Skip This
बागमतीमा आज मन्त्रिपरिषद्ले पूर्णता पाउने, ११ मन्त्रालय फुटाएर १२ बनाउने तयारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ७ आइतबार
  • Saturday, 27 July, 2024
२o८o जेठ ७ आइतबार १o:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा आज मन्त्रिपरिषद्ले पूर्णता पाउने, ११ मन्त्रालय फुटाएर १२ बनाउने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ७ आइतबार १o:१९:oo

बागमती प्रदेशको मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । मन्त्री भागबन्डाको विषयमा कुरा नमिल्दा लामो सयमदेखि अधुरै रहेको मन्त्रिपरिषद्लाई आज पूर्णता दिने तयारी भएको मुख्यमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।

अझै पनि सत्तासझेदार दलहरूबीच भागबन्डामा समस्या भएपछि मन्त्रालयको संख्या बढाएर भए पनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको स्रोतको दाबी छ । ११ वटा मन्त्रालय रहेको प्रदेशमा कांग्रेसले ६, माओवादीले चार र एकीकृत समाजवादीले दुईवटा मन्त्रालयमा दाबी गरेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

प्रदेशको मन्त्रिपरिषदमा अहिले माओवादीका मुख्यमन्त्रीसहित चार र कांग्रेसका दुईजना मन्त्री रहेका छन् । यस्तै, एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने तयारी भइरहेको छ । 

गएको चैत १० गते दोस्रोपटक विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५७ दिनदेखि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएनन् । उनले लामो समयसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसेकपछि आफ्नो जिम्मेवारीमा रहेका पाँचमध्ये तीन मन्त्रालयको जिम्मेवारी सत्तासाझेदार दल कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामालाई दिएका थिए ।

११ मन्त्रालय रहेको प्रदेश सरकारमा अहिलेसम्म ६ वटा मन्त्रालयमा मात्रै मन्त्रीहरू रहेका छन् । दुईवटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेल र तीनवटा मन्त्रालयको जिम्मेवारी लामासँग रहेको छ । सरकारमा माओवादीका तर्फबाट चार र कांग्रेसका तर्फबाट दुईजना मन्त्रीहरू छन् ।

प्रदेश गठबन्धन तहमा पटक–पटक वार्ता भए पनि निकास निस्कन नसकेपछि प्रमुख दलका शीर्ष नेताहरूसँग बसेर भागबन्डा टुंग्याइएको हो । जेठ ४ गते प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नेताहरू बोलाएर सहमति गराएपछि बागमतीमा सरकार विस्तार हुने भएको हो ।

आजै २ बजे हेटौँडा १० मा रहेको प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार बागमती प्रदेशमा रहेको ११ मन्त्रालयलाई फुटाएर १२ वटा पुर्‍याउने तयारी पनि दलहरूको छ । अहिले कांग्रेसलाई पाँच, माओवादीलाई चार र एकीकृत समाजवादीलाई दुईवटा मन्त्रालय दिएर जाने र बजेटपछि कुनै एउटा मन्त्रालय फुटाएर कांग्रेसको मन्त्री संख्या ६ पुर्‍याउने तयारी भएको बुझिएको छ ।

यता बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेल भने मन्त्रालय फुटाउने विषयमा असहमत छन् । तर, भागबन्डा मिलाउनैपर्ने भएपछि एकीकृत समाजवादीलाई एक मन्त्री र एक राज्यमन्त्री दिएर भए पनि मनाउने तयारी पनि भइरहेको स्रोतको दाबी छ । कांग्रेसले ६ वटा मन्त्रालयको दाबी गरेपछि एकीकृत समाजवादीले पनि दुईवटा मन्त्री नपाए सरकारमै सहभागी नहुने चेतावनी दिँदै आएको छ ।

आजै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरूको टुंगो लागिसकेको छैन । दुवै दल मन्त्री छान्ने विषयमा आन्तरिक तयारीमा जुटेका छन् ।