१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवराज मैनाली काठमाडाैं
२०८० जेठ २२ सोमबार ०६:२६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आफ्नै महिला कर्मचारीमाथि एसएसपीले गरे यौन दुर्व्यवहार

विभागीय कारबाही मात्रै गरेर उन्मुक्ति दिने तयारी

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०८० जेठ २२ सोमबार ०६:२६:००

कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीका उच्च तहका अधिकारीले आफ्नै महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका छन् । अपराधजन्य गतिविधि गर्ने ती अधिकारीलाई सामान्य कारबाही गरेर जोगाउने चलखेल प्रहरीभित्र भइरहेको छ ।महेन्द्रनगरस्थित नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी योगबहादुर पालले गत शुक्रबार सहायक हवल्दारमाथि दुर्व्यवहार गरेका हुन् । घटनापछि उनलाई त्यहाँबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ, तर संवेदनशील विषयमा कानुनी प्रक्रिया अझै अघि बढाइएको छैन । विभागीय कारबाही मात्र गर्ने तयारी भइरहेको स्रोत बताउँछ । 

पीडित महिला प्रहरीको उजुरीपछि प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर अध्ययन गरिरहेको छ । तर, उनीविरुद्ध जाहेरी दर्ता गर्ने कानुनी प्रक्रिया भने सुरु भएको छैन । घटनाको तीन दिन हुँदासम्म प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बनको प्रक्रियासमेत सुरु गरेको छैन भने एसएसपीभन्दा तल्लो तहका अधिकृतको नेतृत्वमा छानबिन गरेको छ । प्रहरी प्रधान कार्यालयबाट छानबिन तथा कारबाहीको प्रक्रिया नै सुरु भएको छैन । पीडित महिला प्रहरीलाई समेत जाहेरी नदिन दबाब पर्न थालेको स्रोत बताउँछ ।प्रहरीका प्रवक्ता कुवेर कडायतले एसएसपी पाललाई केही विषयमा बुझ्नका लागि भनेर प्रहरी प्रधान कार्यालय तानिएको, तर घटनाको विस्तृत विवरण आइनसकेको बताए । 

छानबिन समितिले अनुसन्धान गरिरहेको छ । एक महिला प्रहरीको निवेदन परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भरतबहादुर बोहराले पुष्टि गरे । ‘महिला प्रहरीको निवेदनउपर छानबिन भइरहेको छ, छानबिन प्रतिवेदनपछि के हो भन्ने प्रस्ट होला ।’ एसएसपी पाल विगतमा पनि यस्ता घटनामा संलग्न भई उन्मुक्ति पाउँदै आएका अधिकारी हुन् ।

 के थियो घटना ? 
गत शुक्रबार एक सहायक हवल्दार बिदा स्वीकृत गरेर घर जान लागेकी थिइन् । डिएसपी कृष्ण ओझाले उनको बिदा स्वीकृत गरेका थिए । त्यसबारे कार्यालय प्रमुख एसएसपी पाललाई जानकारी गराइयो । उनले सञ्चार सेटबाटै आदेश दिए, ‘बिदा जान लागेकी हवल्दारलाई मकहाँ पठाउनू ।’

एसएसपी पाल क्वार्टरमा थिए । आदेशअनुसार सहायक हवल्दार कोठामा पुगेपछि उनले भने, ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ ।’ एसएसपीको व्यवहारले उनी ‘सक’ भइन् । ‘बुबासमानको मान्छे, के कुरा गर्नुभएको सर’ भन्दै उनले प्रतिवाद गरिन् । एसएसपी पालले अझै उनलाई फकाउने प्रयास गरे । महिला हवल्दार रिसाएर त्यहाँबाट निस्किइन् । उनका आफन्त पनि सोही प्रहरी कार्यालयमा कार्यरत थिए, घटनाबारे तत्कालै जानकारी गराइन् । ड्युटी अफिसर रहेका इन्स्पेक्टरलाई पनि बताइन् । कार्यालयमा हल्लीखल्ली मच्चियो । महिला प्रहरीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।