मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २१ आइतबार ०७:४९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल मलेसियासँग चार विकेटले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २१ आइतबार ०७:४९:००

विनिफ्रेडले व्याटिङमा ३८ रन र बलिङमा १७ रन खर्चेर तीन विकेट लिएपछि नेपाल चौथो खेलमा निराश

मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली चौथो खेलमा चार विकेटले पराजित भएको छ । नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा सात विकेट गुमाएर ९६ रनको झिनो योगफल खडा गरेको थियो । मलेसियाले इनिङ्सको अन्तिम बलमा एक रन बटुल्दै चार विकेटको सानदार जित निकाल्यो । मलेसियाले नेपालविरुद्धको अन्तर्राष्ट्रिय टी–२० सिरिज २–२ को बराबरी गरेको छ । अब पाँचौँ तथा अन्तिम खेलमा जित निकाल्ने टोलीले सिरिजको ट्रफीमाथि कब्जा जमाउनेछ । 
फितलो ब्याटिङ
अघिल्लो दुई खेलमा लगातार नेपालले मलेसियालाई हराउँदै स्तरीय ब्याटिङ गरेको थियो । शनिबार वेन्गी मैदानमा नेपाली खेलाडीले आशातीत ब्याटिङ गर्न सकेन । शीर्ष तीन ब्याट्सम्यान आउट हुँदा नेपालले स्कोर बोर्डमा १३ रन मात्र जोडेको थियो । ओपनर काजल श्रेष्ठ ६, सीता रानामगर ५ र ज्योति पाण्डे १ रनमा आउट भएका थिए । मलेसियाविरुद्ध धैर्यपूर्वक ब्याटिङ गर्न रुचाउने कप्तान रुविना क्षेत्री चौथो खेलमा असफल भइन् । उनी शून्य रनमा आउट भइन् । रुविनाले सात बल सामना गरेकी थिइन् । नेपालको ब्याटिङमा काजल र सीताले पहिलो विकेटका लागि १० रनको साझदोरी गरे । काजलले १३ तथा सीताले १६ बल खेले । 

धरमराएको नेपालको ब्याटिङलाई इन्दु बर्मा र विन्दु रावलले सम्हाले । दुवैले छैटौँ विकेटका लागि ३५ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई १६.२ ओभरमा ६८–६ को स्थितिमा राखे । इन्दुले ३१ बलमा तीन चौकाको सहयोगमा ३२ रनको योगदान दिइन् । त्यसपछि विन्दुले कविता कुँवरसँग सातौँ विकेटका लागि २९ रन जोडेपछि नेपालले मलेसियालाई मध्यम लक्ष्य दिन सफल भयो ।

विनिफ्रेडको अलराउन्ड प्रदर्शन
विन्दुले २६ बलमा एक चौका प्रहार गर्दै २४ रन जोडिन् । उनी रनआउट भएकी थिइन् । कविता अन्तिमसम्म आउट नभई १३ बलमा १२ रन बनाइन् । मलेसियाको बलिङमा विनिफ्रेडले उत्कृष्ट बलिङ गरेकी थिइन् । उनले चार ओभरमा १७ रन खर्चेर नेपालका महत्वपूर्ण तीन विकेट हात पारिन् । विनिफ्रेडले एक मेडन ओभर पनि गरिन् । 

लक्ष्य पछ्याएको इनिङ्समा ओपनर विनिफ्रेडले सर्वाधिक ३८ रनको योगदान दिइन् । उनले ५२ बल खेल्दै दुई चौका प्रहार गरेकी थिइन् । यद्यपि, नेपालले बलिङका क्रममा उत्कृष्ट सुरुवात नगरेको होइन । इनिङ्सको चौथो बलमै ओपनर वान जुलियालाई कविता कुँवरले आउट गरेकी थिइन् । 

विनिफ्रेडले मास इल्यासँग दोस्रो विकेटका लागि २९ रन जोडेकी थिइन् । मासले १८ बलमा एक चौकाको सहयोगमा १३ रन बनाइन् । नेपाली बलरले मध्यक्रमका मलेसियन ब्याट्सम्यानलाई सस्तै रनमा आउट पार्दा खेल पकडमा आएको थियो । मलेसिया एक समय ७७–५ को स्थितिमा थियो । तर, नेपाली बलरले अनावश्यक रूपमा १९ रन अतिरिक्त दिँदा मलेसियाको जित सहज बन्यो ।