१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आफ्नै फार्मेसी खोल्दै काठमाडौं महानगर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१८:oo

काठमाडौं महानगरले आर्थिक वर्ष ०८०/८१ मा ‘सुलभ फार्मेसी’ कार्यक्रमअन्तर्गत आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने भएको छ । निजी फार्मेसीहरूले औषधिमा लिँदै आएको चर्को शुल्क नियन्त्रण र मूल्यमा एकरूपता ल्याउन सात स्थानमा फार्मेसी खोल्न लागेको हो । 

फार्मेसी महानगरको स्वास्थ्य विभागले चलाउनेछ । यसको स्थापनाका लागि सात करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विभागले सोहीअनुसारको लागत इस्टिमेटसहित उपमेयरको संयोजकत्वमा रहेको बजेट निर्माण समितिलाई विवरण पठाएको छ । मेयर बालेन्द्र साह शिक्षा र स्वास्थ्यमा केन्द्रित देखिएकाले उक्त कार्यक्रम आगामी आर्थिक वर्षभित्रै सम्पन्न हुने धेरैको अनुमान छ । यी फार्मेसी सबैभन्दा बढी जनघनत्व भएका वडामा सञ्चालन गरिनेछ ।

महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जनघनत्व बढी भएका क्षेत्रमा फार्मेसी चलाउने र निजी फार्मेसीमाथि पनि नियमन गर्ने बताए । उनका अनुसार फार्मेसीमा सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधि, स्वास्थ्य बिमा कार्यक्रमसहित अन्य औषधिसमेत सुपथ मूल्यमा पाइनेछ । ‘हामीले नै फार्मेसी खोल्यौँ भने निजी फार्मेसीलाई नियमन गर्न सहज हुन्छ,’ उनले भने, ‘उनीहरू आफैँ पनि मूल्य घढाउन बाध्य हुन्छन्, सकेसम्म फार्मेसी सेवा सहज गराउँछौँ ।’ 

स्वास्थ्य विभागले माग्यो एक अर्ब ४७ करोड 
चालू आव ०७९/८० मा महानगरले स्वास्थ्यतर्फ ४५ करोड बजेट विनियोजन गरेकोमा आर्थिक वर्ष ०८०/८१ मा यसलाई वृद्धि गर्ने तयारी छ । महानगरको शिक्षा विभागका अनुसार आगामी आवका लागि एक अर्ब ४७ करोड बजेट माग गरिएको उपमेयरको संयोजकत्वमा रहेको बजेट समितिलाई प्रतिवेदन बुझाएको छ । सोहीअनुसार बजेट विनियोजन भए स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न सकिने विभाग प्रमुख पौडेलले जानकारी दिए । ‘गत वर्षभन्दा यो वर्ष स्वास्थ्यमा बजेटको आकार वृद्धि हुन्छ,’ उनले भने, ‘तर हामीले माग गरेकै आकारमा बजेट आउँदैन ।’

बजेटको प्राथमिकतामा शिक्षा र स्वास्थ्य 
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा शिक्षा र स्वास्थ्यतर्फ बजेटको आकार बढाउने तयारी गरेको छ । महानगर मेयर बालेन्द्र साहले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बजेटको आकार वृद्धि गर्न लागेका हुन् । उनले महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, ०७४ लाई कार्यान्वयन गर्दै आर्थिक वर्ष ०८०/८१ को बजेट कार्यक्रममा सहुलियत शिक्षा र सहुलियत स्वास्थ्य सेवासम्बन्धी योजनासहित बजेटको आकार वृद्धि गर्ने योजना अघि बढाएका छन् । शिक्षा र स्वास्थ्यमा कम्तीमा एक–एक अर्बको बजेट ल्याउने गरी उपमेयरको संयोजकत्वमा रहेको बजेट निर्माण समितिले गृहकार्य गरिरहेको महानगरले स्रोतले जनाएको छ । 

नियमअनुसार स्थानीय तहले १० असारभित्र बजेट ल्याइसक्नुपर्छ । महानगरले आर्थिक वर्षको बजेट आकार २५ अर्ब हाराहारी हुनेछ । बजेटले सार्वजनिक विकास निर्माण, शिक्षा, स्वास्थ्य, सम्पदा तथा जात्रापर्वलाई प्राथमिकतामा राख्नेछ । आगामी वर्षको बजेट ल्याउँदा नियमित हुँदै आएका कतिपय कार्यक्रम कटौती गर्ने र केही नयाँ योजनाअघि सार्दै बजेट तय हुने महानगरले जनाएको छ । महानगरले चालू आव ०७९/८० का लागि शिक्षामा ७० करोड बजेट विनियोजन गरेको थियो ।