१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी सात वर्षीया बालिका रोशनी गुरुङ
Invalid date format ११:२५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

घरको तीन तलाबाट खसेर सात वर्षीया बालिकाको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२५:oo

१० महिनाको फरकमा दुई छोरीको मृत्यु, गुरुङदम्पती शोकमा

घरको तीन तलामाथिबाट खसेर साकेला गाउँपालिका– १ बाँझेच्यानडाँडाकी सात वर्षीया बालिका रोशनी गुरुङको ज्यान गएको छ । स्कुलबाट आएर खाजा खाएपछि खेल्ने क्रममा दिक्तेलस्थित किराँतनजिकैको भाडाको घरबाट खसेकी रोशनीको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।  

दिक्तेल इंग्लिस बोर्डिङ स्कुल दिक्तेलको कक्षा– २ मा अध्ययनरत रोशनी अपराह्न ४ बजेतिर तीन तलामाथिबाट लडेको स्थानीयले बताएका छन् । पक्की घरको तीन तलामाथिबाट लडेर झरेलगत्तै उद्धार गरेर दिक्तेलस्थित फेमिली केयर अस्पताल पुर्‍याइएकी रोशनीको उपचारको क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

लडेर ज्यान गुमाएकी रोशनीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएको सामुदायिक प्रहरी सेवा केन्द्र रत्नपार्कका प्रमुख प्रहरी नायब निरीक्षक गोपी कटवालले बताए । ‘स्कुलबाट आएर खाजा खाएपछि साथीसँग खेल्ने क्रममा लडेर झरेकी रहिछिन्, गम्भीर घाइते बनेकी रोशनीको उपचार गर्दागर्दै करिब डेढ घन्टापछि मृत्यु भयो,’ उनले भने, ‘फेमिली केयर अस्पतालले मृत घोषणा गरेपछि उनको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएको छ ।’ 

मृतक रोशनीको शव परीक्षणपछि सर्जमिन मुचुल्का गरेर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । मृतक रोशनी रविन गुरुङ र सिर्जना राई (गुरुङ)की कान्छी छोरी हुन् । 

बुबा रविन जिल्लामै भाडाको सुमो गाडी चलाउँदै आएका छन् भने आमा सिर्जना कोठा भाडामा लिएर छोराछोरी पढाउँदै दिक्तेलमै बस्दै आएकी छिन् । प्रेमविवाह गरेका रविन र सिर्जनाको तीन सन्तान (दुई छोरी र एक छोरा) जन्मिएका थिए ।

ठूली छोरी रोमीको गत साउन १३ गते शुक्रबार भाडाकै घरको निदाल (घरका दलिन अड्याउन राखिने काठ)मा सल बाँधेर पिङ खेल्ने क्रममा सोही सलमा झुन्डिएर मृत्यु भएको थियो । कोठामा बुबाआमा नभएको समयमा भाइ–बहिनीसँग खेल्ने क्रममा रोमीको घाँटीमा सलकाे पाँसो लागेर मृत्यु भएको थियो । 

नौ वर्षीया छोरी रोमीको झुन्डिएर र कान्छी रोशनीको लडेर मृत्यु भएपछि गुरुङदम्पती शोकमा डुबेका छन् । वर्ष दिन नपुग्दै दुई छोरीको एकपछि अर्को हुँदै दुर्घटनामा परी मृत्यु भएपछि उनीहरू अहिले शोकमा डुबेका  छन् ।