१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
एजेन्सी न्युयोर्क
Invalid date format o८:४३:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

‘धेरै डरलाग्दो’ छ जीव प्रजातिको विनाश

अध्ययनले प्रजातिहरूको विनाशको मुख्य कारण मानिसले खेतबारी, सहर तथा सडक बनाउन जीव प्रजातिका प्राकृतिक वासस्थानमा पुर्‍याएको अपूरणीय क्षतिलाई मानेको छ

Read Time : > 1 मिनेट
एजेन्सी, न्युयोर्क
नयाँ पत्रिका
Invalid date format o८:४३:oo

एक नयाँ अध्ययनले विश्वमा वन्यजन्तुको क्षय पहिले सोचेभन्दा ‘धेरै डरलाग्दो’ पाएको छ । अध्ययनले पृथ्वीका करिब आधाजसो जीव प्रजातिले आफ्नो संख्यामा तीव्र गिरावट साक्षात्कार गरिरहेको पाएको छ ।मानव जातिले ठूलो संख्यामा जीव प्रजातिलाई समाप्त पारिसकेको र थप धेरैलाई अस्तित्वबाटै विलोपन (समाप्ति)को संघारमा पुर्‍याएको छ । केही वैज्ञानिक यो ‘छैटौँ आम विलोपन’तर्फ प्रवेश गरिरहेको टिप्पणी गर्छन् । र, यसपटकको आम विलोपन मानवका कारण हुँदै छ । 

प्रजातिहरूको विनाशको मुख्य कारण मानव प्रजातिले खेतबारी, सहर तथा सडक बनाउन जीवप्रजातिका प्राकृतिक वासस्थानमा पुर्‍याएको अपूरणीय क्षतिलाई मानिएको छ । यद्यपि जलवायु परिवर्तन पनि प्रजातिहरूको संख्यामा तीव्र गिरावटको एक महत्वपूर्ण कारक हो । विश्व जति तत्दै जान्छ, प्रजातिहरूमा त्यसको दुष्प्रभाव उति बढ्दै जाने प्रक्षेपण गरिएको छ ।

अध्ययनका लेखकहरूले समयक्रममा प्रजातिहरूको संख्या बढ्दै गएको छ कि खुम्चिँदै वा स्थिर रहेको छ भनेर निक्र्योल गर्न स्तनपायी, पक्षीजगत्, सरीसृप, उभयचर, माछा तथा किराफट्यांग्राजस्ता विश्वका ७० हजारभन्दा बढी प्रजातिको विश्लेषण गरेका छन् । बायोलोजिकल रिभ्युज नामक जर्नलमा सोमबार प्रकाशित यो अध्ययनअनुसार यी प्रजातिमध्ये ४८ प्रतिशत प्रजातिको संख्या घट्दै गएको र केवल तीन प्रतिशतभन्दा कम प्रजातिको मात्रै संख्यामा वृद्धि पाइएको छ ।

समयक्रममा प्रजातिहरूको संख्या बढ्दै छ कि खुम्चिँदै वा स्थिर छ भनेर निक्र्योल गर्न शोधकर्ताहरूले स्तनपायी, पक्षीजगत्, सरीसृप, उभयचर, माछा तथा किराफट्यांग्राजस्ता विश्वका ७० हजारभन्दा बढी प्रजातिको विश्लेषण गरेका थिए

क्विन्स युनिभर्सिटी बेलफास्टको स्कुल अफ बायोलोजिकल साइन्सेजका सहलेखक डेनियल पिन्चेइरा–डोनोसोले आफूहरूको निष्कर्ष ‘कडा चेतावनी’ भएको बताएका छन् । ‘थोरै प्रजातिमाथि गरिएका अन्य अध्ययनले पनि विलोपीकरणको जारी संकट अपेक्षा गरिएभन्दा निकै गम्भीर भएको देखाएका छन्,’ उनले भने, ‘हाम्रा निष्कर्षले विश्वव्यापीस्तरमा त्यसैको पुष्टि गर्छ । यो अध्ययनले जैविक विविधताको विश्वव्यापी क्षयीकरणको अवस्थाबारे स्पष्ट तस्बिर दिन्छ ।’ 

इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर ‘आइयुसिएन’को ‘रेड लिस्ट अफ थ्रेटेड स्पिसिज’ले करिब २८ प्रतिशत प्रजातिलाई लोप हुने खतराको सूचीमा राखेको छ ।‘हाम्रो अध्ययनले प्रजातिहरूको जनसंख्याको आकार तीव्र र क्रमिक रूपमा संकुचित हुँदै गएको देखाउँछ,’ पिन्चेइरा–डोनोसोले भने । प्रजातिको जनसंख्यामा घट्दो प्रवृत्तिले विलोपीकरणकै खतरालाई संकेत गर्छ । आइयुसिएनको रातो सूचीमा हाल ‘खतरारहित’मा वर्गीकृत ३३ प्रतिशत प्रजाति वास्तवमा लोप हुने दिशामा गइरहेका छन् ।

प्रतिवेदनअनुसार स्तनधारी, पक्षी र किराफट्यांग्राजस्ता प्रजातिले संख्यामा बढी गिरावट साक्षात्कार गरिरहेका छन् । तर, विशेष रूपले प्रभावित भने उभयचर देखिएका छन् । उनीहरूले रोग, जलवायु परिवर्तनलगायत विभिन्न खतराको सामना गरिरहेका छन् । माछा र सरिसृपहरूको संख्या भने घट्दोभन्दा पनि स्थिर रहेको पाइएको छ । एक्सेटर विश्वविद्यालयका संरक्षण विज्ञानका प्राध्यापक ब्रेन्डन गोडली यो अनुसन्धानले प्रजातिहरूको जनसंख्याको प्रवृत्तिबारे नयाँ अन्तरदृष्टि प्रदान गर्ने बताएका छन् । 
सिएनएनका लागि लउरा पेड्डिसनको रिपोर्ट