१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तामाकोसी–५ मा सञ्चय कोषले पौने १४ अर्ब ऋण लगानी गर्ने

९९.८ मेगावाटको आयोजनामा सवा २१ अर्ब लगानी अनुमान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:२२:oo

कर्मचारी सञ्चय कोषले ९९.८ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनामा १३ अर्ब ७४ करोड सात लाख ऋण लगानी गर्ने भएको छ । आइतबार प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण र सञ्चय कोषबीच त्रिपक्षीय सम्झौता भएको छ । तामाकोसी जलविद्युत् कम्पनी प्राधिकरणको सहायक कम्पनी हो । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रमुख प्रशासक जितेन्द्र धिताल र कम्पनीका सिइओ विनोद भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

निर्माण सुरु भएको चार वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनामा निर्माण अवधिसम्म ब्याजसहित २१ अर्ब १३ करोड ९५ लाख लगानी अनुमान गरिएको छ । त्यसमा ६५ प्रतिशत ऋण लगानी सञ्चय कोषले गर्ने भएको हो । बाँकी ३५ प्रतिशत रकम भने कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछ । कम्पनीले स्वपुँजीको ५० प्रतिशत रकम खर्च गरेपछि ऋण प्रवाह सुरु हुनेछ । सञ्चय कोषले लगानी गरेको कर्जाको ब्याजदर ११ प्रतिशत रहेको स्रोतले जनाएको छ । 

यो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो । यसमा बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर)लगायतका संरचना बनाउनुपर्दैन । सोही कारण पनि तामाकोसी पाँचौँलाई आकर्षकको आयोजना मानिएको छ । माथिल्लो तामाकोसी आयोजनाबाट निस्कने पानीबाट नै यो आयोजना सञ्चालन गरिनेछ । आयोजनामा आठ किलोमिटर सुरुङ, विद्युत्गृहलगायत मुख्य संरचना निर्माण गरिनेछ । हाल आयोजनाअन्तर्गत बन्ने सुरुङको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । अहिले त्यसमा गेट जडान गर्ने कार्य भइरहेको छ । सोही सुरुङमार्फत माथिल्लो तामाकोसी आयोजनाबाट  निस्कने पानी यो आयोजनामा ल्याइनेछ । 

आयोजनाको विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत् उत्पादनको अनुमति ०७४ को जेठमा पाएको थियो । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैंक (एआइआइबी)को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको थियो । आयोजनाको विद्युत् प्राधिकरणले खरिद गर्ने गरी १४ मंसिर ०७९ मा पिपिए सम्झौता भइसकेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युत् माथिल्लो तामाकोसीले निर्माण गरेको गोंगर खिम्ती दुई सय २० केभी प्रसारण लाइनबाटै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । त्यसका लागि उक्त प्रसारण लाइनको क्षमता अभिवृद्धि गर्ने गरी विद्युत् विकास विभागबाट सैद्धान्तिक स्वीकृति ल्याइएको छ । 

आयोजनाको अहिले पूर्वतयारीका कामहरू भइरहेका छन् । आयोजनालाई चाहिने एक सय ३३ रोपनी जग्गा प्राप्ति भइसकेको छ । निर्माण सुरु भएको चार वर्षभित्र आयोजना सञ्चालनमा आउने बताइएको छ । अब आवश्यक प्रक्रिया पूरा गरेर आयोजनाको निर्माण कार्य अघि बढाइने कम्पनीका सिइओ विनोद भण्डारीले बताए ।

कम्पनीले दुई प्याकेजमा ठेक्का लगाएर आयोजनाको निर्माण कार्य अघि बढाउनेछ । सिभिल र हाइड्रो मेकानिकलसम्बन्धी निर्माणका लागि एउटा प्याकेज र इलेक्ट्रो मेकानिकल र प्रसारण लाइनको निर्माणका लागि अर्काे प्याकेज गरेर दुई प्याकेजमा निर्माण अघि बढाइने कम्पनीको भनाइ छ । अब आवश्यक प्रक्रिया पूरा गरेर सिभिल र हाइड्रो मेकानिकलको निर्माण अघि बढाउने कम्पनीको योजना छ । 

