
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भोलि (बुधबार)देखि सुरु हुने भारत भ्रमणलाई कसरी हेर्नुभएको छ ?
उच्च तहबाट हुने भ्रमण र भेटवार्ता कुनै पनि मुलुकका लागि एउटा अवसर हो । यस्ता भेटवार्ता कति सफल हुन्छन् भन्ने विषयचाहिँ व्यक्तिको कूटनीतिक चातुर्य र क्षमतामा पनि भर पर्छ ।
यस भ्रमणमा नेपालले उठाउनैपर्ने एजेन्डा के–के हुन् ?
दुवै देशबीच बढिरहेको अविश्वास कम गर्न या विश्वासको वातावरण कायम गर्न दुवै पक्षबाट पहल गरिनुपर्छ । भारतले इपिजे प्रतिवेदन बुझ्नसमेत आनाकानी गर्दै आएको छ । नेपालमा चिनियाँ ठेकेदारले निर्माण गरेका आयोजनाबाट उत्पादित बिजुली नकिन्ने भारतीय नीति छ । जब कि, भारतमै पनि हजारौँ चिनियाँ ठेकेदारले काम गरिरहेका हुन्छन् । दुई देशबीचको सीमा विवाद पनि यथावत् छ । भारतले बंगलादेशसम्म विद्युत् निर्यातका लागि सहज बाटो दिने भन्दै आए पनि अहिलेसम्म यसतर्फ ठोस उपलब्धि हुन सकेको छैन । यिनै विषयमा हामीले छलफल र सहमति गर्न सक्नुपर्छ ।
यस भ्रमणबाट नेपाली जनताले गर्न सक्ने अपेक्षा के–के हुन् ?
विगतका भ्रमणमा भएका कैयौँ सहमति र सम्झौता कार्यान्वयन हुन सकेका छैनन् । ती किन कार्यान्वयन भएनन्, यसबारे यसपटक छलफल होस् । सबैभन्दा ठूलो कुरा त एक–अर्काबीच रहेको अविश्वास र आशंका मेटियोस् । यो भ्रमण दुवैका लागि ठूलो अवसर हो, त्यसको सदुपयोग होस् ।