मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० जेठ १५ सोमबार १४:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजी जग्गामा बाटो विस्तार गर्न गाउँपालिकाको बलमिच्याइँ 

Read Time : > 1 मिनेट
२०८० जेठ १५ सोमबार १४:३६:००

सिराहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका– ३ मझौरा गाउँमा व्यक्तिको निजी जग्गामा रहेको बाटो विस्तारका नाममा अदालतको आदेशलाई समेत अवहेलना गर्दै गाउँपालिकाले बलमिच्याइँ गरेको जग्गाधनीले आरोप लगाएका छन्। 

मझौरा गाउँका करिब ५७ वर्षीय शिवनाथ यादवले गाउँपालिकाले दर्जनौँ स्वयंसेवक, कर्मचारी, जनप्रतिनिधि परिचालन गरी जबर्जस्ती आफ्नो स्वामित्वमा रहेको जग्गामा रहेको एल्बेस्टरले छाएको गोठ, कम्पाउन्ड पर्खाल भत्काएको गुनासो गरे। 

उनका अनुसार गोठ र कम्पाउन्ड पर्खाल आफ्नी श्रीमती परमिलाकुमारी यादवको नाममा रहेको साबिक मझौरा गाविस ४ हाल नवराजपुर गाउँपालिका– ३ कित्ता नं. २७० को सात कठ्ठा तीन धुर जग्गामा छ।  
 
बाटोको जग्गाको स्वामित्वको विषयमा गाउँपालिकाले जबर्जस्ती गर्न खोजेपछि उनले उच्च अदालत जनकपुर राजविराजमा मुद्दा दर्ता गराए। राजविराज इजलासले मुद्दाको सुनुवाइ गर्दै ४ जेठमा गाउँपालिका अध्यक्ष शिवउदगार यादव, वडाध्यक्ष वंशीलाल यादवसहित वडा सदस्यहरुविरुद्ध निषेधाज्ञा उत्प्रेषण आदेश जारी गरेको थियो। 

आदेशअनुसार १६ जेठमा दुवै पक्षलाई बोलाएको भए पनि आदेशको अवहेलना गरेको उनको गुनासो छ। अदालतको आदेशको अवहेलना गर्दै ‘१० जेठको दिउँसो करिब डेढ बजेदेखि साँझसम्म गाउँपालिकाका स्वयंसेवक, कर्मचारीहरूले घरमा ढुंगामुढासहित परिवारका सदस्यहरूलाई कुटपिट गरे, तर घटनास्थलमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी मूकदर्शक बन्यो।’ 

कुटपिटमा दाजु ७० वर्षीय रामअवतार यादवको दाहिने कानको जाली फुटेको, ३० वर्षीय छोरा रणधीर यादवको टाउको फुट्दा १५ वटा टाँका लागेको छ,’ उनले भने, ‘मेरी श्रीमतीको देब्रेहात फ्याक्चर हुनुका साथै अन्य ६ जनाको हात, खुट्टा, पिठ्युँमा चोटपटक लागेर घाइते भएका छन्। 

‘मेरा बाजे पुर्खाले दक्षिणतिर जाने आफ्नो खेतबारीमा आवतजावत गर्न पाँच फिटको बाटो राखेका हौँ,’ यादवले भने, ‘गाउँपालिकाले जबर्जस्ती गर्‍याे।’ त्यसपछि पूर्व दक्षिणपट्टि राम समुदायको बस्ती बसेको र आफ्नो निजी जग्गामा रहेको बाटो फराकिलो गर्ने भन्दै जेसिबी चलाएर झडप गराएको उनको आरोप छ। 

बाटोको निहुँमा बलमिच्याइँ 

मझौरा गाउँका शिवनाथको घरदेखि पूर्वपट्टि गोठसहित मूल सडकसँग जोडिएको करिब डेढ सय फिट उत्तर दक्षिणको बाटोको विषयमा गाउँपालिका र यादव परिवारको विवाद चल्दै आएको गाउँलेहरू बताउँछन्। 

यादवका छिमेकी रामपुकार ठाकुरका अनुसार गाउँको मुख्य बाटो फराकिलो बनाउने क्रममा गाउँपालिकाले जेसिबी, टिपर ल्याएर निजी रूपमा प्रयोग गरिरहेको बाटोसँगै रहेको गोठ भत्काउन थालेपछि यादव परिवारले अदालतको आदेश देखाएको भए पनि ‘अदालतको आदेश मान्दैनौँ’ भन्दै बचमिच्याइँ गरेर घरमा ढंगामुढा र कुटपिट गरेको उनले बताए। 

त्यसक्रममा आँगनमा राखिएको ज.१च ७९३१ नम्बरको टाटा सुमो र स.१प ९८४० नम्बरको मोटरसाइकलसमेत तोडफोड भएको उनले बताए। ढुंगामुढा र कुटपिट हुन थालेपछि आफ्नो परिवारका र छिमेकीसहित आठजना गाउँपालिकाको पक्षबाट आएका तीनजना पनि घाइते भएको उनले बताए। 

निर्णय मात्र कार्यान्वयन : अध्यक्ष यादव

गाउँपालिका अध्यक्ष शिवउदगार यादवले गाउँपालिकाले अदालतको आदेशको अवहेलना नगरेको दाबी गर्दै गाउँपालिकालाई त्यसको विषयमा कुनै जानकारी नआएको जिकिर गरे।

विवादित भनिएको बाटो शिवनाथले ०७५ सालको गाउँ कार्यपालिकाको बैठकमा नौ फिटको बाटो बनाउन सहमति दिँदै हस्ताक्षर गरेको अध्यक्ष यादवले दाबी गरे। पहिलोे गाउँ कार्यपालिकाले गरेको निर्णयलाई अहिले आफूहरूले कार्यान्वयन मात्र गर्न खोजेको उनले बताए। 

गाउँपालिकामा कार्यरत स्वयंसेवक, कर्मचारी, प्रहरी जाँदा शिवनाथ पक्षले प्रतिकार गर्दै गाउँपालिकाको जेसिबी, टिपरलगायतका साधनमा क्षति पुर्‍याएको र तीनजना स्थानीयलाई समेत घाइते बनाएकाले आफूहरू पनि कानुनी प्रक्रियामा जाने उनले बताए।