
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतको मध्यप्रदेशको इन्दाेरमा रहेको फोहोर व्यवस्थापन केन्द्रकाे अवलोकन गरेका छन् ।
सो क्रममा इन्दाेर नगर निगमको प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहले फोहोर व्यवस्थापन प्रक्रियाबारे जानकारी गराएकी थिइन् । उनले स्रोतबाट नै ६ भागमा विभाजन गरेर फोहोरको व्यवस्थापन हुँदै आएको बताइन् ।
कुल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहोर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिकृत सिंहले जानकारी दिइन् ।
सो केन्द्रले फोहोरलाई व्यवस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दोर सहरमा चल्ने सवारीसाधनमा प्रयोग गरिँदै आइएको छ ।
केन्द्रको अवलोकनपश्चात् प्रधानमन्त्री प्रचण्डले नेपालबाट प्राविधिहरू पठाई फोहोर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताए ।
स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहोर व्यवस्थापनमा गरेको काम विश्वमै नमुनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड केन्द्रको अवलोकन गर्न आज बिहान भारतको राजधानी नयाँदिल्लीबाट मध्यप्रदेशको इन्दोर पुगेका हुन् । इन्दोर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डको सम्मानमा आजै मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गरेका छन् । प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कने कार्यक्रम छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही १७ जेठमा भारत भ्रमणमा गएका हुन् । रासस