
अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतमा आयोजना हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ।
आगामी असार ६ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्।
छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन्। त्यसैगरी, डिफेन्डरमा विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा रहेका छन्। त्यस्तै, मिडफिल्डरमा पूजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मनिकुमार लामा र लाकेन लिम्बू रहेका छन्।
यसैगरी, फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराजसिंह ठकुरी, अन्जन विष्ट, मनीष डाँगी, आषिश चौधरी र विमल घर्तीमगर रहेका छन्। प्रतियोगितामा सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन्। त्यसैगरी, समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल आगामी ६ असारमा कुवेतसँग खेल्नेछ भने असार ९ गते आयोजक भारत र असार १२ गते पाकिस्तानसँग खेल्नेछ।