१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १९ बिहीबार o९:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तरुण दलको महाधिवेशनका लागि व्यवस्थापन समिति बनाउने कांग्रेसको निर्णय

पार्टीले सहयोग नगरेको भन्दै कड्किए बस्नेत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार o९:o५:oo

कांग्रेसले आगामी मंसिरभित्र भ्रातृ संगठन तरुण दलको महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ । केन्द्रीय समितिको बुधबारको बैठकले आगामी २६–२८ मंसिरमा पार्टीको निर्देशन समितिको प्रस्तावअनुरुप अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्ने गरी व्यवस्थापन समिति बनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

महाधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिको पदावधि थप गर्ने एवं तयारी र व्यवस्थापन सहजीकरणका लागि तरुण दलको मौजुदा कार्यसमितिभित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय भएको उनको भनाइ छ । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीका तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ । बैठकमा केन्द्रीय सदस्यहरू श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाईं, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमल्सिना तथा आमन्त्रित सातै प्रदेश सभापतिले धारणा राखेका थिए । 

पार्टीले सहयोग नगरेको भन्दै कड्किए बस्नेत
बैठकमा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापाका कारण आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको आरोप लगाए । उनले आफूविरुद्ध मुद्दा चल्दा पार्टीले सहयोग नगरेको भन्दै आक्रोश पनि पोखेका थिए ।

‘महामन्त्री गगनजी तपाईं अरू नेताहरूलाई पनि समात्न लगाउनुस्, अनि तपाईंचाहिँ कहाँ जानुहुन्छ नि ?’ अख्तियारले उनलाई पनि मुद्दा लगाउन सक्ने चेतावनी दिँदै बस्नेतले आक्रोश पोखेका थिए । आफू स्वास्थ्यमन्त्री हुँदा एक रुपैयाँ पनि हिनामिना नगरी मन्त्रालय चलाएको उनको दाबी थियो । प्रतिशोधको राजनीतिले कोही पनि सग्लो नहुने उनको भनाइ थियो । ‘प्रतिशोधको राजनीति गरे कोही सग्लो बस्दैन । अब यहाँ बढी बोल्यो भन्नुहोला, कसै न कसैले बोल्ने आँट गर्नुपर्छ । यसरी देश चल्दैन, राजनीति चल्दैन, प्रजातन्त्र समाप्त हुन्छ,’ उनले भने ।

महामन्त्री थापाले भने आफ्नो अनुपस्थितिमा केन्द्रीय समिति बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरे । ‘म तरुण दलका अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ । तर, बैठकभित्रै एक केन्द्रीय सदस्यले हुँकार मिश्रित धम्की दिनुभयो रे । त्यो नैतिक पतन हो,’ सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले भने । टेरामाक्स अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेर २५ लाख धरौटीमा छुटेका बस्नेतले आफूमाथि लगाएको आरोपले सभ्यताको सीमा नाघेको थापाले बताए । ‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ । आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु–फोहोर चलाए आफैँ फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु,’ उनले भने ।