मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० जेठ ५ शुक्रबार ०८:१३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रियलमाथि सानदार जित निकाल्दै सिटी फाइनलमा

साबिक विजेता रियल म्याड्रिडलाई दोस्रो लेगमा ४–० ले स्तब्ध पार्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

Read Time : > 1 मिनेट
२०८० जेठ ५ शुक्रबार ०८:१३:००

इंग्लिस क्लब म्यानचेस्टर सिटीले सर्वाधिक १४ पटकको विजेता रियल म्याड्रिडमाथि दोस्रो लेगमा ४–० को जित निकाली युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । सिटीले अब उपाधि भिडन्तमा सिरी ए क्लब इन्टर मिलानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताकै साबिक विजेतासमेत रहेको रियलले आफ्नो घरेलु मैदानमा सेमिफाइनलको पहिलो लेगमा सिटीलाई १–१ को बराबरीमा रोकेको थियो । प्रतियोगिताको बुधबार राति इतिहाद रंगशालामा सिटीले एकपक्षीय खेल देखायो । 

स्पेनिस क्लब रियलका खेलाडीले खेलको कुनै पनि समयमा सिटीलाई दबाब राख्न सकेन । सिटीको जितमा बर्नाडो सिल्भाले दुई गोल गरेका थिए । म्यानुयल एकान्जी र जुलियन अल्भारेजले रियलको पोस्टमा समान एक गोल गरे । खेलको २३औँ मिनेटमा सिल्भाले सिटीलाई १–० को अग्रता दिलाए । उनले केभिन डी ब्रुयनाको पासमा गोल गरेका थिए । खेलको ३७औँ मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी २–० ले अगाडि बढ्यो । 

खेलको ७६औँ मिनेटमा म्यानुयलले सिटीलाई ३–० को बलियो स्थितिमा पुर्‍याए । खेलको अन्तिम इन्जुरी समयमा अल्भारेजले सिटीलाई ४–० को सानदार जित दिलाए । यसअघि इंग्लिस क्लब म्यानचेस्टर सिटी दुई संस्करणको सेमिफाइनलमा रियलसँग पराजित भएको थियो । उत्कृष्ट फर्ममा रहेको सिटीले यसपटक रियललाई खेलमा फर्कन मौका नै दिएन । सिटी सन् २०२०–०२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो । 

पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटी चालू सिजनमा तीन प्रमुख उपाधिनजिक पुगेको छ । सिटी प्रिमियर लिग र एफए कपको उपाधिनजिक छ । सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दै छ । सिजनमा तीनै उपाधि जिते सिटी ट्रेबल गर्ने दोस्रो इंग्लिस क्लब हुनेछ । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले पहिलोपटक ट्रेबल जितेको थियो । त्यसवेला युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गुसन थिए । 

च्याम्पियन हुने प्रतीक्षामा 
इंग्लिस क्लब पुनः एकपटक युरोपियन च्याम्पियन्स लिग उपाधिको जितनजिक पुगेको छ । यसपटक फर्ममा रहँदा सिटीले युरोपकै नम्बर एक टोली हुने दाबेदारी बलियो रूपमा दिएको छ । बार्सिलोनालाई च्याम्पियन्स लिग उपाधि दिलाएका पेपले सिटीलाई एकपटक मात्र उपविजेता बनाए । सन् २०२१ को सिजनमा सिटी चेल्सीसँग स्तब्ध भएको थियो । सिटीको प्रतिद्वन्द्वी इन्टर मिलान अनुभवी क्लब हो । इन्टर मिलानले तीनपटक उपाधि उचालेको छ ।

 सन् १९६४, १९६५ र २०१० को सिजनमा इन्टरले च्याम्पियन्स लिग जितेको थियो । सन् १९६७ र ७२ मा इन्टर मिलान उपविजेता बनेको थियो । सेमिफाइनलबाट बाहिरिएको रियल अहिलेसम्मकै सर्वाधिक सफल क्लब हो । म्याड्रिडले कीर्तिमानी रूपमा १४ पटक उपाधि हात पारेको छ । म्याड्रिड चारपटक मात्र उपविजेता बन्यो । च्याम्पियन्स लिगमा एसी मिलानले सातपटक उपाधि जितेको छ ।