१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मिलन पाण्डे काठमाडाैं
२०८० जेठ २६ शुक्रबार ०७:१५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आदरणीय सरहरू, कापी पढेर चेक गर्नुहोला है !

Read Time : > 4 मिनेट
मिलन पाण्डे, काठमाडाैं
२०८० जेठ २६ शुक्रबार ०७:१५:००

हामीले परीक्षालाई कर्मकाण्ड बनायौँ अनि कापी चेकिङलाई मजाक । अब परीक्षा प्रणाली र कापी चेकिङ प्रणाली दुवै बदलिन जरुरी छ ।

एकजना नेपाली शिक्षकको नजिक बसेर उहाँले कापी चेक गरेको हेरिरहेको थिएँ । उहाँले प्रत्येक पाना सरर हेरेर नम्बर दिँदै हुनुहुन्थ्यो । व्याकरण पनि बुलेट ट्रेनकै गतिमा चेक गर्दै हुनुहुन्थ्यो । जब निबन्ध, चिठीजस्ता उत्तर आउँथे, उहाँको गति झन् बिजुलीको रफ्तारमा अघि बढ्थ्यो । म हेरेर मुस्कुराउँथे । उहाँले ५३ नम्बर (७५ पूर्णाङ्कमा) दिएपछि मैले कापी उठाएर सरर हेर्न थालेँ ।

पाना पल्टाउँदै जाँदा निबन्ध लेखेको पानामा पुगेँ । निबन्धको शीर्षक थियो, ‘मलाई मन पर्ने पुस्तक’ । विद्यार्थीले निबन्ध मिठोसँग सुरु गरेका थिए । पुस्तक ‘डेभिल्स नाइट’ लाई उनले आफ्नो जीवन र भोगाइसँग जोडेर निबन्ध सुरु गरेका थिए । निबन्धमा उनले आफ्नो जीवन कहाँनेर कसरी जोडिन्छ भनेर प्रस्ट पारेका थिए । मलाई उक्त निबन्ध पढ्दा कुनै आलेख र साहित्यभन्दा कम लागेन । अन्त्यमा, सोही किताबले आफूलाई डिप्रेसनबाट निकालेको र भविष्यका निम्ति मार्गनिर्देश गरेको बताउँदै, भविष्यमा अरूलाई प्रेरित गर्ने हेतुले आफू पनि पुस्तक लेख्ने प्रण गर्दै निबन्ध टुंग्याइएको थियो ।

मैले उक्त निबन्ध एकैछिनमा पढेँ । निबन्धले मलाई प्रत्येक पल तानिरह्यो । अनि, मेरा मित्र पनि रहेका शिक्षकलाई सोधेँ, तपाईंले यो निबन्ध पढेरै नम्बर दिनुभएको हो ? उहाँले ‘यसो हेरेँ, अंग्रेजी पुस्तकबारे लेखेको रहेछ । तीन पेज रहेछ, ६ नम्बर दिएँ’ भन्नुभयो । म मुस्कुराएँ । अर्को शिक्षकले भन्नुभयो । हामीलाई टेक्निक थाहा हुन्छ, सरर पढेर बुझ्छौँ । म अचम्ममा परेँ । केही बोलिनँ, तर मनमा एउटा कुरा खेलिरह्यो, त्यति राम्रो निबन्ध, जो आफैँमा एउटा आलेख हो, त्यो कसैले पढेन । त्यसको लम्बाइ नापियो, तर गहिराइ बुझिएन । बरु यस्तै राम्रा निबन्धमध्ये एउटालाई पत्रिकामा छाप्न र पुरस्कार दिन पाए पनि हुन्थ्यो । अर्को एउटा प्रश्न पनि मनमै रहिरहेको थियो, शिक्षकलाई कस्तो ‘निन्जा टेक्निक’ थाहा हुन्छ, जसले गर्दा उसले नपढीकन विद्यार्थीले लेखेको बुझ्छ ?

उत्तरपुस्तिका परीक्षणमा गरिने लापरबाहीले हाम्रा विद्यार्थीलाई न्याय गरिरहेको छैन । त्यसैले उत्तरपुस्तिका जाँच्ने नियम र शिक्षकको क्षमतामाथि नै प्रश्न गर्ने वेला आएको छ । अनि शिक्षकहरू पनि सच्चिने वेला आएको छ ।

