मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपक थापा
२०८० जेठ २३ मंगलबार ०८:३९:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बाँदरले बिथोलेको ग्रामीण अर्थतन्त्र

बाँदरले ग्रामीण तहमा कृषिकर्म गर्नेलाई हैरान बनाएपछि बसाइँसराइ या खेतीपाती छाडेर अरू नै काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ

Read Time : > 4 मिनेट
दीपक थापा
२०८० जेठ २३ मंगलबार ०८:३९:००

डेढ दशकअघि प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धनप्राप्त क्यासकेड विधिमा आधारित तालिम प्रशिक्षक तालिमताका समुदायमा छलफलका माध्यमबाट मुख्य समस्या पहिचान गरी समाधानको उपायसहित शोधपत्र प्रस्तुत गर्नु थियो ।

जब समुदायमा छलफल सुरु गरियो, तब सबैले बाँदरको समस्या प्रमुख देखाउँदा यसको समाधानको ठोस उपाय निकाल्न नसक्दा अर्कै विषयमा प्रवेश गर्नुपर्ने बाध्यता भयो । त्यसको लगभग १९ वर्षपछि पुग्दा पनि सो ठाउँमा पुग्दा ती समस्या ज्युँकात्युँ रहेको र बढ्दो बाँदर आतंकले कतिपयले बसाइँ सरेको र कृषिकर्म छोडी अन्य काममा लागेको पाइयो । बादँरले साँच्चि नै दुःख दिँदा कृषिकर्मबाट जीविका धान्न समस्या भएको थियो । बाँदरले किसानले दुःख गरेर लगाएको अन्नबाली फलफूल सबै नष्ट गरेर घरमा समेत विनाश गरेको समस्या दिनप्रतिदिन बढ्दै गएको गुनासो उहाँहरूको थियो ।

बाँदरले ग्रामीण अर्थतन्त्रसहित समग्र अर्थतन्त्रमा खडा गरेको चुनौती : नेपालमा लगभग ६० प्रतिशत जनसंख्या कृषिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आश्रित रहेको पाइन्छ  । विडम्बना, यसबाट उत्पादन लागतको तुलनामा प्रतिफल अत्यन्त कम रहेका कारण कृषि पेसामा नयाँ पुस्ताको आकर्षण अत्यन्तै कम छ । कृषिमा आश्रित जनसंख्या ६० प्रतिशतको अनुपातमा रहे पनि त्यसको कुल ग्रार्हस्थ्य उत्पादनमा योगदानको मात्रा भने बर्सेनि घट्दै गएको पाइन्छ । 

कृषिमा व्यवसायीकरण नहुनु, प्रविधि, रासायनिक मल तथा उन्नत बिउ तथा बजारको अभाव आदि चुनौतीलाई मुख्य रूपमा औँल्याइएको छ । तर, ग्रामीण तहमा भने योभन्दा चर्को समस्या बाँदरको छ । बाँदरले ग्रामीण तहमा कृषिकर्म गरिरहेकालाई जीविकोपार्जन गर्न ठूलो समस्या पारेको छ । कृषि व्यावसायिक पेसाका रूपमा नभई बाध्यतात्मक पेसा बनेको छ । यसबाट कि त बसाइँसराइ गर्नुपर्ने, कि खेती छाडेर अरू काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

जनगणना २०७८ को नतिजा हेर्दा ग्रामीण जनसंख्याको ठूलो अंश घटी सहरको जनसंख्या बढ्नुमा बाँदर पनि एक कारण रहेको छ । हालै प्रकाशित आर्थिक सर्वेक्षण ०७९/८० अनुसार आव ०७५/७६ र आव ०७८/७९ को तथ्यांक तुलना गर्दा बैंक तथा वित्तीय संस्थाको कृषिमा १०० प्रतिशत बढी ऋण लगानी वृद्धि, कृषिमा अनुदानलगायत धेरै किसिमका कार्यक्रम भए पनि कृषिजन्य वस्तुको पैठारी (आयात) भने १६० प्रतिशतले बढेको छ । उत्पादशील भूमि हाल बाँझो हुने क्रम बढेको छ । जसका कारण उत्पादन कम भएर खाद्यान्नको आयातका साथसाथै व्यापार घाटासमेत बढेको छ । यस्तै विदेशी मुद्रा सञ्चिति पनि घटेको छ, जसले गर्दा अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ ।

नेपालमा जसरी माओवादी द्वन्द्वकालमा ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसोवास सर्नेको संख्या उल्लेख्य बढेको थियो, त्यसैगरी बाँदरका कारणले कृषिकर्मबाट विस्थापित भई सहरी क्षेत्रमा बसोवास गर्नेको संख्या पनि उल्लेख्य बढेको छ । देशका सबै भेगका किसान बाँदरले खेतीपातीमा गरेको नोक्सानबाट अत्यन्त प्रभावित छन् । 

