
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन् ।
सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक रहेको पनि बताए । उनले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आमनेपाली जनताको समान र अविचलित धारणा हुन सके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताकाे जगलाई अझ बलियो बनाउन सकिने धारणा राखे ।
उनले संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुन नसक्ने बताए । उनले आमजनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने बताए । उनले जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिबद्धताका साथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो रहेको उल्लेख गरे । राजनीतिक परिवर्तनलाई अर्थतन्त्रको सबलीकरण र सामाजिक रूपान्तरणको सहयोगी हुने गरी काम गर्न जरुरी रहेको उनकाे भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले गणतन्त्र र लोकतन्त्रप्रति वितृष्ण जगाउने काम भइरहेको भन्दै यी प्रयास सफल नहुने दाबी गरे । उनले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हुने बताए ।