर्ने गरेको भन्ने व्यहोराको गुनासो प्राप्त भएको’ले यस्तो निर्देशन जारी गरिएको गृहले जनाएको छ । 

निर्देशनको पहिलो बुँदामा ‘कार्यालय समयमा, कार्यालय परिसरभित्र र कर्मचारी पोसाकमा टिकटकजस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्ने’ उल्लेख छ । त्यस्तै, सरकारी सवारीसाधनको प्रयोग गरेर, कार्यालयसँग सम्बन्धित संवेदनशील कामकारबाहीको जानकारी दिन नहुने निर्देशनमा उल्लेख छ । कार्यालयको कामकारबाहीको विवरण जानकारी गराउँदा व्यक्तिगत प्रचार–प्रसार र जस लिने आशयले पनि गर्न नपाइने निर्देशन छ । 

‘आफ्नो नियमित कर्तव्यभित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेजस्तो देखिने गरी व्यक्तिगत सञ्जालमा समेत नराख्ने,’ पाँचौँ नम्बर बुँदामा भनिएको छ । पदीय जिमेवारीलाई नकारात्मक प्रभाव पार्ने खालका विषयवस्तु सामाजिक सञ्जालमा राख्न नपाइने गृहको निर्देशनमा छ । निर्देशन पालना गरे–नगरेको विषयमा मन्त्रालयले अनुगमनसमेत गर्ने प्रवक्ता जितेन्द्र बस्नेतले बताए । ‘यो कर्मचारीको अनुशासनसँग सम्बन्धित विषय हो,’ उनले भने, ‘टिकटक बनाउनतर्फ लागेर सेवा प्रवाहमा पनि असर नपरोस् भनेर कार्यालयभित्र नबनाउन भनेका हौँ । हामी नियमित अनुगमन पनि गर्छौँ ।’ 

सुरक्षा निकायहरूले पहिलेदेखि नै पोसाक लगाएर खिचिएको फोटो र भिडियो राख्न नपाउने नियम लागू गरेका छन् । युनिफर्म लगाएर तथा कार्यालयमा फोटो–भिडियो खिचेर पोस्ट गर्ने सुरक्षाकर्मी त कारबाहीमा समेत पर्दै आएका छन् ।