मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडौं
२०८० जेठ १५ सोमबार १०:४२:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई समूहले बनायो १४ महिनामै बुटवल र गैँडाकोटमा केबलकार 

रिसोर्टसहितको लुम्बिनी केवलकारमा पाँच अर्ब र मौलाकालिका केवलकारमा दुई अर्ब लगानी पुग्ने अनुमान   

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडौं
२०८० जेठ १५ सोमबार १०:४२:००

बुटवलमा केबलकार सञ्चालन गर्ने वर्षौँदेखिको सपना बल्ल पूरा भएको छ । गणतन्त्र दिवसको अवसर पारेर बिहान ८ बजेदेखि बुटवलमा लुम्बिनी केबलकार सञ्चालनमा ल्याइएको हो । व्यावसायिक घराना आइएमई समूहको नेतृत्वमा बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको ऐतिहासिक क्षेत्र वसन्तपुर जोड्ने २.६ किलोमिटर लामो केबलकार निर्माण भएको छ । केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आए पनि औपचारिक उद्घाटन भने २५ जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्नेछन् । 

केबलकारको टप स्टेसन वसन्तपुरलाई लुम्बिनी क्षेत्रकै आकर्षक पर्यटकीय ‘हिल स्टेसन’ बनाउने आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । चरम मन्दीले निराशा छाइरहेका वेलामा आइएमई समूहले केबलकार सञ्चालनमा ल्याएर बुटवलसँगै सिंगो देशकै निजी क्षेत्रमा उत्साह थपेको छ ।

केबलकारमा ओपनिङ आफर भन्दै प्रतियात्रु टिकट सात सय ५० रुपैयाँ तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र स्थानीयलाई २५ प्रतिशत छुट र ८० वर्षमाथि तथा तीन फिटसम्मका नागरिकलाई पूरै छुट दिइएको केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेकविक्रम शाहले बताए । 

बुटवल बमघाटमा रहेको बटम स्टेसनबाट केबलकारमा पाल्पाको तिनाउँ गाउँपालिकास्थित वसन्तपुर पुग्न १० मिनेट लाग्ने शाहको भनाइ छ । मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डला रहेको केबलकारले दैनिक ६ हजारसम्म यात्रुलाई ओसारपसार गर्न सक्नेछ ।

बुटवलको प्रचण्ड गर्मीबाट केबलकार चढेर नाे सय ४० मिटर उचाइमा रहेको वसन्तपुर पुग्दा शीतल महसुस हुन्छ । वसन्तपुरबाट देखिने बुटवल सहर र वरिपरिका हरियाली डाँडाकाँडाले सबैलाई आकर्षित गर्ने ढकालको विश्वास छ । ‘भारतको सीमावर्ती सहरसम्मका दृश्यावलोकन गर्न सकिने र मौसम पनि चिसो हुनाले वसन्तपुर छिट्टै पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनेछ,’ ढकालले भने । खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शीतलता प्राप्त गर्न सकिन्छ । हिउँदमा पनि चाँडै घाम लाग्ने हुँदा बुटवलभन्दा वसन्तपुर क्षेत्र नै तातो हुनेछ ।

लुम्बिनी  प्रदेशको राजधानी दाङ सार्दा रुपन्देहीको व्यापार–व्यवसायमा परेको असरलाई पूर्ति गर्ने र रुपन्देही फेरि गुल्जार हुने ढकालको विश्वास छ । पुरानो व्यापारिक सहर बुटवलमा पर्यटकका लागि घुम्न जाने ठाउँको अभाव वसन्तपुरले परिपूर्ति गर्ने स्थानीयको पनि अपेक्षा छ । केबलकार सञ्चालन गर्नुअघि मन्दिरमा कामाख्य देवीको मूर्ति प्राणप्रतिष्ठा गर्न १२–१८ जेठसम्म सप्ताह महायज्ञ लगाइएको छ । 

केबलकारकाे पहिलो चरणको निर्माणमा डेढ अर्ब लगानी भएको छ । टप स्टेसनमा एक सय ५० कोठाको पाँचतारे लक्जरी रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, बार, ब्यांक्वेट, स्विमिङ पुल, जिपलाइन, स्काइवाक बाल उद्यानलगायत निर्माण गरिँदै छ । वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैलीमा कामाख्या देवीको मन्दिर निर्माण सम्पन्न भइसकेको छ । यस्तै, भेज तथा ननभेज छुट्टा–छुट्टै रेस्टुरेन्ट पनि बनाइसकेको शाहले बताए । 

केबलकार सञ्चालनमा आएपछि रिसोर्ट निर्माण सुरु गरिँदै छ । यस्तै, भारतीय र तेस्रो देशका पर्यटकलाई लक्षित गरेर रिसोर्टमा पूर्ण क्षमताको क्यासिनो राख्ने योजना छ । यी सबै पूर्वाधार निर्माण भइसक्दा कुल लगानी पाँच अर्ब पुग्ने ढकालको अनुमान छ । 

‘केबलकार सञ्चालनले बुटवलमा नयाँ धार्मिक एवं पर्यटकीय गन्तव्य थपिएको छ,’ उनले भने, ‘भारतको गोरखपुर, लखनउलगायत विभिन्न सहरका पर्यटक आकर्षित गर्न सकिने सम्भवना देखेर केबलकारमा लगानी गरेका हौँ ।’ बुटवलदेखि भैरहवासम्मको सडक ६ लेनमा विस्तार भइसकेको र सुनौलीबाट लखनउ, गोरखपुरसम्म पनि चौडा सडक बनिसकेको हुँदा पनि भारतीय पर्यटकका लागि बुटवल सहज गन्तव्य रहेको हो । 