म मेरै विगतमा फर्कन चाहन्छु । मलाई म कक्षा १२ सम्म पढ्दा परीक्षामा आएको मेरो नम्बर कहिल्यै चित्त बुझेन । नेपाली, इंग्लिस, सामाजिक शिक्षामा आएको नम्बर त केही लेखे पनि नलेखे पनि उस्तै आउँथ्यो । हामी बच्चामा जिस्केर कम नम्बर आउँदा कापी चेक गर्ने सरको घरमा श्रीमतीसँग झगडा पर्‍यो भने कम नम्बर आउँछ भन्ने सुनेकाले सरको झगडा नपरेको दिन कापी चेक होस् भन्ने कामना गथ्र्यौँ । फेरि दोहोर्‍याउँछु, मेरो १०० मा किन यी विषयमा ६७ नम्बर मात्र आउँथ्यो, मैले आजसम्म बुझेको छैन । ५० को दशकमा यी विषयमा नम्बर दिनु भनेको ढुकुटीको चाबी दिएबराबर जस्तै गरिन्थ्यो । मैले एकचोटि एकजना सरलाई सोधेको पनि थिएँ– हामीलाई नेपालीमा किन गणितमा जस्तै नम्बर दिइँदैन ? उहाँको उत्तर थियो– नेपालीमा यस्तै हो । सामाजिक शिक्षामा यस्तै हो । मलाई गणितमा पनि ९९ नम्बर मात्र दिइन्थ्यो, म सरलाई सोध्थेँ– किन सबै मिल्दा पनि ९९ मात्र सर ? सरको उत्तर आउँथ्यो, १०० मा १०० दिन मिल्दैन । तर, त्यो किन मिल्दैनथ्यो, मैले कहिल्यै बुझिनँ । 

केही दिनअघि अर्को एकजना शिक्षकसँग बसिरहेको थिएँ । यही कापी चेकिङबारे कुरा गरिरहेको थिएँ । उहाँले अर्को एउटा गज्जबको कुरा सुनाउनुभयो । उहाँलाई कापी चेक गर्दा २१ नम्बरदेखि २९ नम्बरसम्म नदिनु है भनिन्थ्यो रे ! किन भनेर सोध्दा, कि पास पार्नु, कि अलि कम नम्बरले फेल नै पार्नु भन्ने उत्तर आउँथ्यो रे ! उहाँ जब एउटा विद्यार्थीले २१ देखि २९ नम्बर पाउँछ, कति दिने भनेर निकै सकस हुने गरेको बताउँदै हुनुहुन्थ्यो । म छक्क परेँ । यसरी परीक्षा नियन्त्रकले नै सेटिङ गरेर नम्बर यति दिनू, उति दिनू भन्न मिल्छ ? परीक्षाको कापी जाँच्दासमेत गरिने सेटिङले हाम्रो शिक्षालाई कहाँ पुर्‍याउला ?

हामीले ढोका थुनेर विद्यार्थीलाई पढायौँ । तर, परीक्षामा कसरी सटिक तरिकाले उत्तर लेख्ने, आफूलाई अभिव्यक्त गर्ने भनेर सिकाउन सकेनौँ । सिकाउनुपर्छ भनेर प्राथमिकतामा राख्न पनि सकेनौँ । बरु हामी शिक्षक नै विद्यार्थीलाई चिट चोर्न सिकाउन थाल्यौँ ।

हुन त २५ देखि ३५ रुपैयाँ प्रतिकापी लिएर घन्टौँ लगाएर कापी जाँच्न नसकिने पीडा शिक्षकको होला । दिनमै रोजगारीका निम्ति २०० वटा कापी जाँच्नुपर्ने बाध्यता पनि शिक्षकको होला । तर, यो लापरबाहीले हाम्रा विद्यार्थीलाई न्याय गरिरहेको छैन । त्यसैले कापी जाँच्ने नियम र शिक्षकको क्षमतामै सोच्ने वेला आएको छ । अनि शिक्षकहरू पनि सच्चिने वेला आएको छ । हामीले लेखको सुरुवातमै एकजना शिक्षकले भनेझैँ शिक्षकलाई कापी चेक गर्ने टेक्निक थाहा छ भनेर हुँदैन । हामी विद्यार्थीको नवीनतालाई स्विकार्न सक्ने हुन जरुरी छ ।

