१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ९ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ ९ मंगलबार ११:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ ९ मंगलबार ११:५६:oo

मुलुकको संघीय राजधानी काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालू आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालू आवमा काठमाडौंमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए । ‘पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिट्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ,’ उनले भने । 

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए । पछिल्लो समय काठमाडौ‌ंमा बैंकिङ कसुर र संगठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उनकाे भनाइ छ ।

परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालू आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध पाँच सय ७५, चोरीसम्बन्धी कसुर चार सय ४५, लागुऔषध दुई सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर दुई सय ५७, आत्महत्यासम्बन्धी कसुर दुई सय ३१, सवारी ज्यान तथा अंगभंगसम्बन्धी कसुर एक सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।

परिसरमा गत आवमा बैंकिङ  कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार तीन सय ४३ मुद्दा दर्ता भएका थिए ।