बाँदरसम्बन्धी कानुनी व्यवस्था :  नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ (पाँचौँ संशोधन २०७३) अन्तर्गत दफा १० मा संरक्षित वन्यजन्तुको बारेमा उल्लेख गरिएको छ । सोही ऐनको अनुसूची १ मा दफा १० अनुसार आसामी रातो बाँदरलाई संरक्षित जनावरको सूचीमा राखिएको छ  ।

कृषिमा व्यवसायीकरण नहुनु, प्रविधि, रासायनिक मल तथा उन्नत बिउ तथा बजारको अभाव आदि चुनौतीलाई मुख्य रूपमा औँल्याइएको छ । तर, ग्रामीण तहमा भने योभन्दा चर्को समस्या बाँदरको छ ।

अनुसूचीमा उल्लेख भएका जनावरको सिकार गर्न पाइँदैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार मान्छे वा पशुपन्छीलाई नोक्सान गर्ने अवस्थामा मात्र तोकिएको अधिकारीको आदेशले पक्रन वा मार्न पाइन्छ । यस ऐनमा वन्यजन्तुबाट कृषिबाली तथा उपज कृषि उद्योगको नोक्सानको विषयमा नोक्सान गर्ने जन्तुको समाधानको बारेमा स्पष्ट केही उल्लेख भएको छैन ।

सोही ऐनको दफा २६ मा दण्ड सजायअन्तर्गत गैरकानुनी तरिकाले संरक्षित जनावरको आखेटोपहार राख्ने खरिद–बिक्री गर्ने तथा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाखसम्म जरिवाना वा ५ देखि २५ वर्षसम्म कैद वा दुवै हुने कुरा उल्लेख रहेकाले स्थानीय कृषक बाँदरलाई केही गर्न सक्ने अवस्थामा छैनन् । नेपालले हस्ताक्षर गरेको दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय महासन्धि साइटिस महासन्धिको अनुसूची १ मा संकट उत्पन्न जन्तुको सूचीमा बाँदर पनि परेका कारणले यसलाई मार्नबाट बन्देज गरिएको छ ।

के बाँदरका फाइदा पनि छन् ?
१.    पारिस्थितिक प्रणालीमा बाँदरले जंगलका फलफूल खाने हुनाले यत्रतत्र बिउ छराएर फैलाउन मद्दत गर्छ । फूलको परागसेचनमा मद्दत गर्छ ।
२. औषधि परीक्षण गर्न, केही नयाँ औषधि     बजारमा ल्याउँदा त्यसको परीक्षण भने पहिला बाँदरमा गरिन्छ । यदि सो सफल भयो भने मात्र मानिसमा प्रयोग गरिन्छ ।
३. अनुसन्धानमूलक काम (औषधिबाहेक अन्य वैज्ञानिक अनुसन्धानमूलक काम)मा पनि यसको उपयोग गरिन्छ ।
४. सर्कस तथा चिडियाखानामा पनि यसको प्रयोग गरिन्छ ।
५. कतिपय मुलुकले यसलाई शिक्षण विधिका रूपमा पनि प्रयोग गरेको पाइन्छ ।

बाँदर साँच्चिकै समस्या हो त ? :  मैले जुन समस्या ग्रामीण कृषकहरूको मुख्य समस्याको रूपमा २० वर्षअगाडि पत्ता लगाएको थिएँ, अहिले हेर्दा त त्यो झन् विकराल रूपमा बढेर गएको पाएँ  । ०७८ को जनगणनाको परिणाममा ग्रामीण भेगको संख्या घट्नुमा त्यहाँका बासिन्दा, कृषकलाई बसाइँ सर्न बाध्य पार्ने कृषि पेसाप्रति वितृष्णा जगाउने यही नै कारक तत्व बनेको पाएको छु । हामीकहाँ अध्ययन अनुसन्धानको कमी छ ।

बाँदरलाई विभिन्न शोधको निम्ति प्रयोगशालामा प्रयोग गर्न ठुल्ठूला अनुसन्धान कम्पनी हामीकहाँ छैनन् । औषधि निर्माता पनि छैनन् । व्यावसायिक प्रयोजनका निम्ति यसको उपयोग खासै नभएको र अत्यधिक मात्रमा यसको संख्या बढेकाले ग्रामीण भेगका कृषकहरूको भने यो टाउको दुखाइको विषय बनेको छ  । बाँदरले दिने दुःख जटिल समस्या बनेको छ  ।

