१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नीति तथा कार्यक्रमलाई परम्परावादी र कर्मकाण्डी भन्नु निराधार : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:३२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम पुरानो र नयाँ कार्यक्रमको सन्तुलन मिलाएर आएको बताएका छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार जवाफ दिँदै उनले नीति कार्यक्रमलाई परम्परावादी र कर्मकाण्डी भन्नु निराधार भएको बताए । यसमा उनले प्रतिनिधिमूलक नयाँ कार्यक्रम पनि प्रस्तुत गरेर जवाफ दिएका थिए । नीति कार्यक्रममा छुटेका विषय बजेटमा समेटेर कार्यान्वयन गरिने उनको प्रतिबद्धता थियो । प्रधानमन्त्रीको जवाफपछि राष्ट्रिय सभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । 

प्रचण्डले नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौती समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हासिल गर्ने उद्देश्य लिएको उल्लेख गर्दै आर्थिक, सामाजिक नवीन सोच र रूपान्तरणका कार्यक्रम समेटिएको बताए । विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिइएको भन्दै उनले त्यसकै आधारमा मात्र परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्कसंगत नहुने जिकिर गरे । ‘देशको आवश्यकतासँग सम्बन्धित थुप्रै नयाँ कार्यक्रम समावेश गरिएको छ,’ उनले भने, ‘नयाँ र पुराना कार्यक्रमको सन्तुलन मिलाएर आएको छ ।’ 

कृषिमा आत्मनिर्भरता हासिल गर्न गुणस्तरीय बीउबिजनमा देशलाई आत्मनिर्भर बनाउने, पशुपक्षी तथा खाद्यसम्बन्धी प्रयोगशालाको स्तरोन्नति गर्ने, प्रत्येक पालिकामा एक–एकवटा शीतगृह, कृषि भण्डारण र वितरण केन्द्र स्थापना गर्ने, ढलापडा रूखहरूलाई व्यवस्थित गर्ने, कृषि र वनको संयुक्त कार्यक्रम नयाँ भएको प्रधानमन्त्रीले सुनाए । दुई वर्षभित्र देशमा सबैलाई विद्युत्को पहुँचमा पु¥याउने, हिउँदमा ३० युनिट, बर्खामा ५० युनिटसम्म निःशुल्क उपलब्ध गराउने, सिँचाइ कार्यमा प्रयोग हुने विद्युत् महसुलमा सहुलियत दिने कार्यक्रम पनि नयाँ भएको उनको भनाइ थियो । 

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिकै दस्तावेज भएको दाबी गरे । आफू प्रधानमन्त्री भएपछि दुईवटा गठबन्धन बनेको उल्लेख गर्दै उनले पहिलो गठबन्धनको सैद्धान्तिक प्राथमिकता र साझा न्यूनतम कार्यक्रमकै आधारमा अहिलेको नीति कार्यक्रम आएकाले विरोधका लागि विरोध नगर्न आग्रह गरे । ‘दोस्रो गठबन्धनले पनि पहिलो गठबन्धनका साझा नीति कार्यक्रमकै आधारस्तम्भमा अर्काे कार्यक्रम तयार पारेको हो । यसरी वस्तुतः र यथार्थमा हेर्दा सैद्धान्तिक, राजनीतिक र नैतिक धरातलमा उभिएर भन्ने हो भने यो नीति तथा कार्यक्रम हामी सबैको राष्ट्रिय सहमतिको नीति कार्यक्रम बन्न गएको छ । यो मौलिक अवस्था दुर्लभ भेटिन्छ, सधँै यस्तो हुँदैन,’ उनले भने । प्रधानमन्त्रीले सदनमा अहिले सत्ता र प्रतिपक्षमा भए पनि पृष्ठभूमिका आधारमा साझा नीति कार्यक्रम सामूहिक रूपमा निर्माण गरिएको दाबी गरे । 

ad
ad