१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० जेठ २२ सोमबार १०:११:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतीय माओवादीका नेताको निधन

Read Time : > 1 मिनेट
२०८० जेठ २२ सोमबार १०:११:००

भारतमा सशस्त्र द्वन्द्व गरिरहेको भारतीय कम्युनिस्ट पार्टी(माओवादी)का नेता कट्टम सुदर्शनको निधन भएको छ । प्रतिबन्धित भाकपा(माओवादी)का पोलिटब्युरोका सदस्य सुदर्शन पार्टीभित्र ‘कमरेड आनन्द’ नामले चिनिन्थे । सुदर्शनको छत्तीसगढ राज्यको एक घना जंगलमा हृदयाघातका कारण निधन भएको पार्टीका प्रवक्ता अभयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सुदर्शनमाथि एक करोड ५५ भारु इनाम तोकिएको थियो । भारतमा विभिन्न स्थानमा भएका माओवादी हमलामा उनको संलग्नता रहेको आरोप छ । 

६६ वर्षीय सुदर्शन विगत केही वर्षदेखि फोक्सो, मधुमेह र रक्तचापसम्बन्धी समस्याबाट पीडित थिए । उनी नक्सलबाडी र श्रीकाकुलम आन्दोलनपछि भारतमा उदाएका पहिलो पुस्ताका क्रान्तिकारी नेता थिए । तेलंगना राज्यको बेलमपल्लीमा एक मजदुर परिवारमा जन्मिएका सुदर्शन युवावस्थादेखि नै माओवादी आन्दोलनमा सक्रिय थिए । सुदर्शनले झन्डै पाँच दशक भारतका विभिन्न भागमा माओवादी पार्टीको संगठन निर्माण गर्ने र विस्तार गर्न महत्वपूर्ण भूमिका खेले । 

खानी विज्ञानमा डिप्लोमा पढ्दै गर्दा उनी क्रान्तिकारी आन्दोलनमा होमिएका थिए । यही प्रभावले उनले विद्यार्थीकालमै क्रान्तिकारी विद्यार्थी युनियन गठनमा मुख्य भूमिका निभाए । पछि उनी बेलमपल्लीमा पार्टी एकाइमा सामेल भए । विद्यार्थी आन्दोलनपछि उनी कोइलाखानी मजदुर आन्दोलनमा जोडिए र समयक्रममा माओवादी पार्टीको सदस्य बने । सन् १९७८ देखि भने उनी लक्सेटिपेट र जन्नाराम क्षेत्रमा माओवादी पार्टी संगठनको प्रमुखका रूपमा काम गर्न थालेका थिए । सन् १९८७ सम्ममा उनी दण्डकारण्य वन समितिमा प्रवेश गरिसकेका थिए । सन् १९९५ मा उनको काँधमा ‘उत्तर क्षेत्र विशेष क्षेत्रीय समिति’ सचिवको जिम्मेवारी आयो । 

सुदर्शन पार्टीका कार्यकर्ता, नेता, जनमुक्ति सेना, कमान्डर र सम्पूर्ण क्रान्तिकारी समुदायका लागि ठूलो प्रेरणा रहेको पार्टीले जनाएको छ । उनी विभिन्न समयमा क्रान्ति, एरा जेन्डा, पिपुल्स वार र पिपुल्स मार्चलगायत पत्रिकाको सम्पादक रहेका थिए । माओवादी पार्टीले जनता र आफ्ना कार्यकर्तालाई भारतभर सुदर्शनको सम्झनामा स्मृतिसभा गर्न आह्वान गरेको छ ।