१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
कालिञ्चोक प्रवेश गर्ने देउराली कुरी सडक । तस्बिर : श्याम खतिवडा/ नयाँ पत्रिका । 
Invalid date format १५:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फराकिलो र पक्की बन्दै छ कालिञ्चोक पुग्ने सडक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१o:oo

धार्मिक गन्तव्यका रूपमा परिचित प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर पुग्ने मार्ग पछिल्लो समय फराकिलो र व्यवस्थित बन्दै गएको छ। 

दोलखा सदरमुकाम चरिकोटबाट कालिञ्चोक उक्लिने दुई बेग्लाबेग्लै मार्गको स्तरोन्नति र कालोपत्रे हुन लागेसँगै मन्दिर प्रवेश गर्ने सडक फराकिलो र पक्की बन्न लागेको हो।

बागमती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयको लगानीमा कालिञ्चोक मन्दिर पुग्ने मार्गको विस्तार भइरहेको छ। पूर्वाधार विकास कार्यालयले चरिकोटदेखि सिमपानीलेख टोल हुँदै देउराली बजारसम्मको सडक कालोपत्रेका लागि ठेक्का लगाएर धमाधम काम गरिरहेको छ भने देउरालीबाट गहिरीभन्दा तल्लो भाग ओढारेसम्म पनि कतै ढलान त कतै कालोपत्रेको काम गरिरहेको छ।

कार्यालयले दुईवटा छुट्टाछुट्टै प्याकेज बनाएर व्यवस्थित सडक निर्माण समयमै सम्पन्न गर्न लागिरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए। उनका अनुसार चरिकोटदेखि लेखटोल हुँदै देउरालीसम्म पुग्ने सडकमा कालोपत्रे गर्न पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ। त्यस्तै, देउरालीदेखि ओढारेसम्म पाँच किलोमिटर खण्डमा कतै ढलान त कतै कालोपत्रे गर्ने काम भइरहेको छ। 

कार्यालयले देउराली–कुरी खण्डको पाँच किलोमिटर सडकमा नाला निर्माण, टेवा पर्खाल, ढलान र कालोपत्रे गर्ने काम गरिरहेको छ। सडक निर्माणको जिम्मा पाएको याक्थुम्हाङ, दाप्चा, सिमपानी जेभिका प्रमुख राजु केसीले गत वर्षको हिमपात, बीचमा क्रसर बन्दजस्ता समस्याका कारण केही ढिलाइ भएको जनाएका छन्। 

सडक निर्माण पूरा भएपछि कालिञ्चोक जाने आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई निकै सहज हुनेछ। देउरालीदेखि कुरी खण्डमा हिउँदको समयमा हिमपात हुने भएपछि कार्यालयले भिरालो सडकमा पूरै ढलानको तयारी गरेको छ।

प्रमुख इन्जिनियर श्रेष्ठका अनुसार भिरालो सडकमा हिमपात हुँदा कालोपत्रे गर्दा सवारीसाधन चिप्लिने हुँदा त्यस्ता ठाउँमा ढलान गर्न लागिएको हो। चरिकोटबाट देउरालीसम्मको काम पनि धमाधम भइरहेको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। कार्यालयले दुईवटा खण्डमा गरी झन्डे २७ करोड बजेट विनियोजन गरी काम सुरु गरेको थियो।