त्यसो त बुटवलबाट पाल्पा, पोखरा हुँदै मुक्तिनाथसम्म पुग्न सकिने हुँदा पनि पर्यटकले एक दिन बुटवलमा बिताउने अपेक्षा गरिएको छ । नजिकै रहेको लुम्बिनीमा पर्यटकको चहलपहल हुँदा अहिले बुटवलमा वास बस्ने गरी पर्यटक पुग्दैनन् । अब लक्जरी रिसोर्टसहितको केबलकार सञ्चालनमा आएपछि बुटवल–वसन्तपुर पर्यटकको आकर्षण बन्ने शाहले बताए । स्थानीय व्यवसायीको टिमले लुम्बिनी केबलकार परियोजना सञ्चालन गर्ने तयारी थालेको डेढ दशक पुगिसक्यो । प्रशासनिक एवं विभिन्न प्रक्रियागत झन्झटका कारण परियोजनाले मूर्तता पाउन सकेको थिएन ।

काठमाडौंको चन्द्रागिरि डाँडोमा केबलकार सञ्चालनमा ल्याएर अनुभव बटुलिसकेको आइएमई समूहले साधारणसभा मात्र गरेर बसिरहेको कम्पनीको ५१ प्रतिशत सेयर किनेर केबलकार परियोजनालाई सार्थक तुल्याएको हो । बाँकी, ४९ प्रतिशत सेयर स्थानीयको छ ।

लुम्बिनी केबलकार परियोजनाले २५ वर्षका लागि वन क्षेत्र उपयोग गर्न पाउने गरी सरकारको स्वीकृति पाएको छ । केबलकारले सरकारी र सामुदायिक गरी कुल ६.२७ हेक्टर वन क्षेत्र उपयोग गरेको छ ।

१४ महिनामै दुई केबलकार
आइएमई समूहकै लगानी रहेको नवलपुर गैँडाकोटमा मौलाकालिका केबलकार गत महिना सञ्चालनमा आइसकेको छ । निर्माण सुरु गरेको १४ महिनामै मौलाकालिका र लुम्बिनी केबलकार सञ्चालनमा ल्याएको ढकालले बताए । ‘हामीलाई केबलकार बनाउनभन्दा बढी समय प्रशासनिक प्रक्रिया पूरा गर्न लाग्यो,’ उनले भने, ‘केबलकार सञ्चालनमा आएसँगै बुटवल र गैँडाकोटमा पर्यटकका लागि युनिक गन्तव्य ‘हिल्स स्टेसन’ तयार भएका छन् ।’

मौलाकालिका केबलकार १.२ मिलोमिटर लामो छ, जसमा आठजना अटाउने १२ वटा गोन्डला रहेका छन् । बटम स्टेसन गैँडाकोटबाट टप स्टेसन मौलाकालिका पुग्न पाँच मिनेट लाग्छ । केबलकारको टप स्टेसनमा ५० कोठाको होटेल निर्माण भइरहेको छ । छतमा हेलिप्याड, इन्फिनिटी स्विमिङ पुल, रुफटप रेस्टुरेन्ट, ब्यांक्वेटलगायत सुविधा रहने होटेलसहितको केबलकारमा करिब दुई अर्ब रुपैयाँ लगानी हुने अनुमान छ । 

आगामी पर्यटकीय सिजनसम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको होटेलबाट गैँडाकोटसहित देवघाट, नारायणगढदेखि रत्ननगरसम्मको सहर तथा जंगलको दृश्यावलोकन गर्न सकिन्छ ।

आइएमईको नेतृत्वमा ६ केबलकार बन्दै
आइएमई समूहका अध्यक्ष ढकालले सातवटै प्रदेशमा होटेल र केबलकारसहितको पर्यटकीय प्रडक्ट ‘हिल्स स्टेसन’ बनाउने घोषणा गरेका छन् । बागमती प्रदेशमा चन्द्रागिरि केबलकार सञ्चालनमा आइसकेको छ । गण्डकी प्रदेशमा मौलाकालिका केबलकार, लुम्बिनी प्रदेशमा लुम्बिनी केबलकार सञ्चालनमा आइसके । सुदूरपश्चिम प्रदेशको कैलालीमा पाँच अर्ब लगानीमा र कोसी प्रदेशको पाथीभरामा तीन अर्ब लगानीमा रिसोर्टसहितको केबलकार सञ्चालनमा आउँदै छ । 

यस्तै, गण्डकी प्रदेशकै कास्कीको सिकलेसमा आठ अर्ब  लगानी गरेर लक्जरी रिसोर्टसहितको अर्को केबलकार निर्माण गर्ने अठोट छ । ६ किलोमिटरभन्दा लामो सिकलेस केबलकारमा बटमदेखि टपसम्म तीनवटा स्टेसन रहनेछन्, जहाँ लक्जरी रिसोर्ट सञ्चालन गर्ने योजना छ । ‘छिट्टै पाथीभरा र कैलालीमा केबलकार निर्माण थालनी हुनेछ,’ ढकालले भने, ‘मधेस र कर्णाली प्रदेशमा पनि ठाउँ हेरिरहेका छौँ ।’