१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:o५:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भुटानी शरणार्थीका ‘नेल्सन मन्डेला’ मानिने टेकनाथ रिजाल पनि ठगी धन्दामा पक्राउ

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o५:oo

रिजालले प्रत्येक वर्ष सरकारबाट बुझ्थे १३ लाख भत्ता तथा गाडी र सुरक्षागार्डको सुविधा

भुटानी शरणार्थीलाई स्वदेश फर्काउन नेता टेकनाथ रिजालले गरेको संघर्ष अन्तर्राष्ट्रिय रूपमै चर्चित छ । तर, उनै नेता अहिले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनले नक्कली भुटानी शरणार्थी बनाउन बिचौलियासँग रकम नै बुझेका थिए । प्रहरी हिरासतमा रहेका सानु भण्डारी र सागर राईले धन्दामा रिजाल पनि संलग्न रहेको बयान सुरुमै दिएका थिए । रिजालले धन्दाका क्रममा सात लाख रुपैयाँ बुझेको विवरण त प्रहरीले भण्डारीकै डायरीमा फेला पारेको थियो । तर, प्रहरीले उनलाई पक्राउ गर्ने प्राथमिकतामा राखेको थिएन । पछि रिजालले रकम बुझेको बैंक ‘स्टेटमेन्ट’ नै फेला पारेपछि मात्रै प्रहरीले उनलाई पक्राउ गरेको हो । 

रिजालले भण्डारीसँग रकम बुझेको बैंक ‘स्टेटमेन्ट’ फेला परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । उनले भने, ‘रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बिचौलियासँग रकम बुझेको देखियो । रकम बुझेको पुष्टि बैंक स्टेटमेन्टले गर्‍यो । त्यसो हुँदा धन्दामा उनी पनि संलग्न रहेको देखियो । सोही कारण उनलाई हामीले पक्राउ गरेका हौँ ।’

भुटानी शरणार्थीबाट ‘नेल्सन मन्डेला’को उपनामसमेत पाएका रिजालकै संघर्षका कारण एक लाख १२ हजार भुटानी शरणार्थीको तेस्रो मुलुकमा पुनर्वास भइसकेको छ । अझै ६ हजार तीन सय ६५ शरणार्थीको पुनर्वास हुन सकेको छैन । उनीहरू अहिले झापाको बेलडाँगीस्थित शिविरमा छन् । उनीहरूको तेस्रो मुलुकमा पुनर्वासका लागि सरकारले ३० जेठ ०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खेल त्यहीँबाट सुरु भयो । जीवनको करिब उत्तराद्र्धमा रिजाल बिचौलियाको सोही खेलमा सामेल भए । 

भुटानको लामिडाँडामा जन्मिएका नेता रिजाल सन् १९९० मा अन्य शरणार्थीसँगै नेपाल आएका थिए । निष्ठावान छवि बनाएका रिजाललाई भुटानी राजा जिग्मे दोर्जी वाङचुक राजपरिवारले सर्वोच्च सम्मान ‘डासो’ दिएको थियो । भुटानको चिराङबाट निर्वाचन जितेका उनी सांसदसमेत बनेका थिए । उनको सोही छविका कारण नेपाल आएका एक लाख १५ हजार भुटानी शरणार्थी उनको नेतृत्वमा आबद्ध भएका थिए । झापाको बेलडाँगी र मोरङको पथरीस्थित शिविरमा रहेका उनीहरूले रिजालकै नेतृत्वमा स्वदेश फर्कन लामो संघर्ष गरे । तर, भुटान सरकार यस विषयमा टसकोमस भएन । 

त्यसपछि उनीहरूलाई तेस्रो मुलुकमा पुनस्र्थापना गर्ने अवधारणा आएको थियो । यस क्रममा एक लाख नौ हजारभन्दा धेरै शरणार्थीलाई अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायत मुलुकमा पुनस्र्थापना गरिसकिएको छ । सन् २००७ को मार्चबाट सुरु गरिएको पुनस्र्थापना सन् २०१६ डिसेम्बर ३१ सम्म चल्यो । त्यसयता पारिवारिक पुनर्मिलनबाहेक पुनस्र्थापनाका सबै काम बन्द गरिएका छन् । जसमध्ये ६ हजार तीन सय ६५ शरणार्थी नेपालमै छन् । जसलाई युएनएचसिआरले पुनस्र्थापनाका लागि अयोग्य भनेको छ । 

युएनएचसिआरका अनुसार नेपालमा रहेकामध्ये पथरीमा १२ सयदेखि १५ सय शरणार्थी छन् । बाँकी सबै बेलडाँगीमा छन् । उनीहरूको जीवन कष्टकर छ । सर्वोच्च नेता रिजालकै नेतृत्वमा अझै पनि भुटान फर्कने अपेक्षा उनीहरूसँग बाँकी थियो । तर, उनै नेता अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । 

प्रहरीले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट दुई दिनको म्याद थप गरेको छ । प्रहरी हिरासतमा रहेका उनीसँग बयान लिने काम सुरु भइसकेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले अनुसन्धानका क्रममा इन्कारी बयान दिएका छन् । प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले उनीविरुद्ध दुई दिनको म्याद थप भएको र अनुसन्धान प्रक्रिया सुरु भएको बताए । ‘अनुसन्धानपछि बाँकी तथ्य खुल्दै जाला,’ उनले भने । 

