१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०८० जेठ २६ शुक्रबार १२:१६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काभ्रेमा पहिलोपटक ‘वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला’ हुने

Read Time : > 1 मिनेट
२०८० जेठ २६ शुक्रबार १२:१६:००

बनेपामा जिल्लामै पहिलोपटक वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला हुने भएको छ । बनेपा नगरपालिका र पनौती नगरपालिकाको आयोजनामा बनेपा ८ स्थित लायकु परिसरमा यही २६–२७ जेठमा हुने भएको हो । बिहीबार बनेपा नगरपालिका सभाहलमा वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेलाको जानकारी दिने हिसाबले पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो ।

रोजगारको खोजीमा रहेका युवायुवती, विद्यार्थीहरूलाई उनीहरूको वृत्ति मार्ग–निर्देशन गर्ने तथा उनीहरूको भेट रोजगारदाता र सेवा प्रदान गर्ने सरकारी गैरसरकारी निकायहरूसँग गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागेको बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले जानकारी दिए । ‘मेरो वृत्ति मेरो खोजी, मेरो सीप भविष्यको दीप’ भन्ने मूल नाराका साथ लायकु परिसर बनेपामा वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला आयोजना गरेको शाक्यको भनाइ छ । उक्त मेलाले रोजगार खोज्ने र रोजगार दिनेहरूलाई एकै स्थानमा ल्याई उनीहरूबीच पुलको काम गर्ने विश्वास लिएको शाक्यले बताए ।

हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मेला आयोजना हुने उनले जानकारी दिए । मेलाको उद्घाटन बनेपा नगरप्रमुख शाक्यको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ । उक्त मेलाबाट वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी, सीपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी र तालिमबारे जानकारी, रोजगारसम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी, रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानीय उत्पादनहरू प्रदर्शनीजस्ता सेवा प्राप्त हुने बताइएको छ । 

स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने अभिप्रायले आयोजना गरिएको मेलामा विभिन्न उद्योग व्यवसायबाट १८ वटा, विभिन्न उद्योग संघ–संस्थाबाट ९ वटा, अटोमोबाइल व्यवसायी तथा संघ, महासंघबाट ३ वटा, घरेलु तथा साना उद्योग, लघु उद्योगहरूबाट ६ वटा, सामाजिक विकास मन्त्रालय/दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो बाट एउटा, प्राविधिक शिक्षालयहरूबाट ६ वटा, इलाका प्रहरी, इन्सुरेन्स कम्पनीहरूलगायतका ५ वटा गरी जम्मा ४८ वटा स्टल रहने जानकारी दिए । मेलामा करिब १० हजारजनासम्मको सहभागिता रहनेछ भने ३ हजार युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने आयोजकले विश्वास लिएको छ ।