१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्वस्थ आलोचनाले कांग्रेसलाई ‘करेक्सन’को मौका दिन्छ : देउवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:१८:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले स्वच्छ आलोचनाले पार्टीलाई कमीकजोरी सुधारेर अघि बढ्न सहयोग गर्ने बताएका छन् । नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले कांग्रेस आलोचनाबाट नडराउने उल्लेख गर्दै स्वस्थ आलोचनालाई सधैँ मनन गरेर जान तयार रहेको बताए ।

कांग्रेसमा आलोचनाका लागि आलोचना मात्रै हुने गरेको संकेत गर्दै उनले उचित आलोचनाले उत्साह बढाउने र समस्या समाधानमा सहयोग पुग्ने उल्लेख गरे । ‘कांग्रेस आलोचनाबाट डराउने पार्टी होइन । डराउँदैन पनि । कतिपय उचित आलोचना हुन्छन् । त्यस्ता आलोचनाले आगामी दिनमा काम गर्न झन् उत्साह हुन्छ । केही समस्या भए करेक्सन पनि हुन्छ,’ उनले भने ।

देउवाले देशका केही शक्ति प्रजातन्त्रको विरुद्धमा लागेको जिकिर गरे । उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले सुदृढीकरणमा सबै दलको भूमिका आवश्यक रहेको बताए ।

‘अहिले देशमा चुनौती आएको छ । लामो लडाइँपछि प्रजातन्त्र आएको हो । यसको खिलापमा एकथरी लागेका छन् । त्यसकारण यस्तो हुनुलाई अन्यथा लिनुहुँदैन । हामी सबै एकजुट भएर प्रजातन्त्रको सुदृढीकरण गर्ने काममा सुधार्दै अगाडि बढ्नुपर्दछ । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरू कुनै हुन सक्दैन । यो कुरा सबैले बुझ्नुपर्दछ,’ उनले भने ।

देउवाले प्रजातन्त्रको सुदृढीकरणमा प्रेस युनियनले योगदान पुर्‍याएको भन्दै प्रशंसासमेत गरे । स्थापना दिवसको अवसर पारेर युनियनले ०८० लाई प्रशिक्षण वर्ष बनाउने घोषणा गरेको छ । 

डेढ वर्षपछि कांग्रेसको विभाग गठन : प्रचार विभाग संयोजकमा विश्वकर्मा अझै २७ विभागको टुंगो छैन

१४औँ महाधिवेशनको डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठन थालेका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले महाधिवेशनपछि पहिलोपटक सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मालाई संयोजक तोकेका हुन् । यसअघि प्रवक्ता नै प्रचार विभाग प्रमुख रहने प्रचलन कांगे्रसमा रहँदै आएको थियो । यसपटक भने प्रवक्तामा डा. प्रकाशशरण महत नै रहने गरी विश्वकर्मालाई सो जिम्मेवारी दिइएको हो ।

विधानमा महाधिवेशनको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन गर्नुपर्ने व्यवस्था रहे पनि देउवाले ढिलो मात्र विभाग गठनको प्रक्रिया थालेका हुन् । अझै २७ विभागको संयोजक भने तोकिएको छैन । विभाग संयोजकमा केन्द्रीय सदस्य प्रमुख रहने र ५१ जनासम्म सदस्य रहने व्यवस्था छ । केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एकजना सचिव र सदस्यहरूको नियुक्ति गर्नेछन् ।

देउवाले लामो समयसम्म विभाग गठन नगर्दा आलोचना हुँदै आएको छ । विभाग प्रमुख तोकिन बाँकी विभागहरूमा संगठन विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, संवैधानिक कानुन तथा संसदीय मामिला विभाग, संघीय मामिला तथा स्थानीय तह विभाग, पेसागत तथा बुद्धिजीवी विभाग, भाषा, साहित्य, कला तथा संस्कृति विभाग, शिक्षा, विज्ञान तथा प्रविधि विभाग, गैरसरकारी संस्था तथा सामाजिक सेवा विभाग, अनुगमन, मूल्यांकन तथा अभिलेख विभाग, उद्योग तथा वाणिज्य विभाग, पर्यटन विभाग, कृषि तथा भूमिसुधार विभाग, युवा तथा खेलकुद विभाग, प्राकृतिक स्रोत, जल तथा ऊर्जा विभाग, शान्ति, सुरक्षा तथा प्रशासन सेवा विभाग, श्रमिक तथा ट्रेड युनियन विभाग, जनसम्पर्क समिति समन्वय, वैदेशिक रोजगार तथा आप्रवासन विभाग, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग, स्वास्थ्य विभाग, वन, वातावरण तथा विपत् व्यवस्थापन विभाग, महिला, लैंगिक समता, सामाजिक सुरक्षा एवं कल्याण विभाग, आर्थिक नीति तथा योजना विभाग, भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभाग, अन्य पार्टी सम्पर्क विभाग, सहकारी विभाग, भ्रातृ संघ समन्वय विभाग र शुभेच्छुक संस्था समन्वय विभाग छन् ।