कम्पनीले आयोजनाको सिभिल र हाइड्रो मेकानिकल निर्माणका लागि गत साउनमा ठेक्का आह्वान गरेको थियो । त्यसमा सिनो हाइड्रो कर्पाेरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड प्राविधिक रूपमा पास भएका थिए । तर, आर्थिक प्रस्ताव खोल्दा लागत अनुमानभन्दा धेरै कबोल गरेको देखियो । त्यसपछि उक्त टेन्डर रद्द गरिएको थियो । अब छिट्टै नयाँ टेन्डर आह्वान गरिने सिइओ भण्डारीले नयाँ पत्रिकालाई बताए ।

‘पहिलाको टेन्डर रद्द भएपछि अहिले नयाँ टेन्डर आह्वान गर्ने  तयारी गरेका छौँ । अहिले आयोजना निर्माणको पूर्वतयारीको काम भने भइरहेको छ,’ उनले भने, ‘अब टेन्डर आह्वान गरेर आयोजना निर्माणको काम अघि बढाउँछौँ ।’हस्ताक्षरण समारोहलाई सम्बोधन गर्दै मन्त्री शक्ति बस्नेतले आयोजनाको निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास व्यक्ति गरे । साथै, नेपालको समृद्धिका लागि जलविद्युत् क्षेत्र महत्वपूर्ण आधार बनेको उनको भनाइ छ । ‘हालसम्म आउँदा जलविद्युत् क्षेत्रले महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको छ । अब थप उपलब्धिका लागि हामी अग्रसर हुुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि थुपै्र अवसर हाम्रो अगाडि छ । त्यसका लागि आधार पनि बनिसकेको छ । समग्रमा अब जलविद्युत्को विकास गुणात्मक रूपमा अघि बढ्न सक्छ ।’

यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धन्यवाद दिँदै  सञ्चय कोषलाई थप आयोजनामा लगानी गर्न पनि आग्रह गरे । ‘कोषकै ऋण लगानी रहेको चिलिमेअन्तर्गत सबै आयोजना अबको केही महिनामै सञ्चालनमा आउँछन् । त्योअनुसार त्यस आयोजनाबाट कोषलाई पे ब्याक हुन थाल्छ । माथिल्लो तामाकोसीबाट पनि कोषलाई पे ब्याक हुन थालेको छ । त्यो अवस्थामा अब कोषलाई लगानीयोग्य पुँजीको अभाव हुँदैन,’ उनले भने, ‘साथै, हामीसँग पनि लगानी भएको अवस्थामा निर्माणमा जान सक्ने थुप्रै आयोजना छन् । त्यस्ता आयोजनाहरूमा कोषलाई लगानी गर्न अनुरोध गर्दछु । पे ब्याक तथा प्रतिफलबापत जलविद्युत् आयोजनाबाट आउने पैसा जलविद्युत् आयोजनामै लगानी गर्न मेरो अनुरोध छ ।’

यस्तै, कोषका प्रमुख प्रशासक जितेन्द्र धितालले यो ऋण लगानीले समग्र जलविद्युत् क्षेत्रकै विकासमा योगदान पु¥याउने बताए । साथै, जलविद्युत् आयोजनामा लगानी गर्ने विषयलाई कोषले पहिलेदेखि नै प्राथमिकतामा राख्दै आएको उनको भनाइ छ । 

‘कोषले यसअघि पनि विभिन्न जलविद्युत् आयोजनाहरूमा ६० अर्ब रुपैयाँ लगानी गरिसकेको छ । त्यसले समग्र जलविद्युत् विकासमा ठूलो योगदान पुगेको छ,’ उनले भने, ‘सोही क्रममा अहिले यस आयोजनामा ऋण लगानी गर्ने भएका हौँ ।’ यस्तै, उनले यो आयोजना निर्धारित समयमा तोकिएकै लागतमा बन्नुपर्ने पनि बताए ।

ad
ad