हज कमिटीको गाडी रकम ओसारपसारमा प्रयोग 
गृह मन्त्रालय मातहतको नेपाल हज कमिटीकोे स्वामित्वमा छ, बिएबी–१४०५ नम्बरको निसान पेट्रोल जिप । उक्त जिप कमिटीका अध्यक्ष शमशेर मियाँले चढ्दै आएका थिए । तर, उनले उक्त गाडी आफूले मात्रै प्रयोग नगरी नक्कली भुटानी शरणार्थी बनाउने क्रममा रकम ओसारपसारमा समेत प्रयोग गर्न दिए । नक्कली भुटानी शरणार्थीको बायोमेट्रिक तथा अन्तर्वार्ता लिने क्रममा समेत उक्त गाडी प्रयोग भएको थियो । 

अभियोगमा प्रहरीले मियाँलाई बिहीबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पक्राउ गरेको छ । उनीविरुद्ध पनि प्रहरीले दुई दिनको म्याद थप गरेको छ । प्रहरीका अनुसार रकम लेनदेनमा पनि मियाँ संलग्न रहेको देखिएको छ । लेनदेन पुष्टि गर्ने प्रमाण फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको काठमाडौं परिसरका अनुसन्धान अधिकृतले जानकारी दिए । 

उनले भने, ‘मियाँले धन्दामा संलग्न बिचौलियालाई गडी प्रयोग गर्न त दिए नै । त्यसबापत उनले रकम पनि बुझेको देखियो । घटनालाई पुष्टि गर्ने विवरण फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।’

प्रहरीका अनुसार उनले सबै धन्दा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृहसचिव टेकनारायण पाण्डेको निर्देशनमा गरेका थिए । खाण र पाण्डेले प्रहरीसँगको बयानमा मियाँको नाम उल्लेख गरेका थिए । प्रहरीका अनुसार धन्दाकै क्रममा मियाँको पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग आउजाउ थियो । हज कमिटीको अध्यक्ष उनी रायमाझीकै रिफारिसमा भएका थिए । ०७५ मा किमिटीको अध्यक्ष नियुक्त भएका मियाँ हालसम्म पनि सोही कमिटीको नेतृत्वमा छन् । 

रिजालले प्रत्येक वर्ष सरकारबाट बुझ्थे १३ लाख भत्ता तथा गाडी र सुरक्षागार्डको सुविधा
७६ वर्षीय रिजालले नेपाल सरकारबाट दैनिक भरणपोषणका लागि भन्दै प्रत्येक वर्ष १३ लाख रुपैयाँ भत्ता बुझ्दै आएका छन् । त्यसबाहेक गाडी र सुरक्षागार्डको सुविधासमेत पाएका थिए । 

झापाको बिर्तामोड बस्दै आएका उनले सरकारबाट १ असोज ०६१ बाट ‘ट्राभल डकुमेन्ट’ पनि पाएका थिए । ०६२/६३ कोे आन्दोलनपछि उनलाई नेपाल सरकारले उक्त सुविधा दिँदै आएको हो । 

भुटानमा छँदा उनी भुटान पिपुल्स पार्टीका अध्यक्ष बनेका थिए । भुटानको लामिडाँडाबाट चुनाव जितेर डेढ दशकसम्म भुटानमै सेवा गरेका थिए । उनले भारतको बनारसबाट संस्कृतमा आचार्य गरेका छन् । भुटानी नरेशलाई शिक्षा र भ्रष्टाचार नियन्त्रणमा सल्लाह र सहयोग गर्ने उनी मुख्य व्यक्ति मानिन्छन् । 

भुटानी शरणार्थीको सवालमा भुटानी राजाको विरोधमा उत्रिएका उनी सन् १९८९ मा नेपाल आएका थिए । त्यही वेला उनलाई तत्कालीन नेपाल सरकारले पक्राउ गरेर भुटानलाई जिम्मा लगाएको थियो । उनीविरुद्ध जन्मकैदको फैसला भएको थियो । १० वर्षको जेलजीवनपछि उनलाई भुटानी राजाले माफी दिएका थिए । त्यसपछि रिजाल नेपाल आएका थिए । 

सिंहदरबारभित्रैबाट पक्राउ परे शमशेर मियाँ

ठगी धन्दामा संलग्न नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको छ । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध प्रहरीले दुई दिनको म्याद थप गरेको छ । 

गृह मन्त्रालयले मियाँलाई सुविधामा उपलब्ध गराएको बिएबी–१४०५ नम्बरको निसान पेट्रोल जिप बिचौलियाहरूले जिल्ला–जिल्ला पुगेर नक्कली शरणार्थी बनाउन कागजपत्र तयार गर्ने मात्रै होइन, उठाइएको पैसा ओसार्न पनि प्रयोग गरेका थिए । प्रहरीका अनुसार रकम लेनदेनमा पनि उनको संलग्नता देखिएको छ । 

ad
ad