
पछिल्लो एक वर्षमा काठमाडौं उपत्यका र आसपासका ९० प्रतिशत खानेपानीका स्रोत सुकेका छन् । उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार अघिल्लो वर्षसम्म यस्ता स्रोतबाट दैनिक १२ करोड लिटर पानी संकलन हुने गरेकोमा यस वर्ष मुस्किलले एक करोड लिटर मात्रै आइरहेको छ ।
उपत्यकाआसपासका स्रोत सुक्नु र मेलम्चीबाट आइरहेको पानी पनि बन्द गरिएपछि खानेपानी वितरणमा समस्या भएको छ । मुहान सुक्नुका साथै भएको पानीसमेत मुहानका बासिन्दाले जथाभावी प्रयोग गर्न थालेकाले पनि पानीको अभाव हुन थालेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ ।
५ जेठदेखि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले मेलम्चीको पानी बन्द गरिरहेको छ । यही कारण केयुकेएलले ५ जेठयता जम्मा तीन स्थानमा मात्रै खानेपानी वितरण गर्न सकेको छ । केयुकेएलका अनुसार १० दिनयता लाजिम्पाट, चाबहिल र गौशाला क्षेत्रमा मात्रै खानेपानी वितरण भएको छ । गत वर्षसम्म यो सिजनमा मुहानहरूबाट प्रशस्त पानी आउँथ्यो । तर, अहिले पानीको मुहानभन्दा माथि भूमि दोहन भएकाले पनि सुकेको केयुकेएलको भनाइ छ ।
केयुकेएल खानेपानी वितरण महाँकाल केन्द्रका प्रमुख नारायण कर्ण भन्छन्– पानी अभाव भएपछि उपत्यकाका धेरै स्थानमा सात दिनदेखि वितरण हुन सकेको छैन । केही स्थानमा ५ जेठयता एकपटक मात्रै वितरण भएको छ । २० जेठसम्म मेलम्चीको पानी नआउने भएकाले त्यसवेलासम्म ११ दिनको अन्तरमा पानी वितरण हुनेछ । अघिल्लो वर्षसम्म केयुकेएलले उपत्यकाका तीन जिल्लाका १८ वटा मुहानबाट दैनिक १२ करोड लिटर पानी संकलन गथ्र्यो । तर, अहिले यी स्रोतबाट दैनिक एक करोड लिटर मात्रै आइरहेको छ ।
पानी नभएपछि उपत्यकाका धेरै स्थानमा हप्ता दिनदेखि वितरण हुन सकेको छैन । केही स्थानमा ५ जेठयता एकपटक मात्रै वितरण भएको छ । २० जेठसम्म मेलम्चीको पानी नआउने भएकाले त्यसवेलासम्म ११ दिनको अन्तरमा पानी वितरण हुने केयुकेएल खानेपानी वितरण केन्द्र महाँकालका प्रमुख नारायण कर्णले बताए । उनका अनुसार अघिल्लो वर्षसम्म केयुकेएलले उपत्यकाका तीन जिल्लाका १८ वटा मुहानबाट दैनिक १२ करोड लिटर पानी संकलन गथ्र्यो । तर, अहिले यी स्रोतबाट दैनिक एक करोड लिटर मात्रै आइरहेको छ । यो पानीले एक स्थानमा पनि पुग्दैन ।
केयुकेएलका अनुसार मेलम्चीको पानी आउनुअघिसम्म पुरानो पाइपलाइनबाट वितरण हुनेछ । नयाँ धारामा भने २० जेठपछि मात्रै खानेपानी आउँछ । उपत्यकामा अहिले दैनिक झन्डै ४३ करोड लिटर खानेपानी माग छ । मेलम्चीको १७ करोड लिटरसहित २९ करोड लिटर वितरण भइरहेको छ । आसपासका खानेपानीका मुहान सुकेपछि खानेपानी वितरणमा निकै समस्या भएको केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए । उनका अनुसार मुहानबाट आएको पानी तालिकाअनुसार वितरण भइरहेको छ ।
मेलम्चीको मुहानका संरचना व्यवस्थित गर्न ५ जेठमा पानी आपूर्ति बन्द गरिएपछि उपत्यकामा खानेपानीको समस्या हुन थालेको छ । जसका कारण बोतल र जारको पानीको माग बढेको छ । तर, जारको पानी गुणस्तरहीन र विनास्टिकरमा बिक्री हुँदा उपभोक्ता मारमा परेका छन् ।
यी क्षेत्रको मुहानको पानी केयुकेएलको ट्यांकीमा झर्छ
केयुकेएलले ललितपुरको गोदावरी, भैँसेपाटी, काठमाडौंको सुन्दरीजल तथा शिवपुरी क्षेत्रका मुहानको पानी संकलन र वितरण गर्दै आइरहेको छ । यसबाहेक सहरी क्षेत्रभित्रका केही मुहान सोझै ढुंगेधारा र कुवामा जोडिएको छ । सोही कारण पनि केही ढुंगेधाराहरूमा नियमित पानी आइराख्छ ।
उपत्यकाका परम्परागत पानी व्यवस्थापनका अनुसन्धानकर्ता पद्मसुन्दर जोशीका अनुसार उपत्यकामा हाल पाँच सय ७३ वटा ढुंगेधारा छन् । त्यसमा दुई सय वटामा बर्खाका वेलामा मात्रै पानी आउँछ । करिब १६ वटामा हिउँदमा पनि पानी आउँछ । दुई सयभन्दा बढी सुक्खा छन् भने करिब ३० वटा लोप भइसके । पानी आउने ढुंगेधारामा मूल र कुवा जोडिएको पाइन्छ ।
ढुंगेधाराको स्रोत पनि मूलकै पानी भएकाले जहाँ–जहाँ ढुंगेधारामा पानी आउँछ, त्यहाँ–त्यहाँ मूल जीवित रहेको मान्न सकिन्छ । जोशीका अनुसार सहरको मध्यभाग डिल्लीबजार, कालीकास्थान, धोबीधारा, पुरानो बानेश्वरलगायत क्षेत्रमा करिब १५ वर्षअघि तीनवटा खानेपानीका मूल थिए । तर, छेउछाउमा अग्ला भवन बनेपछि ती मूल सुके । जलविद् मधुकर उपाध्यायले डिल्लीबजारमा अग्रवाल भवन बनेपछि यहाँको प्राकृतिक मूल सुकेको बताए ।