१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० जेठ १६ मंगलबार १३:३५:००
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

ब्रुसवाङका चेपाङलाई परान धान्नै मुस्किल : पेटभरि पानी त पाइँदैन, अन्नको के कुरा !

Read Time : > 1 मिनेट
२०८० जेठ १६ मंगलबार १३:३५:००

एक हातमा बन्चरो, अर्काेमा थाल र थाप्लोमा दाउराको भारी। काखीमा सानी नानी च्यापेर डुब्नै लागेको घामको रफ्तारसँगै हतारहतार घर फर्किँदै गरेकी बेनीघाट रोराङ गाउँपालिका– २ ब्रुसवाङकी कल्पना चेपाङको दैनिकी यस्तै छ।

कल्पना सधैँ काखीमा सानी छोरी च्यापेर घाँस, दाउरा, मेलापात गर्छिन्। ज्याला–मजदुरी गर्न टाढा जाँदासमेत नानी च्यापेर हिँड्नुपर्ने बाध्यता छ। तैपनि, दुई छाक खान धौधौ परेको उनी बताउँछिन्। ‘डाँडाको बस्ती, भिरालो जमिन छ। भिरमै खेतीपाती गर्छाैँ,’ उनी भन्छिन्, ‘बारीमा उब्जनी भएको अन्नपातले ६ महिना पनि पुग्दैन। बाँकी ६ महिना अनिकालमै बाँच्छौँ।’

ब्रुसवाङमा अहिलेसम्म खानेपानी, सडक सञ्जाल, बिजुली र स्वास्थ्य संंस्था छैनन्। परान धान्ने अन्नपात नै नहुँदा यहाँका चेपाङ समुदायलाई अन्य कुरामा ध्यान दिने फुर्सद पनि छैन। ‘ज्याला–मजदुरी गर्न नगएको दिन बेलुकी चुलोमा आगो बल्दैन। घरनजिक काम पनि पाइँदैन,’ कल्पनाले दुःख सुनाइन्, ‘म आफू त कहिलेकाहीँ भोकै पनि सुतेकी छु। तर, यो सानी नानीको के दोष ? भोकै सुताउन मनले मान्दैन।’

ज्याला–मजदुरी गरेको पैसाले चामल किन्न पुग्दैन। उनी कहिले मिलबाट कनिका त कहिले पसलबाट अन्य खानेकुरा किनेर टार्छिन्। ‘ढुंगा खाउँ कि माटो खाउँ भएको छ,’ कल्पनाले बताइन्।

३५ घरधुरी रहेको ब्रुसवाङमा २७ घर परिवारलाई ६ महिना पनि खान पुग्दैन। बाँकी परिवार जेनतेन सात–आठ महिना बाँच्न सक्छन्। बाँकी समय ज्याला–मजदुरी तथा डोकोडाला र भकारी बुनेर ज्यान बचाइरहेका छन्। टाँकी र सिस्नुको तरकारी, मकैको ढिँडो र गिठ्ठा, भ्याकुर उनीहरूको मुख्य खानेकुरा हो।

ब्रुसवाङकै सोमलाल चेपाङका दुई छोरा र एक छोरीसहित पाँचजनाको परिवार छ । ज्याला–मजदुरीका लागि कहिले बेँसी त कहिले वल्लो–पल्लो गाउँ पुग्ने गरेको उनी बताउँछन्। ‘खानेकुरै नभएपछि ज्यान बचाउन त विकल्प खोज्नैपर्‍याे,’ उनले भने, ‘घर छाडेर गल्छी, बैरेनी, बुङचुङ, बेनीघाट काम गर्न जान्छु। कहिले त मनाङसम्म पनि पुगेको छु।’ सोमलाल घर, सडकजस्ता निर्माण क्षेत्रमा मजदुरी गर्छन्। दिनभर मरिमरी काम गरेपछि उनले सात सय पाउँछन्।

‘पुस–माघतिरबाट घरको खानेकुरा सकिन्छ। साउन–भदौ नभई बारीको मकै आउँदैन। त्यसबीचमा कि ज्याला–मजदुरीमा दौडिने हो, कि डोकाडाला, भकारी बुन्ने हो,’ सोमलालले भने, ‘अहिले त बारीको मकै पनि असिनाले खायो। डाँठ मात्रै छ। मकै फल्लाजस्तो छैन।’ अभाव र अनिकालको चोट सहँदै आएको आफूहरूलाई अहिले असिनापानीले नुनचुक छर्केको जस्तो लाग्छ उनलाई। आउने हिउँदमा पहिलेभन्दा ठूलो अनिकाल हुने उनलाई चिन्ता छ।

बस्तीनजिक पानी–पँधेरो नहुँदा ब्रुसवाङवासीलाई एक गाग्री पानी लिन घन्टाैं हिँड्नुपर्ने बाध्यता पनि छ। स्थानीय फूलमाया चेपाङ भन्छिन्, ‘डाँडै काटेर जाँदा तीन घन्टा लाग्छ। अन्नपात मात्र होइन, पिउने पानी नभएर पनि धेरै रात भोकै सुतेकी छु। सुत्केरी हुँदा छिमेकीसँग एक गाग्री पानी सापटी लिएर नौ दिन पुर्‍याएँ।’ १२–१५ दिनमै काखीमा सानी नानी च्यापेर घन्टाैं धाएर पानीको पैँचो तिरेको उनले सुनाइन्। लामो सास फेर्दै उनले भनिन्, ‘पेटभरि पानी त खान पाइँदैन, खानेकुरा परको कुरा हो। अझ यस वर्ष  असिनापानी पर्‍याे। मकै सत्यनाशै बनायो। हिउँद भोकमरी हुने भयो। हामीलाई जस्तो दुःख संसारमा कसैलाई छैन होला। कसैलाई नपरोस् पनि।’