१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल तस्बिर ।
कमलराज भट्ट काठमाडौं
२०८० जेठ १६ मंगलबार २०:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पूरा, परराष्ट्रमन्त्री भन्छन्- ‘विद्युत् व्यापार विस्तारको एजेन्डालाई महत्व दिइनेछ’

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
२०८० जेठ १६ मंगलबार २०:१७:००

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। 

भ्रमण तालिका, एजेन्डा, प्राथमिकता र प्रतिनिधिमण्डलको टुंगो लागेको उनले जानकारी दिए।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार विस्तारको एजेन्डालाई महत्व दिइने बताए। 

विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने, नेपालको  ट्रान्समिसन लाइन बनाएर विद्युत् व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँग पनि विद्युत् व्यापारको आधार तयार गर्ने कोसिस गरिने मन्त्री साउदले बताए। 

‘भारतीय भूमि प्रयोग गरी बंगलादेशमा ऊर्जा व्यापार गर्ने कुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय छ,’ उनले भने। 

नेपालमा विद्युत् क्षेत्रमा लगानी अभिवृद्धि गर्न विद्युत् बिक्री हुने बजार सुनिश्चित गर्नु महत्वपूर्ण रहेको भन्दै उनले थपे, ‘यो कुरालाई दृष्टिगत गरेर भारतसँग ‘लङटर्म पावर डिल’ गर्ने कोसिस गरिरहेका छौँ। जसले नेपालमा अर्बाैं लगानी गरेर विद्युत् उत्पादन गरिसकेपछि त्यसको उत्पादनको बिक्रीमा लगानीकर्ता आश्वस्त हुन सकून् ।’ 

तीन चारवटा ट्रान्समिसन लाइन बनाउने र त्यसपछि विद्युत् व्यापार प्रभावकारी रूपमा हुने गरी अगाडि बढ्ने प्रयत्न आफूहरूको रहेको उनको भनाइ थियो।

सन्धि संशोधनलाई अन्तिम रूप दिइने
नेपाल भूपरिवेष्टित देश भएकाले भारतसँग ट्रान्जिट सन्धि अति महत्वपूर्ण रहेको भन्दै मन्त्री साउदले भ्रमणमा सन्धि संशोधनलाई अन्तिम रूप दिने प्रयत्न गरिने बताए। 

‘खुला सिमाना रहेको भारतसँग व्यापार घाटा छ। त्यसैले हाम्रो कृषि उत्पादनलाई भारतीय बजारसँग पहुँच हुन सकोस् भनेर आग्रह हुनेछ,’ उनले भने।

ट्रेड सन्धि अध्यावधिक गर्न दुई देशका अधिकारीबीच छलफल भइरहेको भन्दै मन्त्री साउदले निष्कर्षमा पुर्‍याउन सके व्यापार सरलीकृत हुने बताए। यसका लागि उद्योग वाणिज्य क्षेत्रलाई पनि भ्रमणमा समावेश गरिएको र भारतीय लगानीकर्तासँग सम्भावनाबारे छलफल हुने बताए।  

कनेक्टिभिटीको क्षेत्रमा रक्सौल–वीरगन्ज–सिमरा नाका ज्यादै व्यस्त रहेको भन्दै त्यसको विकल्पमा नयाँ व्यापारिक नाकाका लागि सम्भाव्य ठाउँहरूको बारेमा भारतसँग छलफल भइरहेको उनले जानकारी दिए। 

‘विशेष गरी महेन्द्रनगर, नेपालगन्ज र भैरहवा र विराटनगरलगायत विभिन्न नाकाबारे कुरा गरिरहेका छौँ। यो भ्रमणबाट सकारात्मक उपलब्धि आउने विश्वास लिएका छौँ,’ उनले भने। 

सुदूरपश्चिम प्रदेश र उत्तराखण्ड राज्य जोड्ने महाकाली नदीमा पक्की पुलहरू बनाउने सहमति कार्यान्वयन ठोस पहलकदमी हुने मन्त्री साउदको भनाइ छ। 

भ्रमणका क्रममा नेपालगन्ज चेकपोस्ट (आइसिपी) उद्घाटन गर्ने र केही सु्क्खा बन्दरगाह  शिलान्यास गरेर अगाडि बढाउने तयारी रहेको पनि उनले जानकारी गराए।

भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डिपिआरलाई पनि अघि बढाउन प्रस्ताव राख्ने उनले बताए। 

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदारीलाई हटाउनेबारे पनि छलफल हुने र एयर रुट प्राप्त गर्न सकारात्मक वातावरण निर्माण गरिने उनको भनाइ थियो। 

यीबाहेक भारतसँग थाती रहेका सीमादेखि अरू मुद्दासमेतमा नेपालले आफ्नो दृष्टिकोण राख्ने मन्त्री साउदले जानकारी दिए। दुई देशका विभिन्न तहका कमिटी र ‘वर्किङ ग्रुप’ले विविध सम्बन्धमा काम गरिरहेको भन्दै तत्काल गर्न सकिने र दीर्घकालीन काम छुट्याएर अघि बढ्ने समझदारी बनेको पनि उनले सुनाए। 

‘यसका लागि हामीले सरकारको तर्फबाट पर्याप्त तयारी गरेका छौँ। यो तयारीबाट प्रधानमन्त्रीले सरकारको दरिलो प्रतिनिधित्व गर्नुहुनेछ,’ उनले भने। 

नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको भन्दै मन्त्री साउदले आमनिर्वाचनपछि प्रधानमन्त्रीको हुन लागेको उच्चस्तरीय भ्रमणले थप सुदृढ र घनिष्ठ हुने विश्वास व्यक्त गरे। 

मन्त्री साउदले भ्रमण टोली मंगलबार नयाँदिल्ली प्रस्थान गर्ने, साँझ भारतीय राजदूूतावासमा स्वागत समारोह हुने बताए। उनका अनुसार बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुनेछ। 

राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेट हुनेछ। त्यसपछि मध्य प्रदेशको इन्दोर र उजेन जाने कार्यक्रम छ। त्यहाँबाट दिल्ली हुँदै स्वदेश फर्किने कार्यक्रम छ।