कसैले उदाहरणबाट आफूलाई अभिव्यक्त गर्ला, कसैले कविता वा गीतबाट गर्ला, कसैले चिठ्ठी लेख्ला, हामीले हाम्रो ‘फर्म्याट’ होइन, विद्यार्थीको फर्म्याट बुझ्न सक्नु जरुरी छ । अनि, हाम्रो उत्तर नाप्ने जुन मनोविज्ञान छ, त्यो त झन् बदलिन जरुरी छ । अहिलेका एक मिनेटका रिल र टिकटक हेर्ने पुस्ताले लेख्ने उत्तर अब लामो खोजेर हुन्न । रचनात्मक हुन जरुरी छ । अर्को कुरा हामीले परीक्षामा विद्यार्थीको कमजोरी मात्र खोज्ने होइन, उसको सबल पक्ष पनि खोज्न जरुरी छ । त्यसैले, मैले विभिन्न फोरममा शिक्षकलाई गल्ती देखाउन रातो र विद्यार्थीको क्षमता देखाउन हरियो पेन प्रयोग गर्न अनुरोध गर्ने गरेको छु । यति अनुरोध गरिरहँदा मैले शिक्षकको पीडालाई महसुस नगरेको होइन । तर, हामीले कुनै पनि बहानामा विद्यार्थीको मिहिनेतलाई अन्याय गर्न मिल्दैन भन्ने मेरो तर्क र भाव हो । 

मलाई हाम्रा स्कुलका कक्षाहरूको नतिजामा सधैँ केही गुनासा रहने गरेका छन् । म मेरै उदाहरण दिन्छु । म स्कुलले मलाई पढाउने शिक्षकले कापी जाँच्दा कहिल्यै प्रथम भइनँ । तर जब एसएलसीका लागि सेन्ट–अप परीक्षा जिल्लाले लियो, तब म प्रथम भएँ । मेरो यहाँ प्रश्न के हो भने कक्षामा सधैँ प्रथम हुने विद्यार्थी एउटै मात्र किन हुन्छ ? मेरो बुझाइ, किनकि कापी जाँच्ने शिक्षकले नाम लेखेको कापी जाँच्दा मानसिकता नै प्रथमलाई धेरै नम्बर दिने हुन्छ, त्यसैले नतिजा त्यस्तो आउँछ । मैले यो सबैमा सधैँ लागू हुन्छ भनिरहेको छैन, तर यो पनि हामीले छलफल गर्नुपर्ने विषय हो भन्ने लाग्छ । 

अर्को महत्वपूर्ण विषय भनेको हामीले ढोका थुनेर विद्यार्थीलाई पढायौँ । तर, परीक्षामा कसरी सटिक तरिकाले उत्तर लेख्ने, आफूलाई अभिव्यक्त गर्ने भनेर सिकाउन सकेनौँ । सिकाउनुपर्छ भनेर प्राथमिकतामा राख्न पनि सकेनौँ । बरु हामी शिक्षक नै विद्यार्थीलाई चिट चोर्न सिकाउन थाल्यौँ । आज विद्यार्थी नै शिक्षक र स्कुल प्रशासनलाई नै ‘सेन्टर किन्न पैसा हामी उठाउँछौँ, तपाईंहरू डिल गर्नुहोस्’ भन्ने तहमा पुगेका छन् ।

मलाई आफैँप्रति कहिलेकाहीँ हाँसो लाग्छ । हामीले शिक्षा र उत्तर चेकिङलाई मजाक बनायौँ । म कुनै वेला ‘मेरो देश नेपाल’बारे निबन्ध घोकेर जान्थेँ । हामीले परीक्षालाई कर्मकाण्ड बनायौँ अनि कापी चेकिङलाई मजाक । तसर्थ, अब परीक्षा प्रणाली नै बदलिन जरुरी छ । अब कापी चेकिङ प्रणाली नै बदलिन जरुरी छ ।

अन्त्यमा, माफी माग्दै फेरि एउटा शिक्षकलाई चित्त दुख्न सक्ने कुरा भनेर बिट मार्न चाहन्छु । हाम्रा विद्यार्थीको ‘लेभल’ शिक्षककोभन्दा माथि पुग्न थालेको छ । त्यसैले, हामी शिक्षक ‘अपडेट’ र ‘अपग्रेड’ हुन जरुरी छ । हामीले कापी चेकिङ प्रणाली सुधार गर्न दुईवटा कुरा तत्कालै गरिहाल्न जरुरी छ । पहिलो, हामीले भत्ता दिएर कापी चेक गर्ने शिक्षकलाई पनि विद्यार्थीलाई जस्तै तिनै प्रश्नमा सो दिन परीक्षा दिन लगाउन जरुरी छ ।

आफैँले कापी जाँच्न तम्सिएका शिक्षक पहिला आफैँ पास हुन जरुरी छ । पास वा फेलको मात्र कुरा होइन, शिक्षकले प्रश्न र परीक्षाको वातावरण अनुभूति गर्न सके, कापी चेकिङ थप सुधार हुने मेरो तर्क हो । दोस्रो भने विद्यार्थीले आफूले लेखेको कापी निर्बाध रूपमा चेक भएपछि हेर्न पाउनुपर्छ । त्यसले, विद्यार्थीलाई सुधार गर्न र शिक्षकलाई सजग भएर कापी चेक गर्न प्रेरित गर्छ ।