बाँदर नियन्त्रणसम्बन्धी भएका पहल : बाँदर नियन्त्रणसम्बन्धी नेपालमा पहल नभएका भने होइनन् । तर, कुनै पनि कदम प्रभावकारी हुन सकेनन् । नेपालको कानुनी प्रावधानले बाँदर, बँदेललगायतका वन्यजन्तुलाई संरक्षण गर्नुपर्छ भनेकाले उपयुक्त कदम चाल्न बाधा पुगेको देखिन्छ । बाँदरको सम्बन्धमा कुनै पनि निकाय संवेदनशील नहुँदा त्यसको प्रत्यक्ष प्रभाव भने सर्वसाधारण तथा ग्रामीण दूरदराजमा किसान तथा खेतिपाती पशुपालनमा आश्रित निम्नमध्यमवर्गमा परेको छ ।

यसले व्यापारी, प्रशासकीय वर्ग, नेता तथा उच्च नेतृत्वलाई प्रत्यक्ष असर नपरेको कारणले पनि यो प्रथामिकतामा नपरेको होला भन्ने धेरैको ठम्याइ छ । विदेशी वस्तु आयातमा रमाउनेहरूले कृषकको समस्यामा ध्यान दिने र समस्या समाधान गर्ने कुरामा कृषकले कुनै विश्वास गरेका छैनन् । 

नेपालमा नयाँ संविधान जारी भएपश्चात् संघीयताको अभ्याससँगै केही स्थानीय निकायले बाँदरको समस्या समाधानका निम्ति बजेट विनियोजन पनि नगरेका भने होइनन् । तर, त्यो खर्च भए पनि विद्यमान कानुनको कारण कुनै पनि प्रभावकारी हुन सकेन । 

बाँदरलाइ तालिमप्राप्त मान्छे ल्याएर समात्न लगाउने, खोर बनाउने,बन्दुक पड्काउनेजस्ता काम गरे पनि त्यसले मानिसलाई उत्तिकै दुःख दिएको छ  । महिला, वृद्धा, बालबलिकालाई आक्रमणसमेत गरेको पाइन्छ । कुनै प्रभावकारी उपाय हालसम्म पनि भेट्टाउन सकिएको छैन ।

ग्रामीण क्षेत्रमा बाँदरको प्रभाव कम गर्न सकिने केही उपाय
. जंगलको नजिक खेतबारी छ भने त्यस्ता ठाउँमा अन्नबाली लगाउनुको सट्टा डालेघाँसका बिरुवा हुर्काउनेमा जोड दिई पशुपालनलाई अगाडि बढाउन सकिन्छ ।
. खेतबारीमा यदि अनावश्यक बिरुवा उम्रेका रहेका छन् वा अग्ला रूख छन् भने त्यसलाई हटाउने र झाडी सफा गर्ने गर्नुपर्छ । कारण त्यसमा बाँदर लुक्न सक्ने, बस्ने सम्भावना हुन्छ ।
३. बाँदरले विनाश गर्न नसक्ने बाली लगाउने जस्तो– पिँडालु, खुर्सानी, कागती आदि । 
. बाँदर समात्न तालिमप्राप्त मान्छे ल्याई घना जंगलमा लगेर छोड्ने ।
५. बाँदर भगाउन बन्दुक, बारुद, पटाका पड्काउने ।
६. तालिमप्राप्त कुकुर पाल्ने ।
. सबै खेतबारीधनीले पालैपालो बाँदर लखेट्ने।
८. जग्गा खेतबारीको छेउमा मान्छेको पुत्ला वा बाँदर तर्सने जन्तुहरूको पुतला बनाइराख्ने  ।
९० मोलासेस घाँस रोप्ने, जसको गन्धले र 
च्यापच्याप लाग्ने हुँदा बाँदर त्यो क्षेत्रमा आउन मन पराउँदैन ।
१०. समूहको एउटा बाँदरलाई समातेर विभिन्न रङ लगाई टाटेपांग्रे पारेर छोडिदिँदा अरु बाँदर तर्सेर भाग्छन् ।
११. बाँदर आउने ठाउँमा सिद्रा माछाको धुलो पोको पारेर राख्ने र बाँदर कौतूहल प्राणी पनि भएको र खोलेर हेर्दा त्यसको गन्धले फेरि सो ठाउँमा नआउने भनेर भन्ने गरिएको छ ।

तर, बाँदरको समस्याबाट दीर्घकालीन समाधानको उपाय के हुन सक्छ, यसतर्फ सबैले ध्यान दिनुपर्ने देखिन्छ । माथिका उपायमार्फत बाँदरको नकारात्मक प्रभावलाई कम गर्न सकिन्छ, तर अहिलेको प्रयोगले यो सबै क्षणिक मात्र भएको देखिएको छ । त्यसैले बाँदरसम्बन्धी बाध्यकारी कानुनलाई खारेज गरी वा उपयुक्त ढंगले संशोधन गरी त्यसतर्फ अविलम्ब कदम चाल्नुपर्ने देखिन्छ ।